कला

विज्ञानको जयजकार

हास्यव्यंग्य

संप्रस पौडेल

भन्नेहरू भन्छन् विज्ञानले विज्ञानलाई थिचिसक्यो। विज्ञानले विज्ञानकै सीमा मिचिसक्यो। चुनावअघि भाषण जस्तो हो–हो जस्तो पनि लाग्ने, चुनावपछिका विकास जस्तो होइन–होइन जस्तो पनि लाग्ने। यहाँ त्यही विज्ञानको चर्चापरिचर्चा गरिएको छ।

विज्ञान र शौचालय

एकातिर हो पनि, विकास चरम सीमामै पुगिसकेको मान्नुपर्छ। पहिले शौचालयमा मानिसहरू सुर्ती र चुरोट लिएर जान्थे। पछि पत्रिका बोकेर गए। अहिले मोबाइल बोकेर जान्छन्। विज्ञानको नारा नै छ ‘हाम्रो आविष्कार भान्छादेखि चर्पीसम्म’।

विज्ञानलाई चुनौती पनि छ। मोबाइल बोकेर शौचालय जाने मानिस र ऋण लागेर विदेशिएको युवा कहिले र कसरी फर्किन्छ कुनै ठेगान छैन। बाहिर पालो कुरेर बस्नेलाई खपिनसक्नु भए डाइपर उत्पादन पनि यही विज्ञानले गरेकै छ। डाइपरको एलर्जी भएमा त्यसको उपचार पनि विज्ञानले पत्ता लगाएकै छ। एकपछि अर्को लहरो तान्दै–तान्दै खल्ती खलास पार्ने उपाय पनि उसैले पत्ता लगाएको हो। पहिले धामीले झारफुक हुँदै ढ्यांग्रोेसम्म पुग्दा अण्डादेखि बोकासम्म बलि खान्थे। त्यसैको सिको त गरेनन्? प्रश्न अझै जीवितै छ।

विज्ञान र जाडो

विज्ञानले चरम सीमामा पाइला टेकिसक्यो। गर्मीमा पङ्खा, जाडोमा हिटरसम्म पनि यसकै देन हुन्। एसीले कोठा तातोचिसो पार्नु कुनै नौलो भएन तैपनि जाडो महिनामा नुहाउनु नपर्ने एउटा ट्याबलेट वा सिरिञ्जसम्म बनाउन सकेको भने होइन।

भगवान् रामको क्लाउड स्टोरेज

अहिलेको समय घोर कलि भन्छन् अग्रज उमेरधारीहरू। हो पनि। रातको बाह्र एक बजे फेसबुकमा स्टाटस राखे पनि दुईचारोटा कमेन्ट त आउँछ–आउँछ। फेसबुकले मायाप्रिती बसायो, बिहे गरायो र विछोड गरायो।

कम्प्युटर, इन्टरनेट, इमेलले मान्छेको जीवनपद्धति नै बदलदियो तैपनि विज्ञानको यो आविष्कारले वायुमण्डलबाट भगवान् सीताको चीत्कारको अडियो र रावणको पुष्पक विमानको ब्ल्याक बक्स खोजेर कुनै रेकर्ड डाउनलोड गर्न सकेन। संसारमा खनिजका लागि थुप्रै युद्ध अहिले पनि भएका छन्। भगवान् रामले सुनैसुनको लंका विजय गर्ने तागत राख्दा पनि बलियो सर्भर र क्लाउड स्टोरेजको व्यवस्था गर्न सकेन छन्।

कन्फ्युज्ड विज्ञान

नेपालमा ठालुहरूलाई गम्भीर रोग रहेको त्यतिखेर मात्रै पत्ता लाग्छ जब उनीहरूलाई अख्तियारले छापा मारी नियन्त्रणमा लिइन्छ। भ्रष्टाचार विज्ञान र स्वास्थ्य विज्ञानको नाता पनि बुझी नसक्नुकै छ। विज्ञान, तिम्रो लिला अपरम्पार छ, घुम्दछ यसैमा सब संसार।

वैज्ञानिकले ग्याँसका ठोस बनाइदिए, आगोका लेदो बनाइदिए, दुध, अमिलो, गुलियो, पिरो, तितो सबका धुला े(पाउडर) बनाइदिए। रक्सीका ट्याबलेट र पाउडर अहिलेसम्म किन बनाएनन् भन्ने प्रश्न विज्ञानको गर्भमैं होला।

बन्दाबन्दी र संकटहरूमा पाठशाला बन्द हुन्छन्। विकल्प नअपनाए आउँदो केही वर्षमा पेट्रोलियम सवारी नै बन्द हुँदैछ भन्छन्। आधा रातसम्म काठमाडौंको सवारीभन्दा बढी व्यस्त रहने मधुशाला र यसका ग्राहकहरू संसारका अन्तिम सत्य होलान्। व्यस्तताले आधा रातसम्म चल्ने यी ठाउँहरू संसारका सबै चिज बन्द हुनुभन्दा १ दिनपछि मात्रै बन्द होला।

भन्नेहरू भन्छन्, दुधको भन्दा रक्सीको ग्राहक बढी स्वाबलम्बी हुन्छन्। दुध पुर्‍याउन घरघर जानुपर्छ। रक्सी पिउन भट्टीमै आइपुग्छन्।

विज्ञानले इन्टरनेट प्रयोग गरी पढ्न पढाउन, लड्न लडाउन, सड्न सडाउन त सिकायो अब वासना र स्वाद पठाइदिए तिनका टन्टा पनि साफ हुन्थे।

विज्ञानले नुन, तेल, चामलदेखि औषधिसम्मको प्रयोगको अन्तिम मिति पत्ता लगायो। रक्सी जति पुरानो उति उत्तम भनियो। विज्ञानले रक्सीको सट्टा त्यो पिउने मानिस एक्सपायर हुने तथ्य पो पत्ता लगायो। तपाईंलाई पनि कताकता कन्फ्युज्ड नै लाग्दैन?

भक्त प्रल्हादका आस्थाका भगवान् विष्णुझैं जल, स्थल, आकाश जताततै विज्ञान। अब विज्ञानका देनका कुरा।

विज्ञानको देन लेनदेनसम्म

उहिले बजार र पैसा दुवैको अभाव थियो। लुगा थोत्रिए टालिन्थ्यो। अँध्यारामा टुकी बत्ती बालिन्थ्यो। दशैंमा पिङ हालिन्थ्यो। वर्षभरि खानेगरी गुन्द्रुक र सिन्की गालिन्थ्यो। चाडबाडमा टोलभरि खसी र राँगा ढालिन्थ्यो। आजकाल चोटाकोठामा होम डेलिभरीको व्यवस्था रहेको छ। ट्वाइलेट गर्दागर्दै पेपर सकियो भने पनि चिन्ता गर्नु परेन। चुकुल नलाउने हो भने भित्रै सामान डेलिभरी गराइदिन सक्ने ल्याकतमा विज्ञान पुगिसकेको छ।

आसामी उठाउन घरघर जानु परेन। व्याज खान लैनु भैंसी तान्नु परेन। १०० को तमसुकमा थप शुन्ना (०) हाल्नु परेन। अहिले बैंकका पैसाले हप्तापिच्छे साडी किनेका छन्, ६÷६ महिनामा गाडी किनेका छन् र वर्षैपिच्छे सपिङलाई विदेश हिँडेका छन्। घरबाट हाटमा, हाटबाट ठाँटमा ठाँटिएका मान्छेलाई मोबाइलबाटै पैसा साटासाट गर्ने हैसियत विज्ञानकै देन हो।

विज्ञानको जय होस्

गगनचुम्बी भवन, स्काइडाइभिङ, रासायनिक हतियार, साइबर सेक्युरिटी, मंगलमा घर, चन्द्रमामा पसल जेसुकै बनाउन्। अरूले रोग र औषधि यिनै बनाउँछन् भनेर आरोप लगाउँदै जेजति शंका गरे पनि विज्ञान र वैज्ञानिकहरूप्रति हार्दिक नमन।

प्रश्न–इलास्टिक नहुँदो हो त भीडभाडमा मानिसहरूको हालत के हुँदो हो?

उत्तर–के हुनु मानिस जंगली युगमैं फर्किँदो हो। संसारका सबै आविष्कार व्यर्थ हुँदा हुन्।

यसर्थ विज्ञानको यो आविष्कार नै संसारका सबैभन्दा उच्चतम आविष्कार हुन सक्छ। अरूका ठूलाठूला उन्नतिप्रगतिका कुरा छोड्दै इलास्टिक बनाउनेहरूको जयजकार गर्न चाहन्छु।

जय सिस्नुपानी।

(लेखक सिस्नुपानी मकवानपुर सदस्य हुनुहुन्छ।)

प्रकाशित: १९ माघ २०७८ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App