छविलाल खड्का
वर्ग विभेदको निस्सारताले प्रताडित बस्तीमा गाइँगुइँ चल्यो, ‘वर्ग रूपान्तरण र मुक्तिको कुरा।’
बिस्तारै–बिस्तारै अविश्वासको पर्दा च्यात्दै सबै समाहित भए वर्ग युद्धमा!
वर्ग विभेदका पुजारीहरूको अकर्मण्यताका कारण नभन्दै छोटो समयमै छलाङ मार्यो युद्धले।
एकातिर उत्साह चुलिंदै थियो भने अर्कातिर निराशाको रसातलमा भासिंदै।
स्खलित नेतृत्वले सम्झौता गर्यो। मार्ने र मर्ने खेल रोकियो। अबोध वर्गले मिठो सपना देख्यो मुक्ति र समानताको।
परिवर्तन भयो तर त्यो वर्गको जीवनस्तरमा कुनै परिवर्तन आएन। परिवर्तन आयो त खालि नेतृत्वमा।
असन्तुष्टिका स्वरहरू सुनिन थाले, ‘हामीले धेरै गुमायौं तर के पायौं?’
कसैले प्याच्च बोल्यो, ‘भयाङ हुन पायौ। भोट हाल्न पायौ। वास्स!’
‘वर्ग रूपान्तरणको सपना?’चुस्स दारीवाला गर्जियो।
‘शान्त हौऊ न। भर्खर त वर्ग उत्थानको काम हुँदैछ। नेतृत्वको उत्थान नै मुख्य कुरा हो क्या। केन्द्रीयताको अभ्यास चुलिंदैछ। जनवादको पनि पालो आउला नि!’ अदृश्य वाणी भयो।
प्रकाशित: १६ माघ २०७८ ०२:५४ आइतबार