कला

गौरव

लघुकथा

बालकृष्ण गजुरेल

पासाङ लामा अत्यन्तै उदण्ड थियो। एक दिन उसले  पढाइरहेका शिक्षकको सर्टमा मसी छर्कियो। उक्त घटनाले  रामवरण यादव चुरचुर भए। उनको रिस नियन्त्रणभन्दा बाहिर पुग्यो। हातमा भएको डस्टरले पासाङलाई तीन डस्टर हिर्काए। योभन्दा पहिला उनले कहिल्यै विद्यार्थीलाई दण्ड दिएका थिएनन्। समयको वेग तथा सूचनाको युग के चाहियो र,  क्यामेरा समाउँदै टेलिभिजनकर्मीहरू आइपुगे। रेकर्डर तथा नोट बुक बोकेर समाचार दाता धाए। अपराधीझैं रामवरण यादवलाई टेलिभिजनको पर्दामा देखाइयो। विद्यालयले सिधै रेस्टिकेट गर्यो। उनले सरकारी जागिरबाट हात धोए।

सरकारी जागिर छोडेपछि रामवरण यादवले कृषि पेसा सुरु गरे। आत्मसन्तुष्टि नै खुशी माने। सम्पत्ति, मित्र तथा अस्तित्व कमाउन सक्ने कला, क्षमता र शिक्षा नै धन सोचे।

समय बदलियो। पासाङ लामा त्यस दण्डबाट सुध्रियो।  दण्डहीनताले अपराध जन्माउँथ्यो। शिक्षकले पक्कै होस पुर्‍याएका थिए। अतः ऊ प्रखर व्यक्ति बन्यो। उच्च शिक्षापछि ऊ रिसर्चमा लागिपर्‍यो। उसले  केही वर्षमा राष्ट्रिय पुरस्कार हात पार्‍यो।  भाग्य तथा मेहनतले रंग ल्यायो। विदेशको नामी संस्थामा काम गर्ने अवसर पायो। रोग प्रतिरोध क्षमता बढाउने औषधि बनाएबापत अन्तर्राष्ट्रिय समुदायले विश्व नोवेल शान्ति पुरस्कार दिने घोषणा गर्यो। ऊ आमन्त्रित भएर पुरस्कार कार्यक्रममा पुग्यो।

उद्घोषिकाले मञ्चमा आमन्त्रित गर्दै भनिन्, ‘यो वर्षको उत्कृष्ट पुरस्कार मानव जातिको हितका लागि सहयोग पुर्‍याउने व्यक्तित्व पासाङ लामालाई जान्छ।’

हत्तपत्त पासाङ लामाले माइक समात्यो। केही बेर मञ्चको अघिल्तिर ठिङ्ग उभियो। आँखाभरि आँसु चुहाउँदै भन्यो, ‘उहाँले दण्ड नदिएको भए म उदण्ड हुन्थें। अपराध गर्थें। यो लगानी तथा गौरव रामवरण सरको हो।’

प्रकाशित: १४ माघ २०७८ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App