कला

बुवाको चिन्ता

लघुकथा

निर्मला बराल

घरका सदस्यहरू पालैसँग अघिदेखि बारम्बार ढोकाबाट बुवालाई चिहाउँदै फर्किदै थिए। बुवा भने कोठामा बसेका थिए। सधैं बोलिरहनुपर्ने बुवाले अचानक मौनताधारण गरेको देखी चिन्तित हुँदै जेठो छोराले सोध्यो, ‘बुवा हजुरलाई आज सन्चो छैन, हो?’

तर, बुवाको एक वाक्य फुटेन। 

त्यसपछि बुहारी आइपुगिन्। उनले नरम भएर सोधिन्, ‘बुवा, तातो, चिसोे के ल्याऊँ?’

आँखा चिम्म गरेका बुवा अझै चुपचाप रहे। 

फेरि कोठामा कान्छा छोरा आइपुग्यो।

उसले बुवाको निधार छाम्दै भन्यो, ‘बुवा, हजुरलाई ज्वरो आए जस्तो छ! खोई त थर्मोमिटरले नाप्नुपर्‍यो एकपटक।’  

तर, सोफामा अडेस लाएर बसेको बुवाको कुनै प्रतिक्रिया आएन।

आखिर बुवाले आज बोल्न र खान किन नखोजेको हो भनेर सबै मुखामुख गर्न लागे।

निरोगी बन्न भनेर सबेरै उठेर योगाभ्यास गर्ने अनि सकारात्मक सोचको विकास गर्न ध्यान र पूजापाठ गर्ने बुवालाई आज एक्कासि के भएछ भन्ने भन्ने कुराले उनीहरूलाई सताउन थाल्यो।

एकैछिनमा नातिनातिनातिना पनि आइपुगे। माया गर्ने हजुरबुवा नबोलेको देख्दा उनीहरूलाई पनि नमजा भयो।

–रिसले स्वास्थ्यमा असर गर्छ। हजुर बिरामी भए हामीलाई खुशी हुन्छ र बुवा?

–फेरि हजुरले आफ्ना नित्य साधनाः योगाभ्यास, ध्यान नगर्दा स्वास्थ्य के होला हजुरको?

–स्वास्थ्यभन्दा ठूलो के नै छ र बुवा?

–स्वस्थ्य रहनुस्, खुशी रहनुस्, हजुरबुवा!

आँखा चिम्लेर सबैको पाठ सुन्दासुन्दा बुवाको पारो तातेर आयो। उनी जुरुक्क उभिए।

–ए तिमीहरूले मेरो स्वास्थ्यको ख्याल गर्ने, कसको त भन्दा मेरो। म बुढाले कुनै बेला नित्यकर्म नगर्दा तिमीहरूको चिन्ता बढ्ने।

बुवा त्यसरी जंगिएको देखेर सब डराउँदै मुखामखु गर्न लागे। 

–तिमीहरूलाई मेरो केको चिन्ता! मैले अब यो उमेरमा स्वस्थ्य भएर के नै लछारपाटो लाउनु छ र? बुवा कड्किएको सुनेर सब चुपचाप भए।

–म एउटा जाबो डुब्न लागेको घामको भन्दा बरु मलाई तिमी बिहानी घामको पो चिन्ता छ। त्यही चिन्ताले पो मलाई अस्वस्थ्य बनाउला जस्तो छ।  हिजोआज तिमीहरूको न खाने ठेगान न सुत्ने ठेगान यस्तो पनि हुन्छ? दिनरात मोबाइलमा झुन्डिएको छ। मोबाइल बन्द गर्‍यो फेरि टिभीमा झुन्डियो। तिमीहरूको यो खराब जीवनशैलीले तिमीहरूको स्वास्थ्यमा कति असर गरेको छ, तिमीहरूले सोचेको छौ?

बुवाको कुरा सुनेर बल्ल उनीहरूले बुवाको रिसको कारण बुझे।

–हेर, हामी सबैलाई जीवनमा अनुशासन चाहिन्छ। मैले कति पटक भने सबैले योगाभ्यास गर, ध्यान गर। बाँच्नु ठूलो कुरा होइन, कमिला पनि बाँचेकै छन् तर स्वस्थ्य जीवन नै दीर्घायु जीवन हो भन्ने यो बुढाले भनेको कुरा तिमीहरू नसुन्ने? स्वास्थ्य बिगार्ने? मचाहिं कुप्रो हुन्जेल बाँच्नुपर्ने, तिमीहरूचाहिँ उमेरमै रोगी भएर बस्ने, त्यही होइन तिमीहरूले चाहेका?

बुवाको कुरा सुनेर सबैको अनुहार लाजले झुक्यो। उनीहरू शिर झुकाएर आफ्ना कोठातिर लागे।

भोलिपल्ट सबेरै छतबाट “ॐ”को सामूहिक ध्वनि गुञ्जिरहेको थियो बाहिरतिरबाट। आफ्नो कोठामा मौन बसिरहेको बुवाको कानमा त्यो ध्वनि पर्यो। कौतुहलताका साथ उनले झ्यालबाट बरण्डातर्फ हेरे। छोराबुहारी, नातिनातिना सबै योगाभ्यास र ध्यानमा तल्लिन रहेछन्। त्यो देखेर उनी प्रफुल्ल भए।

उनी पनि हतारहतार बरण्डामा पुगे अनि अनि पलेटी कसेर जप्न लागे, ‘ॐ...!

प्रकाशित: ९ माघ २०७८ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App