कला

पठनीय र संग्रहणीय कृति ‘ग्रीष्मको निलो बतास’

पुस्तक

अनुपमा रेग्मी

दामोदर पुडासैनी ‘किशोर’ नेपाली यात्रा निबन्ध लेखनमा स्थापित र चर्चित स्रष्टा हुन्। सुरुका यात्रानिबन्धमा विदेशका चिल्ला सडक, सुखसुविधा, मरुभूमिका चाखलाग्दा कथालाई मूल वस्तु बनाउने किशोरले पछिल्ला कृतिहरूमा नेपाली स्थल, नेपाली माटो र नेपालकै कुनाकन्दराको भ्रमणबाट प्राप्त अनुभूतिजन्य तथ्यको कलात्मक प्रस्तुति दिन थालेका छन्। नियात्रात्मक लेखनमा आफ्नै शैलीले पहिचान स्थापित गरिसकेका उनको पछिल्लो नियात्राकृति ‘ग्रीष्मको निलो बतास’ मा खप्तड क्षेत्र भ्रमणलाई विषय बनाएका छन्।

देश चिनाउनु नै स्वदेशीको कर्तव्य हो भन्ने किशोर अचेल विदेशभन्दा देश चिनाउन तल्लीन छन्। उनले नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी भूभाग वरपर बस्ने नेपालीका संस्कृति, आनीबानी, व्यवहार, सोचाइ, पेसा, त्यहाँको भौगोलिक विकटता, विकटताभित्रको सुन्दरता, त्यहाँका रीति, कुरीति, विश्वास अन्धविश्वास सबै खोतलेर सबै नेपालीभाषीमा राख्न चाहेका छन् मायालु हुम्लादेखि नै। यसैको निरन्तरता हो ग्रीष्मको निलो बतास पनि।

हुन त सम्पूर्ण साहित्य अनुभवकै आलंकारिक दस्तावेज हो। विधापिच्छे अनुभवका भिन्नाभिन्नै बान्की प्रस्तुत हुन्छन् साहित्यमा। नियात्रा विधामा यात्राबाट प्राप्त अनुभव र संस्मरणलाई नै मूल वस्तु बनाइने हुँदा अनुभवजन्य तथ्यको प्रस्तुति ज्यादा प्रत्यक्ष रहन्छ। यात्राका कोरा अनुभव, मितितिथि र घटना वर्णन छोडेर यात्रास्थलका मानिस, प्रकृति र संस्कृतिका पाटालाई आलंकारिक भाषामा प्रस्तुत गर्ने पुडासैनीको मौलिक शैली यस कृतिमा पनि देखिन्छ।

यात्रास्थलबारे जानकारी प्रस्तुत गर्ने  क्रममा अनुभूतिको गहिराइमा भएका विविध ज्ञान मथिएर नौनीरूपी विचार उजागर भइरहेछन् कृतिभरि। ती वैचारिक वाक्यहरू जीवन र यात्राले सिकाएका, देखाएका र अनुभवबाट बनेका हुन्। कृतिमा पर्यावरणमैत्री, महिलामैत्री, स्वदेशप्रेम, मानववाद र श्रममैत्री विचारको बाक्लो उपस्थितिले यसको गुणवत्ता बढाएका छन्। निबन्ध विधाको मूलमा विचार नै रहने हुँदा यी विधामैत्री बनेका छन्। तिनले पाठकलाई कान्ता सम्मित उपदेश दिन्छन्। कृतिको माध्यमबाट पाठकले भाषिक अलंकारको गुलियोमा डुबेको विचारलाई स्वाद मानीमानी ग्रहण गर्नेछन्।

तेइस विभिन्न शीर्षकमा विभाजित यस कृतिको सुरुमा लेखकले खप्तड क्षेत्रको यात्रा गर्भबारे जानकारी दिने क्रममा यात्रा मान्छेका चुनौतीको विषय भएको बताएका छन्। सुरुको परिच्छेदमा आफ्ना लागि यात्राको महत्त्व दर्साउने क्रममा काठमाडौंको प्रदूषण र विकृत यथार्थको जानकारी दिंदै पर्यावरण मैत्रीभावलाई मूल स्वर दिएका छन्। नेपालका उच्च पहाडी भूभागमा यात्रा गर्नु अझै चुनौतीपूर्ण रहेको वर्तमान सन्दर्भमा लेखकले खप्तड क्षेत्र लगायत त्यस्ता ठाउँको भ्रमणलाई ‘काँचो रगतको अभिलेख’ भनेका छन्।

नेपालका जुनसुकै ठाउँका यात्रामा यात्रीले भोगिरहनुपर्ने साझा समस्या छन्। तीव्र गतिमा चल्ने सवारी साधन, तिनमा चर्को आवाजमा बज्ने गीत, गाडी चलाउँदा चलाउँदै मोबाइलमा कुरा गर्ने चालक, बेलाबेलामा पहिरो गएर रोकिनुपर्ने सडक, सडक छेउका गाउँमा परेका व्यक्तिगत समस्याका लागि पनि सडकै बन्द गरेर जुलुस निकाल्ने प्रवृत्ति, ट्राफिक संकेत नभएका र भएका पनि मर्मतसम्भार नभएका सडक, शौचालय र बिसौनीको अव्यवस्था, यात्रीका समस्यालाई कमाउने अवसर ठान्ने व्यापारी, महँगो शुल्कमा बासी खाना राखेका सडक किनारका होटल गाडी रोकेकै होटेलमा यात्रीले मन परे पनि नपरे पनि खानुपर्ने बाध्यता, कहिल्यै नधोएका कपडायुक्त बिस्तारामा रात बिताउनुपर्ने समस्या हामीले भोगिरहेका विषय हुन्।

भालुवाङको भातको प्रसंग होस् या बिच पानीको होटल या झिंग्रानाको होटल सबैतिर सबैजसो यात्रीले भोगेका समस्यालाई औंल्याएर यिनको समाधान भए नेपालको पर्यटन उद्योग सपार्न सकिने लेखकको राय छ। कृतिमा आफू यात्रामा रहँदा सहयात्रीका सोचाइ, व्यवहार, जीवनका उकालीओराली समेत खोतलेर तिनका माध्यमबाट नेपाली समाजका वास्तविक समस्या र यथार्थ बाहिर ल्याउन पनि लेखक सफल भएका छन्। लेखकलाई समाजमा बढेका कुव्यवस्थाप्रति आपत्ति छ भन्ने देखिन्छ। नेपाली समाजमा विद्यमान साइत–कुसाइतबारे विश्वास, शकुन–अपशकुनका कुरा, देवता र भूतका कुरा पनि यस कृतिमा मुख्य अन्तर्वस्तुका रूपमा आएका छन्।

पुडासैनी सकारात्मक सोचका लेखक हुन्। उनका अन्य नियात्रा कृतिमा जस्तै यस कृतिमा पनि समाजमा स्थापित विचार र व्यवहारबारे विकल्पबाट सोच्नुपर्ने हुन्छ। त्यसो गर्दा फरक सत्यको उजागर हुने उनको मान्यता छ। उनले जीवनलाई व्यक्ति स्वयंले उज्यालो बनाउने हो भन्ने विचार प्रस्तुत गरेका छन्। यस क्रममा उनी सरकारका अव्यवस्थालाई देखाउने तर आफ्नो नकारात्मक सोच त्याग्न नसक्ने नेपालीका व्यवहार पनि उजागर गरेका छन्।

चौथो पाठमा डडेल्धुरातिर उकालो चढ्दै गर्दा भाकल गर्ने र निर्दोष जनावरको बलि दिएको सन्दर्भ अन्तर्वस्तु बनाएर रीतिका नाममा प्रचलित कुरीतिको उजागर गर्नु उनको ध्येय भएको बुझिन्छ। भ्रमणका क्रममा चिसोलाई बहाना बनाएर फोहोरी बस्ने, फोहोर राख्नेप्रति गुनासो गर्छन् लेखक र मानव सभ्यता प्रतिप्रश्न ठड्याएका छन्।

सेती किनारका खेत रोपेको देख्दा हर्षित भएका लेखक काला गाडमा धामी कामेर बिरामी उपचार गरेको देख्दा दुःखी भएका छन्। सुदूर पश्चिममा व्याप्त देवता र धामीप्रतिको अन्धविश्वास उजागर गरी मानववादको वकालत गर्नु उनको मूल उद्देश्य देखिन्छ।

भ्रमण परिवेशको आत्मीकरण गरी त्यसमा शब्द पुष्पले गाँसेर सिंगारिदिने उनको प्रवृत्ति यस कृतिमा झन् जीवन्त बनेर आएको छ। यस क्रममा कतैकतै शिष्ट शृंगारको पनि प्रयोग भएको छ। एउटै दृश्यलाई लेखकले विभिन्न शब्दजालमा पारेर आफ्नोपनमा रिँगाएका छन्। यस क्रममा कतैकतै प्रकृतिका स्वभाव र मानव स्वभावको तुलना गर्दै उत्कृष्ट मानवीकरण गर्ने कला पनि कृतिमा यत्रतत्र पाइन्छ।

खप्तड क्षेत्र भ्रमणको मूल विषय भएको हुँदा कृतिमा सुदूर पश्चिमका बाटोघाटाको यथार्थ वर्णन, त्यहाँको लेकमा जीवन निर्वाह गर्नेहरूका अनन्त कथाव्यथा, लेकमा जीवन बाँच्नेहरूले औषधिपानी खाद्यान्न जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनुपर्ने अवस्था, त्यहाँ पदयात्रा गर्नु जोखिमपूर्ण बन्दै गएको अवस्था, पुरुषहरू तास र रक्सीमा झुम्ने, महिलाहरू घर, कृषि लगायत सबै काममा बिहानदेखि बेलुकासम्म व्यस्त हुनुपर्ने, विकासका बजेटमा एकदुई जनाको हालीमुहाली हुने, सोझा जनतालाई देशको अर्थतन्त्र र विकासबारे कुनै चिन्ता र चासो नहुने, अस्पतालभन्दा धामीमा बढी विश्वास गर्ने जस्ता कुव्यवस्था र मानवीय स्वभाव यस कृतिमा वस्तुका रूपमा प्रस्तुत भएका छन्।

दुर्गम क्षेत्रको यात्रामा जंगली जनावरको भय, हिमाली क्षेत्रमा जीवन धान्न संघर्ष गर्दागर्दा नसकेर थाकेका, विकल्पको खोजीमा लागेका तर विकल्प नपाएका मानिसका कथाव्यथा, लेकमा गोठ राख्नेको कहानी, कामको खोजीमा भारततिर भौंतारिने र एड्स लिएर फर्कनेका कथा मात्र नभई त्यहाँका बासिन्दाहरू चेतनातिर उन्मुख हुन थालेको अवस्थालाई पनि कृतिमा उतारिएको छ। यसका माध्यमबाट उचाइमा यात्रा गर्दा पर्नसक्ने संकटबारे पाठकलाई शिक्षा र चेतावनीका साथै दुर्गम क्षेत्रका अर्थ सामाजिक अवस्थाको प्रतिनिधित्व गर्न पनि कृति सफल भएको छ।

लेकाली वृक्ष, रुख, चरा, पर्यावरणको चित्रण, भ्रमणस्थलमा भेटिएका पात्रका डोट्याली लवज र महिनौ ननुहाई लेकमा भेडा चराउनेको कथा कृतिका रोचक पक्ष हुन्। खप्तड आश्रममा पुगेपछि खप्तड बाबाको दरबारसँग भएको सम्बन्ध मार्फत शक्ति सम्बन्धले सङ्कथनमा पार्ने परिवर्तनलाई पनि लेखकले उजागर गरेका छन्। परिवेशबाट जीवनको यथार्थ र जीवन दर्शन व्यक्त गर्ने किशोरको निजी शैली यस कृतिमा पनि बलियो रूपमा उपस्थित छ।

लेकमा भारी बोकेर अन्नपानी जुटाउनेहरूको कथाले जीवन र नित्य कर्मको अन्तरसम्बन्धबाट मानव जीवन अगाडि बढ्ने सन्देशलाई उद्देश्यका रूपमा प्रस्तुत गरिएको छ। श्रमको सुन्दर पक्षको चित्रण गर्नु, श्रमको गुणगान ठाउँठाउँमा भेटिनु, लेकमा विकास र पर्यटनका सम्भावना औंल्याउनु कृतिको मूल मर्म हो।

गरिबीले गाँजेका जनता, विकासे  कार्यक्रमका कागजी सफलता, मानवका आधारभूत आवश्यकताको महत्त्वको विमर्श, सञ्चार, शिक्षा, यातायातका अभावमा जनताले पाएका दुःख, धर्मको नाम जपेर जीविकोपार्जन गर्नुपर्नेका बाध्यता, सीमापारि काम गर्नेहरूको दुर्दशा यस कृतिमा तथ्य बनेर उपस्थित भएका छन्। यी तथ्य मार्फत लेखकले कृतिभरि डडेल्धुरा, डोटी लगायत खप्तड क्षेत्रका सबलता र दुर्बलतालाई पाठकसामु छर्लंग बनाएका छन्।

भ्रमणस्थलका परिवेश र पात्र आदिको निजात्मक आलङ्कारिक वर्णन, त्यस मार्फत  प्रस्तुत सबल मानववादी, श्रमवादी, पर्यावरणवादी वैचारिकताले प्रस्तुत नियात्रा कृतिमा दामोदर पुडासैनीको लेखकीय निजत्वद्वारा सुदूर पश्चिम क्षेत्र र छिमेकी नैनीताल क्षेत्रको सबलता र दुर्बलतालाई मन्मय तरीकाले पाठकसामु प्रस्तुत गरिएको यो कृति पठनीय र संग्रहणीय बनेको छ।

प्रकाशित: २४ पुस २०७८ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App