तुलसी पण्डित
तेल भिसामा विदेश पुगेका बाबुआमामा जोशजाँगर थियो। जसले गर्दा विदेश पुगेका दुई छोरा र दुई छोरीको केटाकेटी हुर्काउन सहज भयो। केटाकेटी नहुर्कुन्जेल उनीहरू उतै बसे। अब त सबैका केटाकेटी हुर्के। सबै स्कुल पढ्न जाने उमेरका भए। अब बाबुआमाको आवश्यकता कसैलाई परेन।
दशैंको बेला विदेशमा गएका सबै जम्मा भए। सबै छोराछोरी र नातिनातिना एकै ठाउँमा देख्न पाउँदा आमाबाबु धेरै खुशी भए। यसलाई उनीहरूले आफ्नो अहोभाग्य ठाने। त्यसै अवसरमा सबै छोराछोरीहरूले बाबुआमासँग कुरा राखे, ‘हजुरहरू कति भाग्यमानी, यति लामो समय विदेश बस्न पाउनुभयो। हेर्नुपर्ने सबै ठाउँ देखाइदियौ। भोलि बस्ने त आफ्नै देशमा हो। उताको जायजेथा के कसो भयो। उतै गएर बसे कसो होला?’
छोराछोरीको यस प्रश्नले बाबुआमालाई निकै आघात पार्यो। उनीहरूले भने, ‘सबैको केटाकेटी हुर्काउँदा हाम्रो अन्त्य बखत जस्तै भएको छ। अब हामी उहाँ गएर हाम्रो कसले रेखदेख गर्छ। हामी यही नै तिमीहरूको छत्रछायामा बस्न चाहन्छौं।’
‘हामी पालो लगाएर आइरहन्छौ। हजुरलाई कुनै अप्ठेरो हुन दिने छैनौ। उहाँ जाने कुरा त सपना मात्र हो।’
‘मैले राम्रोसँग बुझेको छु समाज र देशको अवस्था। छोराछोरीहरूको विदेशमोहले बाबुआमाहरूको किरिया पनि अरूले नै गर्नुपरेको छ। स्याहारसुसार गर्ने कुरा त आकाशको फलजस्तै भएको छ।’
–हैन हामीबाट त्यस्तो हुँदैन। विश्वस्त हुनुस् बाबा।
‘जति कुरा गरे पनि बाबुआमाभन्दा धनमोहको कारण तिमीहरूलाई यहाँ कहिल्यै फुर्सद हुनेछैन। उहाँ जाने कुरा त सपना मात्र हो।’
प्रकाशित: १७ पुस २०७८ ०९:१९ शनिबार