लता केसी
घडीको टिकटिकसंगै उनको जीवनको रफ्तार चलेको थियो। घरधन्दा, अफिस, किनमेल, काखको सन्तान, सासूससुरा अनि श्रीमानको हैकम सबै बेहोर्थिन्। कहिलेकाहीँ थाकेर श्रीमानसंग केही सहयोग मागिन् भने उल्टा खप्की खानपर्थ्यो, ‘पुरुष भएर जन्मिनुपर्थ्यो नि।’
उसको आयस्रोत थिएन। एक्लो छोरो भएर पुलपुलिएर हुर्किएको थियो। घुम्नु, मोजमस्ती गर्नु र राति घर फर्केर ठूल्ठूला स्वर गर्नु उसको दिनचर्या थियो। तैपनि उनको न त कुनै गुनासो थियो न त कुनै विरोधाभाव, चुपचाप, मौन भएर समय हुँइकी नै रह्यो। साथीभाइ, माइती र आफन्तले कति पटक भनेका पनि थिए, ‘पढेलेखेकी भएर पनि किन खेपेकी?’
तर उनलाई यी सबै सामान्य लाग्थ्यो।
एकदिन उनको जन्मदिन थियो। घरमा पाहुनाहरू थिए। वातावरण रमाइलो थियो। ऊ घरमा प्रवेश गर्दै करायो, ‘केको हल्लीखल्ली हो?’
उसको आवाज कसैले सुनेन, हावामा बिलायो। ऊ रन्थनियो। आफूले भनेजस्तो नभएपछि स्वास्नीमाथि हात उठायो। उनले हात च्याप्प समाइन्। ऊ आगो भयो।
‘आइमाई भएर यत्रा फुर्ति?’ भन्दै कपाल समात्यो। मजाको झडप भयो। सबै जिल्ल परे। यसबेला भने उनले कड्किदै सोधिन्, ‘मेरो पसिनामा निर्भर तिमी, तिमी आइमाई कि म?’
प्रकाशित: १७ पुस २०७८ ०८:३४ शनिबार