कला

बुबा

लघुकथा

टंकबहादुर आलेमगर

‘तपाईं मेरो पिताश्री हुनै सक्दैन।’

‘डिएनए टेस्ट गरा है गधा।’ भाँडा माझ्दै गर्या बाउ झर्कियो।

‘अनुवंश दिएर पुग्छ। पालनपोषण गर्न पर्दैन?’ छोरो रुञ्चे स्वर गर्छ, ‘आमाले पनि छोडेर गइन्। कहिलेदेखि मोटरवैग र आइफोन माग्या। बरु भ्रूणमै हत्या गरे हुने नि।’

‘ए गधा!’ छोराको टेवलमा भातको थाल राख्दै बाउ कराए, ‘सानो र अशक्त हुँदासम्म हेर्ने हो छोराछोरीलाई। चराले पनि खोजी खाने भएपछि ठुंगेर खेद्छन् बचेरालाई। तँ तीनतिघ्रे भइसकिस्। मलाई हेर,नहेर या वृद्ध आश्रममा छोड दे, तेरो धर्म। अब त आफ्नै पसीना खा।’

तर छोरालाई बाउको अर्ती गोरुलाई नयाँ वर्षको शुभकामना दिनुजस्तै थियो। रातभरि पप्जी खेल्ने र बिहान एघार बजे उठ्ने। बाउलाई दंग्याएर खाने। पढाइलाई कोरोनाको श्रीपेच बनायो।

सधैंझैं छोरो उठ्यो तर आज बाउको ‘लहै घिच गधा’ भन्ने रुखो स्वर र मीठो भात आएन। छक्क परेर ‘ए बाउ!’ भन्दै कराइरह्यो। तर चालचुल थिएन।

अल्छ्याउँदै पाक कोठामा पस्यो। रित्ता थिए भाँडाहरू।

‘कता मुन्टिए’ भन्दै ओछ्यानमै आएर पल्टियो।

भोलिपल्ट पनि बाउ नआएपछि भोको छोरो फेरि पाककोठामा पसेर भात पकाउन चामलको बोरा फुकायो।

एउटा चिट भेट्यो त्यहाँ। लेखिएको थियो, ‘तँ गधा नसुनेपछि टाढा जाँदै छु। एक महिना पुग्ने सरदाम राख्देको छु। सिरानीमुनि एकहजार छ डाटा किनेर ग्याम खेल्नु।

त्यसपछिको दिन तेरै जिम्मा। आजका लागि डी फ्रिजमा मासु र चाम्रे छ। ताएर खानु।विदा।

छोरो चीट समातेर धेरैबेर उभिरह्यो अनि साथीलाई फोनलगायो, ‘मलाई पनि काम खोज्दे है यार’ भन्दै।

प्रकाशित: १७ पुस २०७८ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App