कला

गुरु दक्षिणा पुस्तक प्रकाशन

किसान माध्यमिक विद्यालय झेडेवा पाल्पाका पूर्व विद्यार्थीहरूले आफ्नो गुरुआमा मिनाकुमारी केसीलाई गुरु दक्षिणास्वरूप ,‘मिना दिदी’ नामक पुस्तक अर्पण गरे।

उक्त पुस्तक गुरुआमा मिना केसीका विद्यार्थी अनि समकालीन शिक्षकहरूले उहाँसँगका सम्झना लेखेर प्रकाशन गरेका हुन्।

गुरुआमाको विद्यार्थी तथा पछि गएर समकालीन शिक्षक ‘मिना दिदी’ पुस्तकका सम्पादक उमानाथ पोखरेल हुन्।‘मिना दिदी’ले पढाउने समयमा गरेको संघर्ष र हामी विद्यार्थीप्रति गर्ने व्यवहारले स्मरणीय रहेको सम्पादकले बताए। आफूले पुस्तकको सम्पादन गरिरहँदा हरेक पूर्व विद्यार्थीले लेखेका नयाँनयाँ कुराहरूले आफूलाई उत्साहित बनाएको पनि बताए र अरूको छोराछोरीलाई पनि उत्तिकै प्रेम दर्साउनु अविस्मरणीय भएको उनको भनाइ थियो।

‘एउटी महिलाले त्यो समयमा आफ्ना लालाबाला बोकेर विरानो ठाउँमा गई अध्यापन गराउनु, लालाबाला काखीमा च्यापेर मिना केसीले २०२७ देखि २०४७ सम्म निरन्तर पाल्पाको झडेवास्थित किसान माविमा अध्यापन गराउनुभएको थियो। मिना केसी आफ्नो सबै विद्यार्थी, शिक्षक र गाउँकै लागि मिना दिदीले सम्बोधित हुनुहुन्थ्यो।’ सम्पादक उमानाथ पोखरेलले भने, ‘उहाँ विद्यालयको पहिलो तालिम प्राप्त महिला शिक्षक हुनुहुन्थ्यो। उहाकै कारण धेरैले आफ्ना छोरीलाई पढाएका थिए। जिल्लाकै एक नमुना हुनुहुन्थ्यो मिना दिदी।’

त्यस अवधिका ‘मिना दिदी’ले अध्यायपन गराउँदा विद्यार्थीले आफ्नो अनुभव लेखेका छन्। छात्राहरूको सपनाको रूपमा रहेकी ‘मिना दिदी’लाई सबैभन्दा बढी उक्त विद्यालयका छात्राहरूले स्मरण गरेका छन्। छोरी मान्छेले पढ्नु हुँदैन भन्ने समयमा छात्राहरूले सुरक्षित महसुस गर्दै अध्ययन गरेको उनीहरूको अनुभव छ।

सम्पादक उमानाथ पोखरेलले भने ‘मिना दिदी’ पुस्तकमा  पुस्तकमा मिना दिदीको जीवन मात्र नभई आजभन्दा पचास वर्षअघिको ग्रामीण क्षेत्रमा शिक्षाको अवस्था, महिला शिक्षकको संघर्षको कथा पढ्न पाइन्छ।

विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सारु आफूले पढेकै विद्यालयका प्रधानाध्यापक छन्। उनले आफैले पढाएकी गुरुआमाको बारेमा पुस्तक उहाँलाई नै अर्पण र लोकार्पण गर्न पाउँदा अत्यन्तै हर्षित भएको सुनाए।

विद्यालयका संचालक समितिका अध्यक्ष शंकर दर्लामीपनि आफ्नो मिना दिदीको विद्यार्थी भएकोमा गर्भ महसुस गर्दै हामीले आफ्ना गुरुप्रति यसै गरी जीवित अवस्थामा नै सम्मान व्यक्त गर्नु भने धारणा राखे। उनले भने, ‘गुरुहरूले विद्यार्थीको जीवन निर्माण गरिदिएका हुन्छन्  तर विद्यार्थीले भने  उहाँहरूलाई सम्झने फुर्सदसम्म पाउँदैनौ। यो अति दुखद कुरा हो।’ आफ्ना विद्यालयका विद्यार्थीले सुरु गरेको यो कदमको सबैले अनुकरण गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा उपस्थित धेरै जसो  ‘मिना दिदी’कै शिष्य थिए। उनीहरूले ‘मिना दिदी’ले पढाउँदा अनुभवहरू सुनाएका थिए भने पुस्तकमा पनि उनै ‘मिना दिदी’को संघर्षले आफूमा भएको परिवर्तन र सफलताका अनुभवहरू सुनाउने काम भएको छ।

साहित्यकार प्रतिक ढकालले भने, ‘अहिले सयौ पुस्तक लोकार्पणमा आफू सहभागी भैसकेको तर यो खालको अनुष्ठानमा पहिलो पटक सहभागी हुन् पाउँदा निकै प्रफुलित भएको छु।’

गुरु आमा मिना दिदीको शिष्य मित्रलाल पोखरेलले आफनो जीवनमा गुरुआमा मिना दिदीको योगदान सम्झदै अर्को जन्म हुन्छ भने गुरु आमाको कोखमा बसेर उहाँको सन्तान भएर जन्मन पाऊँ भने कामना रहेको बताइरहँदा सबै भावुक भएका थिए।

त्यसपछि वरिष्ठ गायक तथा संगीतकार लोचन भट्टाराईले आमाप्रति समर्पित गीत सुनाएकी थिइन्। प्रदेश- ३ का परीक्षा नियन्त्रक निर्देशक जयन्ती सत्यालले ‘समाजमा अन्य क्षेत्रका व्यक्तिलाई ठुला मान्छे भन्दै अभिन्दन गरिने तर शिक्षकलाई त्यसरी नसम्झने हुदा यो अति सराहनीय कार्य भएको र अन्य विद्यालयका विद्यार्थीले पनि यसैगरी आफ्नो गुरुलाई अभिनन्दन गर्नुपर्नेमा जोड दिइन्। त्यस्तै सञ्चारकर्मी अनिता विन्दुले पनि यस कार्यलाई उदाहरण मानेर आगामी दिनमा पनि यस्तो कार्य देशभर हुनुपर्नेमा जोड दिइन्।

मिना दिदीको सुपुत्री तथा उहाँकै विद्यार्थी डा.आरती कार्कीले शिक्षण पेशा अति समानित पेशा भएको धारणा राख्दै जीवन निर्माणमा शिक्षकको भूमिकाबारे प्रकाशन पारिन्। आफूलाई शिक्षककी  छोरीभन्दा निकै गर्भ लागेको बताइन्।

उक्त कार्यकर्मको संचालन गर्दै साहित्यकार नीलम कार्की निहारिकाले भनिन्, ‘गुरुदक्षिणाको यो नयाँ शैलीको सुरुवात हो। आफू यस्ता सत् कार्यमा हातेमालो गर्न सधै तत्पर भएको र अन्य तमाम गुरुहरूको यसैगरी सम्मान भएको देख्न चाहेको धारणा राखिन्।

उक्त कार्यक्रममा मिना दिदीका सुपुत्रीद्वय डा.आरती कार्की र नीलम कार्की निहारिकाले विद्यालयमा एक लाखको अक्षयकोष स्थापन गरेका छन्।

प्रकाशित: ५ पुस २०७८ ०२:३९ सोमबार

अक्षर