कला

साँपहरू

कविता

होमशंकर बास्तोला

महाशय,

दूध पिलाएर पालेका साँपहरूले

दूधको नसाले मातेर

रक्ताम्य हुने गरी

आफ्नै नजर अगाडि

ठूलाठूला खत पारेर डसेपछि

दूध पिलाउनेलाई कति दुख्छ?

थाहा छ यहाँलाई?

दूध भर्ने घैलामा

पानी मिसाएर भर्न दिँदा

हावाले ढल्न लागेको रूखलाई

फेदमा बन्चरो लगाएर

एकदुई चोट प्रहार गरेर

ढाल्न खोजेझैं

आफ्नै हातले दूध पिलाएर

हरक्षण पालेका सर्पहरू

आफ्नै बलमा डस्न सक्ने भएपछि

हत्केलाका औँलाहरूमा

ढसेर रगत चुस्छन् 

तसर्थ होसियार

सचेत रहनु

डस्नु अगाडि नै

साँपहरूदेखि।

प्रकाशित: २० मंसिर २०७८ ०४:३६ सोमबार

अक्षर