कला

परिचित परिवेशका कथा

यसपालिको दसैँमा विवश वस्तीको कथा पढेँ। लामो समयदेखि पत्रकारिता पेसामा आबद्ध साहित्यकार विवश वस्तीको छैटौं कथाकृति ‘देउदत्त र रानी मुखर्जीहरू’ ले मेरो मन तथा स्मृतिका कैयौँ पात्र तथा घटनालाई छोयो।

भुँडीपुराण प्रकाशनमार्फत पाठकसमक्ष आएको ‘देउदत्त र रानी मुखर्जीहरू’का २२ वटा कथा मध्यम तथा निम्न मध्यमस्तरीय जीवनको स–साना गाथा हुन्। पत्रकार हुनुको नाताले कथाकार वस्तीले विगत दुईतीन दशकका नेपाली जीवनको सपना, संघर्ष,पुस्तागत मनोविज्ञान तथा विशिष्ट घटनालाई सृजन सामग्रीको रूपमा सञ्चय गरी तिनलाई फारीफारी जतनपूर्वक उपयोग गर्दै आएका छन्।

समकालले भोगेको साना–ठूला भोगाइ अलप हुन नदिने चेष्टा अन्तर्गत वस्तीका कथा सिर्जना भएका देखिन्छन्। साहित्य रचना इतिहासको सिर्जनात्मक अभिलेखन पनि हो।

विवशका कथामा मनोवैज्ञानिक पक्षभन्दा सामाजिक पक्ष मुखरित हुने गर्छन्। कथाको भूगोल तथा परिवेश सिन्धुली, रामेछाप, काठमाडौं र तिनको आसपासका क्षेत्र हुन्। उनका पात्र कोही राजनीति गर्छन्, कोही जीवनयापनका लागि स–साना होटल चलाउँछन्,कोही जागिर खान्छन्, कोही पठनपाठनमा रमाउँछन्। उनीहरूका सपना र संघर्ष आम नेपालीको सपना र संघर्ष नै हो। कथा पढ्दै जाँदा विवशका कथा निम्नवर्गीय पात्रको जीवन कत्तिको कष्टकर छ भनी चाल पाउने सूत्रजस्तो लाग्छ।

हिजो समाज परिवर्तनका लागि राजनीतिमा होमिएर एकै वर्गको राजनीति गर्नेमा अहिले वर्ग विभाजन छ– घाउ बोकेर हिँड्ने र सम्पत्तिको चाङमा मस्ती मार्ने। सुनौलो भविष्यतर्फ लम्किने वर्तमान किन कुरूप ? कथा गहिरिएर पढ्दा त्यसको छेउ–टुप्पो फेला पर्छ।

कथामा ठाउँठाउँमा सशस्त्र लडाइँको झझल्को, असर र विद्रुपताको वर्णन छ। कथाका मूल पात्र प्रगतिशील सोच र विचारका छन्, फलतः उनीहरू जातीय विभेदलाई भत्काउँदै जाने, विचार र व्यवहारमा तालमेल गर्ने, मिहिनेतको कमाइमा विश्वास गर्छन्। वर्तमान नेपाली समाजले भोगिरहेको अनेक तरहका आर्थिक,सामाजिक तथा सांस्कृतिक द्वैधतालाई कथाहरूले पर्याप्त स्पेस दिएर न्याय गरेका छन्।

‘देउदत्त र रानी मुखर्जीहरू’का पात्र सरल छन् र २२ कथामध्ये महिला तथा दलित पात्र प्रभावशाली देखिएका छन्। उनीहरूमा यथास्थितिको असहजता, अन्याय र दुव्र्यवहारबाट मुक्ति पाउने आकांक्षा छ। ‘तलमाथि’, ‘दोस्रो अग्नि परीक्षा’, ‘नाउँ’, ‘कैली दमिनीको पसल’ आदि त्यस थिमका विशिष्ट कथा हुन्। 

कतिपय महिला पात्रले भोगेको पीडाको गहिराइ कथाले उधिन्न सकेको छैन। डोब लगाएर छोडेको छ। कथा ‘स्माइल प्लिज’का पात्रले भोगेको पीडाका अल्पांश मात्र कथाकारले वर्णन गर्न सकेका छन्। सो कथाको पूरा वर्णन या त अर्को कथामा मात्र पूरा हुनेछ, अथवा पाठक आफैँले गर्नुपर्ने छ।

विवशका धेरै कथाले राजनीतिक विकृति तथा विसंगतिलाई उधिनेका छन्। जनयुद्धका ज्यादती तथा हालका राजनीतिक व्यक्तित्वका ढोंगी जीवन शैलीलाई उनले रोमाञ्चक शैलीमा प्रस्तुत गरेका छन्। ‘देउदत्त र रानी मुखर्जीहरू’, ‘काला काला क्षितिज’, ‘गाउँको स्कुल’, ‘स्माइल प्लिज’, ‘दिवाकरको अनुहार’, ‘टेन्डर कामरेड’, ‘रोयल मुर्कीबेसी’ आदि कथा त्यसका दसी प्रमाण हुन्।

कथामा जनयुद्धले नयाँ वर्ग जन्माएको, आम कार्यकर्ता र जनतालाई खासै न्याय गर्न नसकेको विषय आएको छ। सो राजनीतिका मूल संवाहक आफ्नो आदर्शबाट च्युत भइसकेको विषय उठान गरिएको छ। ढोंगको पर्दाफास गर्ने क्रममा एकाध कथाले मिडिया आशक्त नेता,चोट्टा नागरिक अभियन्ता आदिको चरित्र पाठकसामु राखेको छ। ‘मिडिया’ र ‘हात–हात’ त्यस्ता कथाका प्रमाण हुन्।

संग्रहका केही कथाले भने गरिबीका कारण प्राण धान्न मुस्किलमा रहेका पात्रको जीवनचर्यालाई चित्रित गरेका छन्। ‘वाग्मतीका पार्वती’, ‘न शंख न चक्र’, ‘कैली दमिनीको पसल’ र ‘थाल’ न्यून वर्गीय जीवनका कथा हुन् र ती जीवन्त छन्।

त्यसो त संग्रहको ‘फेरि पहाडतिर’ कथामा मधेस आन्दोलनको राप, ‘बलबहादुरको हुटेल’मा मध्यमवर्गीय व्यवसायीको कथा र ‘भित्ते घडी’मा जागिरमा व्यस्त दम्पतीको समयाभावको कथा अवतरित भएको छ। ‘हाइब्रिड’ कथामा नजानीकन नयाँ बिउविजन प्रयोग वा प्रचार गर्दा हुने नोक्सानीलाई इंगित गरिएको छ।

कथा समकालको भोगाइको प्रकटीकरण हो। त्यसको जरा अतीतको भूगोलमा रहेको हुन्छ। हिजो रोएको व्यक्ति अहिले फिस्स हाँसेको देखिन्छ। हाँसोभित्र लुकेको वेदना चाल पाएर पाठकलाई त्यसको पोकोपुन्तुरो फुकाएर सही सवाल प्रस्तुत गर्नु कथाकारको मुख्य जिम्मेवारी हो।

त्यस्तै, बनावटी चालढालमा अवतरित ढोंगी व्यक्तिको यावत आभ्यन्तरिक पाखण्ड चाल पाई प्रस्तुत गर्नु पनि कथाकारको अर्को महत्त्वपूर्ण काम हो। त्यसबाहेक जीवन भोगाइ र अनुभूतिका अनेक आयाम र मनोदशासित कथाकार परिचित हुँदै पाठकसमक्ष पुग्ने गर्छन्। 

यस सन्दर्भमा कथाकार वस्ती सामाजिक राजनीतिक जिम्मेवारीका पात्रको जीवनचर्या परख गर्न तथा मध्यम वा निम्न मध्यम वर्गको जीवनका सुख–दुःख, सपना र जीवन भोगाइ छामी सोबारे पाठकसित बात मार्न सफल देखिएका छन्।

कथाको भाषा सरल छ। परिचित परिवेशका कथामार्फत जीवन व्यवहारलाई उतार्ने चेष्टा गरिएकाले प्रस्तुति कृत्रिम वा क्लिष्ट नभई बोधगम्य हुन पुगेको छ। समान आयामका लाग्ने कथाहरू पठनीय र मननीय छन्।

संग्रहका कथामध्ये ‘देउदत्त र रानी मुखर्जीहरू’, ‘तलमाथि’, ‘काला काला क्षितिज’, ‘न शंख न चक्र’ र ‘कैली दमिनीको पसल’ मन छुने कथा हुन्। ‘गाउँको स्कुल’मा वर्णित युद्धोन्मादले जति हाम्रो मन बिथोल्छ, त्यति नै सशस्त्र आन्दोलनमा होमिएको पूर्वलडाकुले सम्पत्ति लुकाएर आफ्नो बडेमानको घरलाई पनि डेरा भनेर बसेको श्रीमान्–श्रीमतीबीचको संवाद सुन्दा दया लाग्छ।

अहिले सम्पत्ति र उन्मादको डसनामा सुतेर निद्रा नलाग्ने धेरै पात्र हाम्रो समाजमा छन्। चिन्तन र चरित्रको बढ्दो दूरी एवं ढोंग नयाँ वर्गमा उक्लिने अगुवाको आम चरित्र भएको छ। त्यो दृश्य विवशका कथामा आमन्त्रित छ।

अरूले जस्तै विवशले पनि केही कथा यस संग्रहमा नराखेको वा कथा नलेखेको भए पनि केही बिग्रिँदैनथ्यो जस्तो पनि लाग्छ। यस नयाँ संग्रहका कथामार्फत कथाकार वस्ती पाठक मनलाई सम्बोधन गर्न सफल हुँदै गएको प्रतीत हुन्छ।

प्रकाशित: १८ मंसिर २०७८ ०१:३५ शनिबार

अक्षर