कला

कविता संग्रह ‘आकाशगंगाको किनार’ विमोचित

कवि एवं लेखक अजित उत्सवको कविता संग्रह ‘आकाशगंगाको किनार’ को हिजो पोखरामा विमोचन भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रूपमा कविता संग्रहको विमोचन गरेका हुन्।

विमोचनपछि बोल्दै पूर्व कुलपति श्रेष्ठले कविता लेखनमा युवाहरू जुर्मुराएको देखेर आफूलाई खुसी लागेको बताउँदै यस कविता संग्रहले कवि अजित उत्सवलाई कविको रूपमा स्थापित गराउने विश्वास व्यक्त गरे। अर्का कवि एवं प्राज्ञ रमेश श्रेष्ठले यस संग्रहणीय कृतिको लागि बधाई दिंदै संग्रहका कविताले आफू प्रभावित भएको बताए।

विमोचित पुस्तकको समीक्षा युवा कवि एवं समालोचक संजीव पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए। कार्यक्रममा लघुकथा समाज नेपाल, प्रदेश– १ की अध्यक्ष ममता मृदुल र पोखरेली युवा साहित्यकार दिपक समीप उपस्थित रहेका थिए।

त्यसैगरी गजलकार आवाज शर्मा, कवि शिव त्रिपाठी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुञ्जकी अध्यक्ष मनु शर्मा लगायत चार दर्जन साहित्यकारको उपस्थिति रहेको थियो। युवा कवि रोशन तिमिल्सिनाले विमोचित कृतिको कविता पाठ गरेका थिए।

कार्यक्रमको संचालन सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी शाखा सचिव कवि लिली अधिकारीले गरेका थिए। कार्यक्रममा उपस्थित सबै दर्शकलाई नै सभापति बनाइएको थियो र समापन पनि सबै दर्शकले ताली बजाएर गरिएको थियो।

पुस्तक विमोचन कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो। कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले गरेकी थिइन्।

विएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कविता संग्रहमा जम्मा ५६ वटा कविता सङ्गृहीत छन्। पुस्तकको मूल्य २ सय पचास रहेको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०५:५७ सोमबार

अक्षर