कला

'द भ्वाइस अफ नेपाल'को फिनाले आज, ज्वालालाई खोटाङबाट २७ हजार १०० भोट

‘द भ्वइस अफ नेपाल’ को टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि दिक्तेलमा निकालिएको र्‍याली। तस्बिर : नागरिक

‘द भ्वइस अफ नेपाल सिजन–३’ को टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि खोटाङबाट २७ हजार बढीको भोट गरिएको छ। नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका राईलाई जिताउनका लागि एलबि मगरको संयोजकत्वमा गठित ज्वाला राई जिताऔं अभियान जिल्ला समितिको पहलमा २७ हजार १०० भोट जुटाइएको हो। 

पाँच दिनको अभियानका क्रममा ८१ हजार ३०० रुपैयाँ सहयोग संकलन गरेर २७ हजार १०० भोट गरिएको हो। भोजपुरका ज्वाला राईलाई द भ्वइस अफ नेपालमा जिताउनका लागि साउन १९ गते मगरको संयोजकत्वमा १०१ सदस्यीय ज्वाला राई जिताऔं अभियान जिल्ला समिति गठन गरिएको थियो। साउन १९ गतेदेखि २३ गतेसम्ममा खोटाङमा ५० हजार ३०० र विदेशमा रहेका दाताबाट ३१ हजार रुपैयाँ आर्थिक सहयोग जुटाइएको संयोजक मगरले जानकारी दिए।  

उठेको सहयोग रकमलाई ज्वालाको पक्षमा भोट गर्न खर्च गरिएको छ। ज्वाला राई जिताऔं अभियान जिल्ला समितिले शनिबार विज्ञाप्ती जारी गर्दै सहयोग अभियान बन्द गरेको जनाएको छ। ज्वाला राई जिताऔं अभियानका क्रममा समितिले दिक्तेलबजारदेखि मुढे हुँदै हुलुङसम्म र्‍याली निकालेको थियो। ज्वाला राई निर्णायक तृष्णा गुरुङ टिमबाट द भ्वाइस अफ नेपालको प्रतिष्पर्धामा छन्। 

द भ्वाइस अफ नेपालको फिनालेमा ज्वाला सहित टिम दिप श्रेष्ठबाट आर्यन तामाङ, टिम प्रमोद खरेलबाट किरण गजमेर र टिम राजु लामाबाट तारा श्रीश मगर भए पनि जिल्लामा ज्वालाको समर्थकले मात्र अभियान चलाएको हो। 

शनिबार गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फिनाले हुँदैछ।

प्रकाशित: २३ श्रावण २०७८ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App