कविता ढकाल
विचित्र छ यो संसार दुनियाँ स्वार्थी नै छन् सबै यहाँ !
म खाउं मै लाउं भन्दै नाचिरहेका नै हुँदा रहेछन् यहाँ ।।
एउटै कोखको बास हो रे , एउटै आमाले जन्माएका भन्छन् !
व्यवहार देख्दा सौतेनीभन्दा पल्लोपट्टि गरी छुट्याउँछन्।।
कस्ता कोढी कपटी होलान् बाबाआमा अनि तिनै दाजुभाइ !
आफू मात्रै किर्नुसरि ढाडिरहने अनि लात मार्दा रहेछन् निर्धालाई।।
कसैलाई भने लगाइदिने रहेछन् सम्पत्तिको माला उनेर!
कसैलाई खेद्ने रहेछन् सम्पूर्ण गांस अनि बास नै खोसेर।।
धनसम्पत्ति मुठ्ठी पारी कुम्ल्याउने बुर्कुसी मार्दोरहेछ अर्कालाई मारेर!
नाङ्गो हुनेले चै त्यसैको खुट्टा मालिस गर्नुपर्ने रे सधै दलिएर।।
साँच्चिकै विचित्र हुँदो रहेछ यहाँ देख्न पाइन्छ घरिघरि!
कोखमा दात भएकी आमा र अपराधी बाबु भएपछि।।
लुट्दा रहेछन् लुटेराले सधैभरि अर्काको पेट मारीमारी!
खाई उब्रेको सम्पति चै लगिदिन्छौ कि यमराजलाई कात्रोमा पोको पारी।।
पापको घडा भरिएको हुँदैन रैछ सधै अर्कालाई मारेर खानेलाई!
लादेर आन्द्रा चुसेको कालो धनले सराप्ला तिनीहरूका सन्ततिलाई ।।
सुनाउँदै हिँड्छन् सबैलाई सन्तान मेरा उस्तै बराबर भनी!
गर्दछन् व्यवहार ठगेकालाई नै पक्का कमारालाई सरि।।
मज्जाले लात मारी ढाडिएकालाई के थाहा तड्पिनेको व्यथा!
सधैंभरि रुवाइहिँड्ने गर्दछन् आफू मात्रै राजा हुने सपनाको साथ ।।
न सक्छौ त्यो दुःख दिएर झरेको आंसु टपटप टिपी चप्प पिउन !
न सक्छौ नङ्ग्याएको छाला काढी कुनै वस्त्र सिई मजाले लगाई हिंड्न ।।
न सक्छौ त्यो मासु काटेर सधैभरि अघाई जिउन!
न सक्छौ त्यो दुख्ने मनलाई कुनै मलमपट्टी लगाई जाति बनाउन ।।
व्यर्थै ठालु बनी हिँड्ने गर्दछ त्यै बाबुको धनमा मस्ती गरी !
धिक्कार छ त्यस्तालाई सधैंं पीडित आत्माले सधैभरि।।
साँच्चै त्यसको व्यवहार बुझ्नेले कस्ले भन्दछ गतिलो भनी!
अरूको सामु स्यालको हुइया मच्याउँदै हिँड्दछ आफै ठालु भनी।।
के धर्म गर्दछौ मन्दिर – मन्दिर धाई आफ्नै सन्तान मारेर!
के वर माग्दछौ भगवान् सँग आफै बेस्सरी अपराध गरेर।।
के खोजी हिँड्दछौं धर्म गर्ने ठाउँ भनी अर्काको पेट मारेर!
के दान गर्ने भन्छौ देखावटी मात्र अर्काको गाँसबास नै लुटेर।।
जतिसुकै धर्म पुजा गर सदाबहार दिनै दिन !
त्यो पाप गरेको त कहिल्यै सक्दैनन् तिर्न रिन।।
आततायी हत्यारा त्योभन्दा ठुलो को हुन सक्छ होला र!
संसारमा त्योभन्दा गिरेको मान्छेहरू अरू को नै हुनसक्छ र।।
प्रकाशित: १७ श्रावण २०७८ ०१:४१ आइतबार