कृष्ण प्रधान
एक धुनमा व्यङ्ग्य लेखिरहेको बेला श्रीमतीको कर्कश आवाज मेरो कानको डिलमा ठोक्किँदा मेरो एकाग्रता भङ्ग भए पनि उनले भनेकी कुरा मैले बुझिनँ। उनले भनेकी कुरा मैले बुझिनँ। उनको मुखारविन्दबाट प्रक्षेपण गरेकी शब्द फेरि एकप्लट रिप्ले गरून् भनी कतै नहेरी ’के भन्यौ ?’ भनेँ। म बोलेको शब्द सेलाउन नपाई नै मेरा कानमा उनले बोलेका शब्दहरू तातो सिसाजस्तै आएर बिलिन थाले –“आज मे हेल्थ क्लबमा एड्मिसन भएँ ता।’
एक्कासि मेरो मुखारविन्दबाट शब्द उछिट्टिहाल्यो – हेल्थ क्लब !!! मेरा विष्मयविशिष्डट दुईका पलकले श्रीमतीलाई ट्वालट्वाल्ती हेर्ने नपाई नै पुनः प्याच्चै बोलिन् –“हजुर ता कस्ता मान्छे ? तर्सिनु पो भो ता ! मानौं, हजुरले हेल्थ क्लबको नामै सुन्नुभएको छैन।”
मेरो जवाफ – कुरो त्यसो होइन। यो उमेरमा तिमी हेल्थ क्लबमा भर्ना हुन्छ्यौ भन्ने मैले सपनामा पनि सोंचेकै थिइनँ। खोई ! मैलै केही बुझिनँ। यसले तिमीलाई के नाफा हुन्छ को’नि ?
मेटाल डिटेक्टरजस्तो ट्याँ... बजिहालिन् – “तपाई आफूचाहिँ नि ! अफिसबाट निस्कनेर सधैँ क्लब गई तास खेल्दा तपाईलाई कुनै नाफा भएको छ ? घण्टौंसम्म तास खेलेर अलादिनको बत्ती लिएर आउनुहुन्छ कि अलिबाबाको गुफा, को’नि ? तासले पार्छ सर्वनाश भनेर जान्दाजान्दै पनि तपाईँले तास छोड़्नुसक्नु भएन।”
वकिलले झै जवाफ दिएँ – ओहो ! म जुवा खेल्न कहाँ गएको हुँ र डियर ? टेम्पोरेरी रिफ्रेसमेन्टको निम्ति पो गएको। तास खेल्दा सामयिक रूपमा मन फ्रेस हुन्छ तर तिमी हेल्थ क्लबमा गएर चाहिँ के गर्छ्यौ ?
– हेल्थको निम्ति एक्सरसाइज।
– तिमी एक्सरसाइज गर्छ्यौ ? हेर, चालीस काट्यो कि मान्छेको शरीर सुकेको बाँसझैं हुन्छ। चार युग नाघिसकेको यो उमेरमा तिमी एक्सरसाइज गर्ने ? यो उमेरमा ता शरीरका हड्डीहरू लोहोरोजस्तै भइसकेका हुन्छन्। तिमीले बजी बेन्ट नै गर्न सक्तिनौ अनि ?
श्रीमतीलाई मेरो कुराले कुनै असर नै परेन रहेछ। गड़्यौलामा ती टेक्दै हात्ती लमकलमक लम्केजस्तै श्रीमतीले आफ्नो तर्क राखिन् – तपाईले हेल्थ क्लबो भ्यालु के बुझ्नुहुन्छ हजूर ? गन्धे नालीको भ्यागुते जीवन बिताउनेहरूलाई हेल्थ क्लबको शान कहाँ थाहा हुन्छ ? गाउँमा नयाँ हेल्थ क्लब खोलिएको छ। हाम्रा फ्ल्याटका मिसेस जत्ति सबै एकैसाथ एडमिसन भएका छन्। अन्तिम उमेरको शरीर भन्नु नै रोगको गोदाम हो। त्यसैले अघिबाटै प्रि–कसन् लिनु आवश्यक छ। प्रिभेन्स इज बेट्टेर द्यान क्यूर। त्यसबाहेक सामान्य बिरामी परयो कि डाक्टरकहाँ नगई उपाय नै छैन। अचेल डाक्टरहरूले पनि ५ सय भन्दा थोरमा स्टेथोस्कोप समात्ने होइनन्।
बिस्तारै बोलें म – रोगको दोष नै के छ र ? शरीरको धर्म यस्तै हुन्छ । उमेर बढ़्ने साथसाथै शरीरको रोगप्रतिरोधक क्षमता पनि दिन प्रतिदिन घट्तै जान्छ।
श्रीमतीले लुज बल पाउनेबित्तिकै भएभरको बलले डङ्ङै छक्का हिर्काइन– त्यसैले ता हेल्थ क्लबमा एडमिसन लिएकी । तपाई एकातिर ग्यासट्रिक अल्सरले सुपारीको सुकेको बोटजस्तै भइसक्नुभएको छ अनि मचाहिँ हाइब्रिड फर्सीजस्तो भइसकेकी छु। तपाईँ हजुरसित सँगै हिँड्Þनु पनि मलाई कस्तो कुरीकुरी लाग्छ । हामी दुई लोग्न–स्वास्नीलाई “हेरहेर....! कुभिण्डो र सुकिसकेको काँक्रासँगै हिँडेका” भनी कमेन्टस् पास गर्ने कति होलान्।
श्रीमतीको कुराले मलाई निकैबेर घोरिन बाध्य गरायो। श्रीमती वासरुम पसकी बेला मौका छोपी मेरो सर्वाङ्ग शरीरलाई एकपल्ट ड्रेसिङ टेबलअघि उभ्याएर पल्टाईपल्टाई धित मरुञ्जेल हेरेँ। मौन थिएँ म। श्रीमती वासरुमबाट कतिबेला निस्किइछन् थाहै भएन आफ्नो सर्वाङ्ग हेर्ने धुनमा। मेरो मौनतामाथि बुर्कुसी मार्दै श्रीमती बोल्दा पो झसङ्ग भएँ। बोल्दै थिइन् –तपाईले के सोच्नु हुँदैछ मैले बुझेँ। ५ सय बुझाएर एडमिसन भएकी छु। प्रतिमहिना ५ सय बुझाउनुपर्छ।
५ सय ? त्यो पनि प्रतिमहिना ? मनमनै तर्सेँ म । यसै पनि ता घर चलाउनु हम्मेहम्मे पर्छ। भारीमाथि सुपारी भनेझैँ प्रतिमहिना ५ सय रुपियाँ हेल्थ क्लबमा बुझाउनु भनेको चाल्नी पिलोमाथि लोहोरो खसेकै बराबर हो मजस्ता साधारण किरानीको निम्ति। मेरो अनुहारको भूगोल साङ्गोपाङ्गो पढेपछि श्रीमतीले अलिखित रूपमै मार्सल अर्डर जारी गरिन् – एउटा डी. ए. पाउनु हुँदैछ हजुरले। त्यो डि. ए. मेरो हेल्थको निम्ति उत्सर्ग गर्सियोस्।
पूर्वसम्मति नलिई पनि धर थिएन। दुई हप्ता पनि राम्रो बितेको थिएन। श्रीमती बडी स्पेसलिस्ट भइन्। घरभित्र पसिन् कि नारायण ! स्वास्थ्यबारे उनको बकबक आरम्भ भइहाल्छ। कति प्रकारका प्रोसेसहरू ? कति प्रकारका नामहरू ! वकर, स्टपर, ट्विष्टर, भाइब्रेटर, रोलर। केके हो केके ? मैले सुनेको र जानेको ता डन बैठक मात्रै हो। हेल्थ क्लबको कुराले मेरो कान पाकिसकेको थियो। श्रीमती मेरो नजिकै आएर बसिन् अनि कमिजको टाँक खेलाउँदै आफ्नो हर्षोदगार वमन गरिन् – सुन्नु भो मेरो हजुर! मेरो वेट तीन केजी घटेछ। वेस्ट डेढ इञ्ची कम्ती भएछ।
जवाफ ता मुखैमा आएको थियो अनि प्याच्चै भन्न मन लागेको थियो तर बारुलाको गोलामा हात हाल्ने मूर्ख प्रयास नगरी मनमनै भनेँ– तिम्रो वजन घट्यो अनि यता मेरो बजेट मोटाएको चाहिँ ? वेस्ट कम्ती गराएर कुन ब्युटी कन्टेस्टमा जानु छ र प्रिय तिमीलाई यो उमेरमा ?
श्रीमती दलबलसहित हेल्थ क्लब धाएकी महिना ६ महिना पनि राम्ररी बितेको थिएन। चक्रासन गर्ने हुँदा मुन्टो बाङ्गेर सर्वनाश । एक महिना बेड रेस्ट गर्ने डाक्टरको आदेश। दिनभरि अफिसमा लखतरान खटेर पनि श्रीमतीको सेवा तल्लिन छु। सकीनसकी श्रीमती बोलिन् – तपाईको हक छुट्टी त्यसै खेरो जाँदैछ हई ? एक महिना छुट्टी लिनुहोस् । घरमा काम पनि हुने...तपाई हजुरलाई एक महिना रेस्ट पनि हुने अनि सुन्नुहोस् ता....एक महिना हेल्थ क्लब नगए पनि फिस ता तिर्नैपर्छ है। त्यो पनि गएर बुझाइदिनोला। ब्रेक अफ पेमेन्ट भयो भने फेरि नयाँ पाराले एडमिसन हुनुपर्छ भन्ने हाम्रो हेल्थ क्लबको नियम छ।
नबोलुँ भन्दाभन्दै अनायसै मेरो मुखबाट निस्किहाल्यो – फेरि पनि तिमी हेल्थ क्लब जाने ?
सकीनसकी श्रीमती बोलिन् –किन म स्लिम भएकी हजुरलाई मन पर्दैन ?
“होला कि ’ले बुलाकी लायो बुलाकीले कानै खायो” भन्ने उखान एकपल्ट भट्याउन मन लागेको थियो नि तर के गर्ने आफ्नै गाला आफ्नै लपटा ठानी म मौन बसिदिएँ....श्रीमतीको आय्याआय्या...हेल्थवाणी कोठाभरि रुमलिरहेको थियो ...!
–सिलिगुड़ी (भारत)।
प्रकाशित: १० श्रावण २०७८ ०९:०२ आइतबार