विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिताको प्रथम उपाधि झापाका बलबहादुर राईले जितेका छन्।
आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर किरात राई साँस्कृतिक कलाकार संघले आयोजना गरेको खुल्ला विश्वव्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगितामा राईले प्रथम स्थान प्राप्त गरेका हुन्। फाइनलमा पुगेका २० प्रतिस्पर्धीलाई उछिन्दै राईले प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको आयोजक किरात राई साँस्कृतिक कलाकार संघका सचिव पदम थुलुङले बताए।
बिहिबार सम्पन्न प्रतियोगितामा खोटाङको जालपाका पम्फा खालिङ राई र ओखलढुंगा उँबुका जितुमायाँ राईले तेश्रो स्थान प्राप्त गरेका छन्।
तेश्रो अडिसनमा सकिएको प्रतियोगीतामा झापाका मनकुमारी राई सान्त्वना भएकी छन्। प्रतियोगितामा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी ९२ वर्षीय देशलक्षी राई र धरान उपमहानगरपालिका–१५ का ९५ वर्षीय विष्णुमायाँ राईलाई पुर्खा सहभागिताको उपाधि दिइएको छ। प्रतिस्पर्धीले पठाएको बिनायो बजाइरहेको अडियो सहितको कम्तीमा दुई मिनेट लामो भिडियोको आधारमा वरिष्ठ गायक तथा संगीतकार जितेन राई, गायिका पार्वती राई र गायक संगीतकार राजुएन राई निर्णायक रहेको निर्णायक समितिले नतिजा सार्वजनिक गरेका हुन्।
गायक तथा संगीतकार गणेश रसिकको प्रमुख आतिथ्यतामा विनायो वादन प्रतियोगीताको फाइनल अडिसन गरिएको थियो। विनायो वादन प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विजेताले क्रमशः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए।
प्रकाशित: ३१ असार २०७८ १२:०७ बिहीबार