कला

नामबिनाको चिर्कटो

लघुकथा

टुकादेवी आचार्य 

 

कक्षा आठबाट नगरपालिका भरिमा उत्कृष्ट नतिजा ल्याएर पुरस्कृत भएकी थिइन् विनया।

अनुशासित,जेहेन्दार र मेहेनती थिइन्।विद्यालयका अधिकांश शिक्षक विनयाको खुब चर्चा गर्थे।विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिमा विनयाको नाम नै अग्रपंक्तिमा हुन्थ्यो।  

९ कक्षामा पढाउने शिक्षकहरू फेरिए। विद्यालयका सहायक प्रधानाध्यापक  नरेन्द्र सर विज्ञान विषय पढाउँथे। कक्षाका अधिकांश विद्यार्थी डरले कुत्थुर हुन्थे। कसैले संवाद गर्न सक्दैनथे नरेन्द्र सरसँग।विनया मुस्किलले एकदुई प्रश्न गर्थिन्।

विनयाको चेहेराको रङ फेरिएको थियो। उसो त  निर्मला मिसले आफ्नो पिरियड नभए पनि विनयासँग बेलाबेलामा भेटेर हौसला पनि नदिएकी होइनन् तर पनि विनया कक्षा आठमा जस्तो थिइनन्।  

‘कस्तो छ विनया तिम्रो पढाइ?माध्यमिक तह हो अलि बढी मेहेनत गर्नुपर्छ है।मेरो पिरियड नभए पनि सोधपुछ गर है!’– निर्मला मिसले विनयासँग खै गरिन्।

–ठिकै छ मिस !तर  ८ कक्षामा जस्तै त गर्न सक्दिनँ कि जस्तो लाग्छ।  

 

‘किन पढाएको बुझेकी छैनौ र?नबुझेको कुरा सर– मिससँग सोध्नुपर्छ नि लाटी!सोधिएन भने त पछि परिन्छ नि!’ जिज्ञासु भावमा निर्मला मिसले भनिन्। 

‘सबै शिक्षकले राम्रो पढाउनुहुन्छ।बुझेकी पनि छु ।प्रयास गर्दै छु मिस!’

शैक्षिक सत्रको पहिलो परीक्षाको नतिजा प्रकाशन भयो।विनयाको अनपेक्षित नतिजा देखियो। ८ कक्षासम्म पढाउनुभएका विनयाका शिक्षकहरुले विनयालाई भेटे। 

‘अर्कोचोटि राम्रो गर्छु सर मिस।‘आशावादी भएर भनिन्। 

शैक्षिक सत्रको दोस्रो परीक्षाको नतिजामा पनि  विज्ञानमा चित्तबुझ्दो अंक नआएपछि विनयाका बाबुआमा विद्यालय गए सोधपुछका लागि।त्यो  दिन विज्ञान शिक्षक अनुपस्थित भएकाले विद्यालयका प्रअले विनयाका बाबुआमालाई सान्त्वना दिएर पठाए।विनयाको सबै विषयमा सर्वोत्कृष्ट अंक आउनु विज्ञान विषयमा अनुत्तीर्ण हुनु असामान्य नै थियो।

धेरै दिनपछि विद्यालयको गुनासो पेटीमा राखिएका गुनासा खोल्ने दिन थियो। बाल क्लवकी फोकल पर्सन निर्मला मिस , क्लबका अध्यक्ष सनम परियार  र विद्यालयका प्रअको उपस्थितिमा गुनासो पेटिकाका गुनासा पढ्न थालियो।

‘मलाई उहाँले छोएको मन पर्दैन। कक्षामा पढाउँदा पनि घरिघरि आएर गाला चिमोट्ने, मेरै डेस्कमा आएर टाँसिएर बस्ने गर्दा मलाई असहज महसुस हुन्थ्यो। एकदिन उहाँले मेरो छातीमा छुनुभयो। मैले कक्षामै सरको हात निमोठिदिएको, त्यसैलाई आधार बनाएर मलाई विज्ञान विषयमा फेल गराउनुहुन्छ  सरले!यसको उपाय केही छ कि? ’

गुनासोको चिर्कटोमा नाम भने थिएन।

प्रकाशित: २७ असार २०७८ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App