उमेश अवस्थी ‘आदर्श’
म बेलाबेलामा उहाँले बोलका शब्दहरू सम्झिरहन्छु। मलाई प्रायः गरी उहाँले गरेको ब्रिफिङको निकै याद आउने गर्दछ । हरेक ठाउँमा म जब प्रहरी देख्छु प्रहरी देख्नेबित्तिकै मलाई उहाँकै याद आउँछ। उसो त हाकिमको याद आउनु स्वाभाविक नै हो तैपनि मलाई उहाँको याद आउँदा उहाँ हाकिम हो जस्तो लाग्दैन। उहाँ नायक हो जस्तो लाग्छ। चलचित्रहरूमा देखेको थिएँ प्रहरीका नायकहरू। तर केही वर्षअघि आफैंले नायक देख्न पाएँ। यो मेरा लागि सौभाग्यको कुरा थियो। दुवैका लागि नयाँ कार्यक्षेत्रजस्तै थियो। उहाँ हाकिम भएर आउनुभएको थियो म सामान्य कर्मचारी भएर।
उहाँ हाकिम दर्जाले हुनुहुन्थ्यो तर व्यवहारले भगवान् र कामले नायक। मेरा लागि योभन्दा ठुलो सौभाग्य के हुन सक्थ्यो र ? एक भगवान् रूपी नायकको मातहतमा रहेर काम गर्ने अवसर प्राप्त भयो। कुनै पनि हालतमा प्रहरी बन्ने मनसाय नभएको म मान्छे जीवनमा पहिलो पटक प्रहरी हुन पाउनु सौभाग्यको कुरा रहेछ भन्दा आश्चर्य लाग्ला। कुनै पनि संस्थाको तल्लो दर्जामा जागिरी खाने मान्छे गरिबको छोरो आर्थिक अवस्था कमजोर भएको मान्छे नै हो। परिवारको आर्थिक अवस्थाको टकरावले मैले पनि चट्ट आफ्नो पढाइ छाडी प्रहरीमा जागिरी गर्न भनी भर्ना भएँ। ठीकै भयो भर्ना हुन गएकै पटक पास भए र जागिर सुरु भयो।
लामो समयको कठोर तालिमपछि पहिलो पटक जोतेर खोलेको गोरुजस्तै भएको थिएँ। पहिलो दरबन्दी नै मेरो बाजुरामा थियो। बाजुरामै उहाँसँग भेट भयो। उहाँले मलाई कुन दिनदेखि चिन्नुभयो, त्यो मलाई थाहा छैन। मैले भने उहाँलाई सरुवा भएर आएकै दिन चिनेको हुँ। अँ २०७६ पुस मसान्तको दिन। मेरो जीवनको मोहडा परिवर्तन भएको दिन। सोही दिन रोलकलको कुरा हो। रोलकलमा उहाँले केही सर्तहरू राख्नुभयो। उक्त सर्तहरू पूरा गर्न सक्ने व्यक्ति चाहियो भन्नुभयो।
रोलकलमा सामेल भएका केही जुनियर प्रहरी अधिकृतले मेरो नाम लिनुभयो। मलाई उहाँले आफ्नो कार्यकक्षमा बोलाउनुभयो। मनमा डरको पहाड बोकेर खुट्टा कमाउँदै म उहाँको कार्यकक्ष पुगे। केही भन्न नसके पनि मेरो मनभरि डरले पानीका फोकाझैं फोकाहरू उठिरहेका थिए । कार्यकक्षमा पुगेर सलाम गरें। उहाँले भन्नुभयो – सलाम जतिबेला नि गरिरहनु पर्दैन। जो हाकिम भए पनि सलाम भनेको दिनमा एकपटक गर्ने हो।
हाकिमको अगाडि उभिएको हुनाले मेरो छाती खुम्चिएको थियो । उहाँले रातो अनुहार लगाउँदै भन्नुभयो – छाती खुम्च्याएर हैन, खोलेर हिँड्नुपर्छ । मैले भुईमा हेरिरहेको थिए फेरि उहाँ बोल्नुभयो– भुईमा हैन आँखामा आँखा जुधाएर बोल । यतिबेलासम्म म कुनै पनि हाकिमको अगाडि यसरी उभिएको थिएन र मलाई मेरा कुनै पनि हाकिमले तिमीसम्म भनेर पनि मलाई बोलाएका थिएनन्। बोलाएका थिए त खालि भनेर। तर पहिलो पटक हाकिमले तिमी भनेर बोलाउनुभयो । मेरो होस उड्यो । मलाई के भयो थाहा थिएन । एकाएक घुमेजस्तो लाग्यो । म सोचिरहेको थिएँ। फेरि हाकिमले सोध्नुभयो –के सोचेर बसेको ?
जवाफमा भने– केही हैन सर।
फेरि सोध्नुभयो – खाना खायौ ?
जवाफमा भने खाए सर। साँझ ५ः३० भएको थियो। खाना खाएको थिएन तैपनि पुलिसको जागिर खाएको छैन भन्न पनि नमिल्ने । उहाँले भन्नुभयो – ल त्यसो भए ठिक छ। काम गर्न त सक्छौ नि तिमी ?
जवाफमा भने सर सक्छु । पुलिसको जागिरी हो साथी सक्दिनँ भन्न पनि मिल्दैन। मनमा ठुलो डर थियो। काम गर्दा कतै बिग्रिइहाल्यो भने हाकिमले के भन्लान् भनेर ? तैपनि मनलाई बाँधे र काम गर्ने प्रयास गरिरहे। आजको भन्दा भोलि, भोलिको भन्दा पर्सि राम्रो गर्दै गएँ । म प्रत्येक दिन स्यावासीको पात्र बनिरहें।
म स्यावासीको पात्र बनिरहँदा मेरा सहकर्मीलाई गाह्रो हुँदो रहेछ। पुलिसको जागिरी त्यस्तै हो लाग्यो । कुरा मात्र काट्छन लाग्न थालिसकेको थियो। मनलाई जसोतसो बाँधेर काम गर्नु परिरहेको थियो ।तैपनि म खुसी नै थिएँ। भित्र जे जसो भए पनि बाहिरी समाजको हेर्ने नजरमा भने हामी ठुला मानिस थियौ । अर्थात् बुझेका मानिस।
तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकाले मैले हाकिमको स्यावासी पाउनु स्वाभाविक लाग्थ्यो तर सहकर्मीहरूले दिन प्रतिदिन कुरा झन् – झन् काट्न थालिसकेका थिए। म यी कुराहरूले मलाई कुनै असर नपरोस् भनेर योगध्यान गर्न थालिसकेको थिएँ । हुँदाहुँदा मलाई आर्यघाटतिर गएर बस्न मन हुन थालिसकेको थियो। जागिर छोडौं –छोडाैँ लागिरहेको थियो तर पनि तिनै हाकिमको काम गर्ने तरीकाले मलाई जागिरतर्फ लोभ्याइरह्यो।
हुन पनि प्रहरीको छवि पहिलोभन्दा धेरै राम्रो भएको थियो त्यो जिल्लामा। सबैले सम्मान गर्न थालिसकेका थिए। कोही प्रहरी कर्मचारी बजार गए भने पनि नागरिकले फलानो हाकिम आयो । जाँडरक्सी नखानुस् भन्थे। हुँदाहुँदा बजार शान्त बन्दै गयो। शहर हुँदै गाउँसम्म सबै ठाउँमा प्रहरीको प्रभाव पर्दै गयो। हरेक दिन जनचेतनामुलक कुराहरू मैले पनि रेडियोबाट बोलिरहे।
गाउँमा जाँदा हाकिमलाई हाम्रो भगवान् आयो भनेर धेरैजसोले फूलमाला लगाई खादा ओढाएर सम्मान गरिरहेका थिए। ती हाकिमले अरू त्यस्तो त कुनै काम गरेका होइनन् , उनले गरेका हुन त खालि कानुनको कार्यान्वयन र त्रुटिरहित ढङ्गले आफ्नो कार्य सम्पादन। कोहीकोही मान्छे आफ्नो कार्य मात्र गर्दा पनि यसरी भगवान् को रूपमा पुग्ने गर्दछन्। उहाँ स्वयंम प्रत्येक गाउँगाउँमा पुग्नुहुन्थ्यो । बाजुरा जिल्लाका सबै भेगमा पुगेका उहाँ बाजुरा जिल्लामा पुगेपछि नै पहिलो पटक अम्लिस गाउँमा २०७६ पुस ४ गते प्रहरी पुग्यो रे। गाउँलेले पहिलो पटक देखेछन् प्रहरी। प्रहरी देख्दा कोही खुसी भए त कोही डराएर भागे पनि।
उहाँ गाउँमा मात्र पुगेनन्। उहाँ भ्रष्टहरूलाई कारवाही गर्नदेखि कानुन कार्यान्वयन गर्नसम्म हरपल लागिरहे। जाँड खाएर तास खेल्दै गरेको अवस्थामा उहाँले वडाध्यक्षलाई पटक–पटक हत्कडी लगाउनुभयो। जाँड खाएरै सार्वजनिकस्थलमा हिँडेको र होहल्ला गरेको भनी नगरपालिका प्रमुखलाई उहाँले चेतावनी दिई छोड्नुभएको थियो। यति मात्र होइन, सुदूर पश्चिममा जरा गाडेर बसेको छाउपडी प्रथाको अन्त्य गर्न उहाँले बाजुरा जिल्लामै करिब सात सयभन्दा बढी छाउपडी गोठ भत्काउन लगाउनुभयो। भत्काउने कामको सुरुवात उहाँले नै गर्नुभएको थियो।
सोही वर्ष पुस २४ गते राति बुढीनन्दा नगरपालिका वडा नं. १ को अंगुवापानीको भूगेचौरमा एक छाउगोठमा आगोले निसासिएर एक महिला र निज महिलाका दुई बालकको मृत्यु भएको थियो। यही घटनाबाट प्रभावित भई अब कसैले पनि यसरी ज्यान गुमाउने अवस्था नआओस् भनी छाउगोठ भत्काउने अभियानको सुरुवात गर्नुभएको थियो। उहाँले सुरुवात गरेको अभियानबाट प्रभावित भई २०७७/७८ सालमा अन्य सुदूरका सबै जिल्लामा छाउगोठ भत्काउने अभियान चल्यो। उहाँले २०७६ मै गाँजा र भाङ फँडानी अभियानको पनि सुरुवात गर्नुभयो जसको सिको आज देशभर चलिरहेकै छ।
प्रहरी हिरो हो । प्रहरीको हिरोको झैं हिरो एक्सन हुनुपर्छ भन्ने उहाँको भावनाले मलाई सकली पुलिस बनाइछाड्यो । म मात्र हैन मजस्तै तल्लो तहका थुप्रै कर्मचारीले उहाँलाई हरपल सम्झिरहन्छौ । उहाँको प्रत्येक शब्दबाट कवितालाई आकार दिने सुरुवात गरेको म आज कवितासँगै कथा समेत लेख्ने भइसकेको छु । उहाँ को हो ? उहाँ के हो ? उहाँको हैसियत के छ ? उहाँको क्षमता के हो ? उहाँमा बौद्धिकता कति छ ? यी कुराहरूत मलाई केही पनि थाहा छैन तर उहाँमा भएको भावना र उहाँको नामले मात्र म उहाँलाई चिन्दछु ।
राम्रो मान्छेलाई चिन्न धेरै कुरा नचाहिँदो रहेछ । राम्रो मान्छेलाई चिन्न निज मान्छेको नाम र भावना चिने पुग्दो रहेछ । यत्रो वर्षसम्म आमाबाले हुर्काउनुभयो बढाउनुभयो । आमाबाबाट आशीर्वाद लिएर टाढा जाँदा कहिल्यै रोइन, रोएँ भने पनि क्षणिक रूपमा रोएँ तर ती हाकिम सरुवा हुँदा मेरो मनमा पुगेको चोटले म आजसम्म रोइरहेको छु। जबजब उहाँको नाम लिन्छु तबतब मेरो छाती चौडा भएर आउँछ। मेरो मात्र हैन मजस्तै तल्लो दर्जामा बसेर काम गरिरहेका धेरैको छाती उहाँको नामसँगै जोडिएको छ। टकटकटक नायक हिँडेजस्तै उहाँको हिँडाइ। जतिसुकै ठुलो मान्छेसँग भेट भए पनि पहाडजस्तै छाती खोलेर आँखामा आँखा जुधाई बोल्ने उहाँको बोलाइ। बाहिरबाट कुनै पनि मानिसले प्रहरी कर्मचारीलाई हेप्दा पिल्लरझैं उभिई आफ्नो कर्मचारीलाई ओत दिने उहाँको साहसीपन। भित्रभित्रै कुनै सदस्यले उफ्रिन खोजे उसको टाउको ठोकेर ठिक ठाउँमा राख्न सक्ने उहाँको खुबीपन । यी सबै सम्झिदा त उहाँ पो प्रहरी, अरू त के प्रहरी ?
प्रत्येक शुक्रबार उहाँले गर्ने सांस्कृतिक कार्यक्रम । उहाँको नचाइ। यी कुराहरू त मेरो जीवनमा यादगार बनेर रहे। विरलै हुन्छ होला यस्ता मान्छेहरू । विरलै भेटिन्छन् होला प्रहरीमा यस्ता हाकिमहरू। जो हाकिम जीवनभर यादगार बनेर बस्दछन्। प्रहरीका लागि मात्र होइनन् नागरिकका लागि पनि यादगार हुन्छन् यस्ता हाकिमहरू।
एक पाटीको जिल्ला कमिटी अध्यक्षले प्रहरीलाई यसरी चलाउनुस् भन्दा प्रहरीलाई कसरी चलाउनुपर्छ त्योबारे मैले तालिम लिएको छु । तपाईँले मलाई सिकाउन जरूरी छैन, सिकाउनु नै हुन्छ भने सभ्य समाजको निर्माण गर्ने हाम्रो अभियानलाई सफल पार्न सबै दाजुभाइलाई प्रहरीलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुस्। गाउँगाउँमा गएर झैझगडा नगर्ने, जाँडरक्सी नखाने र जुवातास नखेल्नुपर्ने कुराहरू सिकाउनुस्। उहाँले ती अध्यक्षलाई दिएको यो जवाफले मेरो छातीको सगरमाथाले दुई इन्च आफ्नो उचाइ बढायो। अँ ! एकदिनको कुरा हो जिल्लाभरिमा रक्सी खाई होहल्ला गर्ने डेढ सय जना जति पक्राउ परेका थिए। एकजना मन्त्रीको मान्छे पनि पक्राउ परेछन् । मन्त्रीले फोन गरेर भन्नुभयो –फलानो मेरो मान्छे हो। उहाँलाई पक्राउ नगर्नुपर्ने, गरिहाल्नुभएछ उहाँलाई छोडिदिनुस् । हाकिमले भन्नुभयो – मिल्दैन।
२४ घण्टापछि जिल्ला प्रशासन कार्यालयमा उहाँले गरेको कसुर सहित हामी पेश गर्नेछौ। त्यहीँबाट छुट्नु हुनेछ। मन्त्रीले फेरि भने – म मन्त्री बोल्दैछु । मैले भनेपछि त छोडिदिनुस्। हाकिमले भन्नुभयो –मन्त्रीले भन्यो भन्दैमा छोड्नुपर्छ भन्ने कुन कानुनमा लेखिएको छ र ? मन्त्रीज्यू , तपाईँ आफ्नो पदीय मर्यादा कायम राख्नुहोला । हैन भने राष्ट्रसेवकलाई कामकारवाही गर्नमा बाधा गरेको अभियोग तपाईँलाई पनि पक्राउ गरी कारबाही प्रक्रियामा जान नपरोस्। मेरो हाकिमको यो जवाफले मन्त्रीको छातीमा छर्राहरू त बर्सिए होलान नै। मेरो हाकिमका यी कुराहरू सुनेर मेरो छातीभित्र राष्ट्रियताको झण्डा फहराइरहेको थियो र मेरो जीउ दुई इन्च बढेको महसुस भएको थियो।
यी त एकदुईवटा उदाहरण मात्र हुन्, यस्ता धेरै कुराहरू उहाँले भोगेको मैले नै देखेको छु । मैले भेटेको एक अधिकृत उहाँ नै हो जसले दर्जागत क्रमभन्दा व्यक्तिको क्षमता हेरी कार्य विभाजन गर्नुहुन्छ आफ्नो मातहतको कर्मचारीको । मैले भेटेको एक अधिकृत उहाँ नै हो जसले प्रहरीका लागि चाहे मन्त्री होस् , चाहे सर्वसाधारण नागरिक दुवै बराबर हो भनेर भनेको । उहाँ नै हो मैले भेटेको एक अधिकृत जसले मलाई हिँड्न सिकाएको छ।
प्रकाशित: २६ असार २०७८ ०६:२८ शनिबार