कला

सक्कली माया

लघुकथा

खगेन्द्र बस्याल  

 

 दैलातुङ फाँटमा वृद्ध बुढाबुढी गफिदै थिए। बुढाले भने,‘भोलि मेरो जन्म उत्सव, अरू छोराछोरीले के उपहार ल्याइदिऊँ भनेर फोन गरे तर मलाई सबैभन्दा बढी माया गर्ने काइलाले भने – बा म आउँदै छु  मात्र भन्यो तर के ल्याइदिऊँ केही भनेन।  

जवाफमा उनले भनिन् ‘यो बुढेसकालमा पनि तपाईंलाइ केके चाहिएको हो !  ऊ आए त त्यही नै लाख बराबर  भयो नि हामीलाई ,होइन र ।  

उनले भने – त्यो त हो।

भोलिपल्ट बेलुकी  छोराछोरी  खुशी हुँदै जम्मा भए । केक काटेर निकै  खुशी साथ आफ्ना बाको जन्मोत्सव मनाए। अरूले सजिएको प्याकेटमा केके राखेर उपहार दिए। दोसल्ला ओढाएर फोटो पनि खिचे तर काइलाले बाआमालाई ढोगेर हातमा मात्रै फूलको गुच्छा राखिदियो । त्यो दृश्य कसैले पनि फोटोमा कैद गरेनन् । त्यो देखिरहेका अरू सबैले ओठ   चेप्प्र्याए तर केही बोलेनन्।

राति बुढाले बुढीलाई अलि ठूलो स्वरमा भने, ‘ काइलाले मलाई मनपर्ने र दैनिक खाँचो पर्ने चीजहरू सुटुक्क ल्याएर पहिल्यै दियो।  सबैभन्दा बढी मूल्यवान् चिज पनि उसकै देखियो  तर अरू दाजुभाइ र दिदीबहिनीसामु देखाएर  र फोटो खिचेर भने दिएन । के गरेको होला यो ! 

बुढाको कुरा सुनेर उनीले भनिन् ,‘ देख्यौ बुढा, सक्कली माया सोधेर  र देखाएर होइन लुकाएर गरिन्छ।’

प्रकाशित: २६ असार २०७८ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App