कला

मन र दृष्य

वर्षा याममा भएको मेरो जन्म त्यसैले पनि होला मलाई यो याम एकदमै मन पर्छ। झमझम पानी परेर रहेपछिको त्यो मौसम खुलेको आकाश फिँजारिएर डाँडामाथि  दौडिँदै गरेको कुहिरो यिनीहरूसँग मेरो निकै नै गहिरो प्रेम बसेको छ। पानीका थोपाहरूले मलाई स्पर्श गरेर तप्पतप्त धर्तीमा विलीन भैरहँदा लाग्छ, यिनीहरू मलाई फेरि एकपटक बिउँझाउन आएका हुन्, लाखौँ कोसिसका बावजुद सम्हालिएको मेरो मनलाई तितरबितर बनाउन आएका हुन्। 

सानो छँदा पानी परेर बाटोभरि भल बग्दा त्यही भलमा लडीबुडी गर्दै  बग्न रमाउने म बाबाले किनिदिनुभएको नयाँ चप्पल बगाउँदा समेत गाली खाने डरको परवाह नगरीकनै घण्टौँसम्म फोहोर पानीमा चिप्लेटी खेल्ने म झनै आज त न कसैको डर न त्रास बेपरवाह घण्टौँसम्म भिजिरहन मन लाग्छ। त्यसैले पनि होला, अचेल मलाई मुस्कुराउन खासै अरूको सहाराको जरुरी पर्दैन। यही मौसम एउटा रुखको छहारी एकान्तपन अनि कफीको चुस्कीसंगै हातमा एउटा कलम र डायरी भए पुग्छ। म डायरीका ती खाली पानाहरूमा नितान्त बगिरहन्छु।

भोलि बिहान छिटै उठ्ने निधो गरेर बेलुकै मोबाइलमा अर्लाम सेट गरेर सुतेको थिएँ। मनमा अनेक किसिमका कुराहरू खेल्दाखेल्दै निदाएछु।भोलिपल्ट बिहानै अर्लामको घण्टीसंगै बिउँझिएँ। त्यसै पनि एक पटक बज्दैमा उठिहाल्ने बानी थिएन। दुईतीन पटक अर्लामको घण्टी बजिसकेपछि उठेँ। यसो घडी हेरेको त पौने पाँच भैसकेको रहेछ। हिजो सुत्ने बेला गरेको निर्णयलाई  सजिलै पूरा गर्छु भनेर उठ्नासाथ बाथरुम छिरेँ। बिहानीको नित्यकर्म सकिनासाथ १ गिलास पानी पिएर मनिङवाकतिर लागेँ। 

म प्राय एक्लै हिँड्न नै रुचाउँथे। मेरो गन्तव्य भनेको घरबाट निक्लेपछि गुह्येश्वरीका सिँढीहरू पार गर्दै पशुपतिनाथलाई  एकफन्को लगाएर घर र्फकने थियो। त्यसै पनि एक फन्को मारेर गौरीघाट पुगिसकेपछि मात्रै मन हलुका अनि चङगा हुन्थ्यो। बिहानीको समय भएकाले बाटो खासै भिडभाड थिएन। बाँदरको समुहले एक जोडी लेडिजलाई आक्रमण गर्न खोज्दै थियो पछाडिबाट जाँदै गरेका एउटा पुरुषको हातका लौरो देखेर थोरै हच्किन्छ अनि आफ्नै बाटो लाग्छ। गुह्येश्वरी मन्दिर दर्शन गरेर उकालो पार गर्दै किरातेश्वर पुगेर एकैछिन रोकिएँ। त्यसै पनि हिँडाइको गति एकदमै तेज नै थियो।

एकैछिन विश्राम लिएपछि पाइला बढाउँदै पशुपतिनाथतिर झर्ने ४ सिँढी ओर्लिएको मात्रै थिएँ। ह्वास्स नाकमा कस्तो नमीठो गन्ध आयो। मलाई त्यो गन्ध पहिल्याउन खासै गारो परेन त्यो मान्छे पोलेको गन्ध थियो। नजिकैको आर्यघाटबाट फैलिएको धुँवाले नजिकैको वातावरण एकदमै धुवाँ मग्न बनेको थियो। बिहानीको समय अनि सिमसिमे पानीमा आर्यघाटमा जलिरहेको लास देख्ना साथ मेरो मन अमिलो भएर आयो। ब्रम्हनाल भन्दा पारीपट्टि साझाँ आरति गर्नै ठाउँबाट एकैछिन नियालेँ। 

एउटा भर्खरको केटा हेर्दा लाग्थ्यो, ऊ मात्रै २२÷२३ वर्षको छ तर यो झरीमा एकनासले ऊ लाशमाथि घरी दाउरा त घरी  घिउतेल थपिरहन्थ्यो। अनि बेलाबेला एउटा बाँसले त्यो लाशलाई घोचिरहन्थ्यो। त्यो देख्दा निकै नै नरमाइलो लागेर आयो। आखिर जीवन भन्नु पनि केनै रैछ र दुई भारी दाउरा ४ पाकेट तेल र दुई मुठा परालको आगोमा दन्केर खरानी हुने नै त रैछ।

एकैछिन आफ्नो नजर लाशबाट हटाएर उर्लिएर आएको बाग्मती नदीतिर हेरिरहेँ। आखिरी मरीलानु के नै छ र तैपनि मान्छेमा यत्रो घमण्ड किन होला। जिन्दगीको असलियत  खुसी त आफ्नो तरिकाले लिने त हो। नत्र आर्यघाटमा लाश जलाएर पैसा कमाउने रहर कसलाई हुन्छ र तर थोरै मान्छेले मात्रै अरुको पीडा बुझ्छन् बाँकी त सबै मान्छे कहानी सुन्न नै मनपराउँछन्। 

कोही आफन्त गुमाएर रोइरहन्छन् त्यही आर्यघाटमा त कोही आज किन कोही मरेन भरे म कसरी छाक टारूँ भनेर घोत्लिइरहन्छन्। भगवानको इन्साफ पनि खै कस्तोकस्तो। टोलाइरहँदा पारिपट्टि र्फकेर हात जोडी भगवान् संग बिन्ती बिसाएँ हे, भगवान् मेरो औकातभन्दा बढी मलाई केही पनि नदेऊ जरत भन्दा बढी उज्यालोले पनि मानिसलाई अन्धो बनाउने रैछ।

त्यत्तिकैमा एकदमै ठूलो दर्के पानी परयो। दन्किरहेको लाशको आगोलाई एकैछिनमै शान्त बनाइदियो। त्यो लाश जलिसकेको थिएन म घण्टौँदेखि त्यहीँ बसेर नियालिरहेको थिएँ। बिचरा त्यस युवकले फेरि आगो बाल्ने प्रयत्न गर्दै थियो। मेरो मन यति धेरै भारी भैसकेको थियो आँखाबाट आँशुका ढिकाहरूले आफ्नो ठाउँ छोडेर बाटो लागिसकेका थिएँ।  नजिकै  उभिइरहेका दुई मानिस कुरा गर्दै थिए– कस्तो पापी रहेछ ! मरेर जल्ने बेला समेत राम्ररी जलेन।

म्रिसकेको मान्छेलाई त नराम्रो भन्न नछाड्ने मान्छेहरू झनै बाँञ्चुन्जेल त उनीहरूको नजरमा कसरी राम्रो बन्न सकिन्थ्यो होला र ? सुनको करोडौँ मुद्रा दिए पनि जीवनको एक क्षण किन्न पाइँदैन त्यसैले बाँचुञ्जेल  हाँसीखुसी बाँच्नु नै सबैभन्दा ठूलो कुरा रैछ।

घडीमा ७ बजिसकेको रहेछ। मनमनै सोचे – ला हतार भयो। मन भारी लिएर घरतिर हिँडेँ।

प्रकाशित: २५ असार २०७८ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App