देवेन्द्र अर्याल ‘आँसु’
‘बाह ! क्या राम्रो समाचार तयार पार्नुभयो समरजी, तपाईको रिर्पोटिङ शैली त मान्नै पर्छ।’ उनको सबैले एवम् रितले तारिफ गर्दथे।
‘दिनदहाडै ग्राहक ठग्ने ? कालो बजारी गर्ने ? अखाद्य बस्तु उत्पादन गरेर बेचबिखन गर्ने ? यस्तालाई धुलो चटाउने खोजमूलक सामग्री तयार पार्नु भएकोमा तपाईलाई धन्यवाद छ’ प्रधानसम्पादकले सम्पादक समरलाई धन्यवाद दिँदै भने।
‘यस्तै लेख्नुभयो भने हाम्रो पत्रिकाको पाठक सङ्ख्या पनि बढ्छन्। प्रमाणसहित लेखिएको यो समाचार पढेपछि थाहा पाउँछन् आफूलाई एकसे एक पत्रकारिताको मसिहा ठान्ने पत्रकार र पत्रिकाले। समाचार भनेको कस्तो हुनुपर्छ अब थाहा पाउँछन् ?’
प्रधानसम्पादकको सम्मान र प्रशंसा बोकेर उनी घर फर्किए। प्रधानसम्पादकबाट प्रशंसा पाउँदा उनलाई ‘के खोज्छस् कानो आँखो’ भनेजस्तै भयो। उनको मनमा खुसीको हर्ष नै रहेन।
भोलिपल्ट अखबार बजारमा मात्र आएन, उनको घरमा पनि आइपुग्यो। चियाको चुस्की लगाउँदै उनले आफ्नो विषयको समाचार पत्रिकामा खोजे त्यहाँ समाचारको सट्टामा त्यस कम्पनीको उत्पादनको आधा पृष्ठको रङ्गीन विज्ञापन पो छापिएको थियो।
उनलाई यो के कारणले यस्तो भयो ? थाहा भएन। कारण जान्न उनले सम्पादकलाई फोन गरे, उठेन। खाना खाएर जाऊँ कि नजाऊँ भई घरै बसेका बेला प्रधानसम्पादकको फोन आयो तब उनी पत्रिका कार्यालय अबेर गरी पुगे।
– हेर्नुहोस् समरजी, पत्रिका चलाउनु नै परयो । विज्ञापन आएन भने पत्रिका कसरी चल्छ ? तलब पु¥याउनै पर्छ । खर्च ज्यादा छ त्यो तपाईलाई थाहा नै छ । त्यसैले त्यो समाचार होल्ड गरेर विज्ञापन छापेको हो। त्यो समाचार राम्रो छ पछिपछि छापौँला। प्रधानसम्पादकको स्पष्ट उक्ति सुनेपछि उनी गह्रौँ मन लिएर घर फर्किए।
उनी कार्यरत रहँदा पनि धेरै दिनसम्म त्यो समाचार त्यस पत्रिकामा छापिएन। केही समयपछि उनले त्यो पत्रिकाको जागिर छोडेर अन्यत्र गए तर पनि त्यो छापिएन।
उनको समाचार कहिल्यै समाचार बन्न सकेन। त्यही समाचार बन्न नसकेको समाचार देखाएर कम्पनीका मालिकसँग प्रधानसम्पादक र प्रकाशकले वर्षभरिका लागि विज्ञापन खर्च र अझ दह्रो रकम पनि हात पारेका रहेछन्।
प्रकाशित: २३ असार २०७८ ०३:५३ बुधबार