कला

कृतघ्न

लघुकथा

लक्ष्मण अर्याल 

 

एउटा मान्छे थियो। मान्छेकी एउटी दयालु आमा थिइन्। दयालु किन हो भने आमाले त्यो मान्छेलाई जन्माइन्, स्तनपान गराइन् र अझ विशेष कुरा हुर्काइन् । सानामा आफ्नो शरीरका छातामा ओत पनि लगाइन्।

घर अगाडिको रुखमा चराको गुँड थियो। चराको कथा पनि मान्छेको कथाजस्तै दुरुस्त थियो । अन्डा पार्नु, कोरल्नु, आहारा खुवाउनु, हुर्काउनु कथा समान थिए। सायद आमाको सृष्टिको प्रयोजन एकै हो। पशु होस् या पन्छी या चेतनधर्मी मान्छे, आमाको अर्थ समान थियो – मातृत्वको समभाव।

मान्छेको बच्चो हुर्कियो र चराको बच्चाको पनि पखेटा लाग्यो। तिनीहरूका टाउकामाथि आआफ्नै आकाश तयार भयो । दुवै आआफ्नै आकाशमा उडे।

चराकी आमा एक्ली भई । बच्चो उडेको उड्यै भयो आकाशमा।

तर मान्छे त चेतनशील प्राणी हो । यसैले उसको बच्चो चराको बच्चोजस्तै कृतघ्न भएन । एक दिन मान्छेको बच्चो आएर आमालाई भन्यो – ‘आमा, तिमी बुढी भयौ तिमीलाई तिम्रो जन्म दिनमा एउटा उपहार दिन्छु नाइँ नभन ल।’  

आमा औधी खुसी हुँदै थिइन् । घर अगाडिको रुखको चराले सोच्यो – आहा, मान्छे हुन पाएको भए । त्यहीबेला तिनीहरू आए र आमालाई सुविधासम्पन्न वृद्धाश्रमतिर लिएर गए। जाँदाजाँदै आमाले घर अगाडिको रुखमा बसेको चरालाई हेरिन् र सोचिन् – आहा, बरु चरा हुन पाएको भए।

प्रकाशित: १६ असार २०७८ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App