कला

सुनकै चिता भए पनि डढ्नुपर्छ दाउरामै

कविता

राधा रमा

 

संसारमा धन हुनेहरू खुशी छैनन्  

ज्ञान हुने ,विद्वानहरू पनि ,खुशी छैनन्  

न त जन्मदै ऐसआराम पाउने खुशी छन्  

न त बलिया शरीर हुनेहरू खुशी छन्  

पति –पत्नी एक आपसमा खुशी छैनन्  

न सन्तान बाबुआमादेखि खुशी छन्  

न बाबुआमा सन्तानबाट  

कुनै पनि मान्छे , केही न केही कुराको ,

असन्तुष्टि पालेर बसेको छ  

कसैले यही असन्तुष्टिलाई  

माध्यम बनाएर,  

संसारमा विकास गरेका छन्  

कोही बिनालक्ष्य, अन्धाधुन्ध निरन्तर चलेका छन्  

तर जति ,जहाँसुकै , जसरी, चले पनि

एउटा निश्चित बिन्दु , ध्रुवसत्य मृत्यु नै हो  

जुन हामीले जन्मिदै लिएर आएका छौं  

थाहा छ मृत्यु हाम्रो अन्तिम बिन्दु हो

अन्तिम गन्तव्य हो  

तर मानिसको बानी हुन्छ  

समयभन्दा अगाडि दौड्न खोज्ने  

आत्मदाह गर्ने, इच्छा मृत्युुको रहर गर्ने,

आफूले आफूलाई नै छिन्नभिन्न पार्ने  

अरूले भनेका शब्द बिझ्ने  

तर आफूले भनेका शब्द थाहा नपाउने  

आफ्नो गल्ती नदेख्नु र  

अरूलाई मात्र दोष दिने  

समयलाई बुझ्न नसक्ने  

समयसँग दौडिन नसक्ने  

समयको सदुपयोग गर्न नसक्ने  

धनको निगरानी गर्दागर्दै निद उडेको पत्तै हुँदैन !

भोक लागेको बेला खाना हुँदैन  

खाना घरमा हुँदा खानु हुँदैन  

समस्या हुँदा समाधानको चिन्ता  

अब समस्या छैन, अरूकै चिन्ता

एउटा गरीब मजदुर  

दिनभरि काम गरेर थकित  

पेटभरि खाएर  

मस्त निन्द्रा सुत्न सक्छ  

उसले खाली भोको पेटका लागि काम गर्छ  

तर,  

एउटा धनी मान्छे  

एउटा रोटी खाएर  

रातभरि बिनानिन्द्रा चिन्तामा डुब्छ  

अनि गोलीको सहाराले निदाउँछ  

तर पनि अरूका लागि  

कुनै सकारात्मक कुरा सोच्न सक्तैन  

चिन्ता छ त धनको छ  

कतै सकिएला  

आगो लाग्ला  

चोरी होला  

बस् !  

पण्डितले व्यासासनमा बसेर  

धर्मको कुराले डर देखाउँछ  

व्यापारीले  विज्ञापन देखाएर  

बिग्रेको सामान बेच्छ !  

सबैको आआफ्नो स्वार्थ छ !  

चोरले बन्दुक देखाएर चोरी गर्छ  

पन्डितले पाप र नर्कको त्रास  देखाएर गोजी भर्छ  

हरेकको आआफ्नो तरिका छ  

पैसा कमाउने  

तर जीवनयापनभन्दा अधिक धन सञ्चय गरेर  

आफैंलाई भोक , रोग , निद्रा , र तनावको शिकार बनाउँछ मान्छे  

सुनकै चिता भए पनि डढ्नुपर्छ दाउरामै  

हुनुपर्छ खरानी नै  

बरु गतिलो काम गरे इतिहासमा नाम लेखिन्छ  

स्वर्ण अक्षरले  

दुखीको सेवा गर्दा मिलेको आनन्द  

एक छाक खाएर अघाएको पेट  

झुपडीमा सुत्दा पाउने निन्द्रा  

अहो !  

दुखीको आँगनमा खेलेको

 निश्छल , अबोध , मासुम फूलका कोपिला र अँध्यारोमा  बलेको एउटा टुकीको प्रकाश  !  

मिठो निद  

निदरीमा देखेको सपना  

नुन खोर्सानीसँग खाएको खाना !  

ढुस्स अघाएको पेट  

एकसरो वस्त्र  

दिनभरिको कर्म  

सांँझमा परिवारसँगको  

हँसिलो एकता  

आखिर जिउनका लागि यति काफी छैन र ?

प्रकाशित: १६ असार २०७८ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App