कला

व्रत

उखरमाउलो गर्मी थियो। घमौरा ननिस्केको जिउ कसैको थिएन। घाममा एकछिन कोही बाहिर निस्किन सक्दैनथे। पोखरीको दक्षिणबरिया डिलमा कदमको रूख थियो। रूखको छहारीमा जस्तो गर्मीमा पनि शीतल हुन्थ्यो।  

घमौरा र गर्मीको रापबाट बच्न म कुसुमपोखरीको डिलमा कदमको रूखमुनि उम्रेका घाँसमा बसिरहेकी थिएँ। मेरा केही पुराना याद जोडिएकाले म त्यस रूखमुनि बस्न मन पराउँथे। नांगा ठिटाठिटी पोखरीमा नुहाइरहेका थिए। छहारीमुनिका घाँस ज्यादै लोभलाग्दा थिए।  

नुहाइरहेका बालकलाई हेरेँ। उनीहरू कति निस्वार्थ मन बोकेर नांगै नुहाइरहेका थिए– न दुनियाँको वास्ता, न त संकोच।  

अचम्मको कुरा त यो थियो, कदमको रूखको फेदमा लजौनी (लज्जावती) झार उम्रेको थियो। भिठ (बलौटे) खेतमा, कासको बगानमा भदौ–असोज महिनामा उम्रिनुपर्ने लजौनी यो गर्मी महिनामा कसरी र किन रूखको फेदमा उम्रियो ? उसलाई पनि आफ्नो समूहका साथीदेखि चित्त बुझेन होला, वा ऊ एक्लै स्वतन्त्र अनुभव गर्छ होला। अनि त एकान्त र शीतल ठाउँमा एक्लै विनाकसैको सहारा उम्रेको थियो। मलाई उसलाई छुन साह्रै मन पथ्र्यो। छोएपछि लजाएर खुम्चँदै सबै पात बन्द हुन्थ्यो। उसको टुप्पोमा गुलाबी रङको फूल फूलेको थियो। फूलहरू धेरै लोभलाग्दा थिए। छोएको एकछिनपछि पातहरूमा पुनः जीवन भरिएर आउँथ्यो। छुँदा काँडा मेरो हातमा बिझ्थ्यो, म हात जोगाएर काँडा नभएको ठाउँमा छुन्थेँ। छोएपछि ऊ मौलाउँथ्यो, निदाएजस्तो गथ्र्यो। ऊ मौलाएको देखेर म एकछिन हाँस्थेँ। हाँस्दै यो दाबी गर्दै भन्थेँ, यो ठाउँ मेरो हो। कदमको रूखमुनिको छहारी मेरो हो। यो डिलमा उम्रेको घाँस मेरो हो। म यहाँ जसरी पनि बस्न सक्छु। तिमीलाई जसरी पनि छुन सक्छु। तिम्रो बारेमा जे पनि सोच्न सक्छु। उसलाई कतिजनाले दिनदिनै कुल्चेर जान्थे। तर, उसले कहिले प्रतिक्रिया गर्दैनथ्यो, विरोध जनाउँदैनथ्यो, केवल काँडा बिझाएर दुःख दिन्थ्यो। मैले लजौनीलाई आफ्नो साथी बनाएकी थिएँ। ऊसँग छहारीमा बसेर घन्टौँ कुरा गर्थें। मलाई थकाइ पनि लाग्दैनथ्यो। मनको कुरा उसलाई सुनाउन पाउँदा मैले फुक्का अनुभव गर्थें। ठिटाहरू नुहाइरहेको पोखरीको पानी शान्त थियो। त्यो पानीलाई यो पनि थाहा हुँदैनथ्यो कि योभन्दा अगाडि पोखरीमा बूढाबूढी, वयस्क या केटाकेटीले नुहाएका थिए। वा, भैँसवार (गोठाला)हरू भैँसीलाई आहाल बसाएका थिए।  

के निसन्तान हुनुमा मेरो मात्रै कमजोरी हो ? उनको कमजोरी हुन सक्दैन ? कहिलेकाहीँ त मलाई आफ्नो मातृत्व जाँच्न मन हुन्थ्यो, कुनै परपुरुषसँग सम्बन्ध राखेर। छ्या, मेरो मनमा कस्ता पापी कुरा आउन थालेका हुन् ! म आफ्नो मनलाई रोक्न खोज्थेँ तर वेला वेला बहकिन्थ्यो।

एकजना बालक नांगै डिलबाट पोखरीमा हाम फाल्यो। पोखरीको पानी छप्लंग भयो। पोखरीको पछबरिया महार (डिल) तिर हेरेँ, जहाँ पश्चिम दक्षिण कुनामा भगवान् शिवको मन्दिर थियो। शिवलिंगमा जल चढाउन किशोरी लाम बसेका थिए, हातमा फूलडलिया (पूजा गर्ने डालो) बोकेर। मैले मन्दिरतिर हेर्दै लजौनी साथीलाई भनेँ– उता हेर, मलाई होइन। जहाँ युवतीहरू इच्छाअनुसारको वर माग्न कति आशा र विश्वासका साथ शिवलिंगलाई जल चढाउन लागेका छन्। म प्रत्येक दिन देख्छु, बिहानै बूढापाका र पसले जल चढाएर सुख र समृद्धिको कामना गर्छन्। दिउँसो बाटामा हिँड्ने बटुवाहरू सफल यात्राको कामना गरेर ढोग्दै हिँड्छन्। पोखरीबाट नुहाएर निस्किएका कतिपय युवतीका निराश आँखाले मन्दिरलाई टोलाएर हेर्छन्। व्यापारीका सुक्खा आँखा मन्दिरमा ठोकिन्छन्। मलाई घरमा बस्न मन पर्दैन। घरमा निसासिएको अनुभव हुन्छ। त्यसमाथि छाना तातेर जिउ पोल्ने गर्मी। होइन, यसमा सोच्नुपर्ने कुनै कुरा छैन। यहाँ म देख्छु, केटाकेटीहरू कति खुलेर हल्ला गर्दै नुहाइरहेका छन्। तर, अधबैँसेहरू चुपचाप नुहाइरहेका छन्। एक अर्कासँग बन्द छन्, कुरा गर्दैनन्। हतारिँदै नुहाउँछन्। कामको बोझले उनीहरू एकअर्काको हालखबर सोध्न समेत समय पाउँदैनन्। एक अर्कातिर हेर्छन्, नुहाउँछन्। आफ्नो पीडा पानीमा बिसाउन खोज्छन्। एक अर्काको अनुहारतिर हेर्दै पीडा कम भएको अनुभव गर्छन् र पानीले लतपत भिजेको लुगा बटारेर घरतिर दौडिन्छन्।  

पोखरीको डिलमा पश्चिम उत्तरतिर लहरै ठूला झांगिएका वर र पीपल छन्। मन्दिरबाट निस्केका युवती वरपीपलमा धागो बाँध्दै, चन्दन लगाउँदै जल चढाउँछन्। आफ्नो सुन्दर भविष्यको कामना गर्छन्। मैले पनि धेरैपटक त्यसै गरेकी थिएँ। निबाला व्रत बसेर असल जीवनसाथी र सुनौलो भविष्यको कामना गर्दै आशीर्वाद मागेकी थिएँ। सन्तान प्राप्त होस् भनेर दुई वर्षसम्म जुन जुन व्रत पथ्र्यो, ती सबै व्रत बसेँ। लजौनी झारलाई फेरि हल्लाउँछु। ऊ लजाएर मतिर हेर्छ। म फेरि उसलाई भन्न सुरु गर्छु– कसैसँग केही माग्न मलाई अब पटक्कै मनपर्दैन। चाहे बाआमा हुन्, चाहे भगवान्। कसैसँग केही गुनासो छैन। जो अरूसँग मानसिक वा कुनै सहयोग माग्छ, त्यो व्यक्तिलाई मैले कहिले पूर्ण देखिनँ, दरिद्र नै देखेकी छु। कहिले पनि सन्तोष भएको देखेकी छैन। आँखा चिम्लेर प्रार्थना गर्दै गरेकी युवतीलाई सोध, कस्तो दुलाहा वा पुत्र माग्यौ ? उसले स्वयं बताउन सक्दिन, किनकि उसले आँखा चिम्लिँदा अँध्यारो मात्र देखी। महादेवको प्रतिमालाई आँखामा अंकित गरेर महादेवजस्तै वर मागेँ भन्छे। ऊ आँखामा आफ्नो तागतले स्वयं प्रतिमा निर्माण गर्न सक्दिन।

आफ्नो विवाहलाई देखिसकेका मान्छेहरू अरूको विवाह हेर्न किन झुमिन्छन् ? मलाई लाग्छ, उनीहरू आफ्नो विवाहका यादहरू ताजा गर्न वा आफ्नो विवाहका अभावहरू अरूको विवाहमा देख्न चाहन्छन्। लजौनी ! तिमी आश्चर्य नमान, मैले यो सब तिमीलाई नै सुनाउँदै छु।मेरो कुरा सुन, म देख्छु जस्तोसुकै हातखुट्टा ठिहि¥याउने जाडोमा र भतभती पोल्ने गर्मीमा पनि केटीहरू नुहाउँदै मन्दिरमा जल चढाउँछन्। मैले पनि यही मन्दिरमा यही पोखरीको जल चढाउँदै वरपीपलसँग असल दुलाहा मागेकी थिएँ। समयसँगै मेरो विवाह हुने भयो। मेरो बिहे हेर्न गाउँभरिका मान्छे जम्मा भएका थिए। विवाहमा मैले दुलाहालाई तीन चक्कर लगाएँ। उनको खुट्टाको पानी पिएँ। सबैले ताली पड्काए। ती ताली पड्काउने मान्छेहरू आजभोलि कहाँ छन् ? म आज यस्तो अवस्थामा छु भनेर उनीहरूलाई ज्ञात छ ? के मलाई उनीहरूले चिन्न सक्छन् ?  

उनलाई किन देउतासरी पूजेँ ? उनको पाउको पानी खान किन मलाई घीन लागेन ? विवाहको दिन पनि निबाला व्रत बसेकी थिएँ। सानैदेखि भगवान्सँग माग्दै आएको असल दुलाहा यिनै हुन् भनेर विवाहको दिन दुलाहालाई नै भगवान् बराबर मानेकी थिएँ। तर, मेरो दुलाहा मैले सोचेजस्तो परेन।  

उनी जमिनदारका छोरा थिए, साधारण लेखपढ भएका। म ९ कक्षासम्म पढेकी, चिठी लेख्न सक्थेँ। विवाहपछि हाम्रो जीवन कृषककै रूपमा बित्दै थियो– सादा जीवन, साधारण सपना।  

बिहेको एक वर्ष नबित्दै परिवारले बच्चा कहिले जन्माउँछेस् भनेर मलाई सोध्न थाले। उनलाई कहिले सोध्दैनथे, बच्चा कहिले जन्माउँछस् भनेर। के बच्चा पाउनु मेरो मात्र जिम्मा थियो ? मेरो मात्र उत्तरदायित्व थियो ? उनलाई पनि त सोधे हुन्थ्यो नि ! मैले घर र छिमेकका मान्छेले बच्चा कहिले पाउँछेस् भनेर सोधिरहेको उनलाई बताएँ। उनले भने– अर्को वर्षसम्म पाउनुपर्छ। उनको जवाफ सुनेर म ढुक्क भएँ। त्यसपछि हामीले बच्चा जन्माउनतिर ध्यान दिन थाल्यौँ, तर गर्भ बस्दैनथ्यो। बिहेको दुई वर्ष भइसकेको थियो। गर्भ नबसेको देखेर परिवार र छिमेकीले मलाई बाँझी भन्न थाले। गर्भ नबसेकामा दोष मलाई थुपार्न थाले। एक रात मैले उनलाई भनेँ– मैले सुनेकी छु, गर्भ नबस्नुमा पुरुषको पनि कमजोरी हुन्छ। हामी दुवैले एकपटक डाक्टरलाई भेटौँ, जसको कमजोरी हो, उसको उपचार गरौँ।  

मेरो कुरा सुनेर उनले जंगिँदै भने, ‘के भनिस् ? मलाई दोष नलगा। तेरैमा कमजोरी छ। बच्चा जन्माउन नसक्ने अनि उल्टै मलाई दोष लगाउने ? म अस्पताल जान्नँ।’ उनले अस्पताल नजाने हठ कसे। मैले सासूससुरालाई पनि आफ्नो कुरा राख्दै भनेँ– बच्चा नजन्मिनुमा महिलाको मात्र दोष हुँदैन, पुरुषको पनि कमजोरी हुन सक्छ। उहाँलाई मसँग अस्पताल जान राजी गराइदिनुस्। उहाँ मेरो कुरा मान्न तयार हुनुहुन्न। मेरो कुरा सुनेर सासूले रिसाउँदै भनिन्, ‘सबै कमजोरी तेरैमा छ। मेरो छोरालाई दोष नलगा। मेरो छोरा कहीँ जाँदैन। तँ बच्चा जन्माउन सक्दिनस् भने उसले अर्को बिहे गर्छ। मलाई टोलका सबै छिमेकीले बाँझी भन्न थालेका थिए। सुन्दासुन्दा मलाई दिक्क लागिसकेको थियो। मेरो कुरा सुन्न कोही तयार थिएनन्। म के गर्न सक्थेँ र एक्लै ? मन भारी हुन्थ्यो। पोखरीको डिलमा गएर बस्थेँ। लजौनीसँग मनको व्यथा पोख्थेँ। के निसन्तान हुनुमा मेरो मात्रै कमजोरी हो ? उनको कमजोरी हुन सक्दैन ? कहिलेकाहीँ त मलाई आफ्नो मातृत्व जाँच्न मन हुन्थ्यो, कुनै परपुरुषसँग सम्बन्ध राखेर। छ्या, मेरो मनमा कस्ता पापी कुरा आउन थालेका हुन् ! म आफ्नो मनलाई रोक्न खोज्थेँ तर वेला वेला बहकिन्थ्यो।  

उनी मेरो कुरा सुन्न तयार थिएनन्। वा, आफ्नै कमजोरी स्विकार्न तयार थिएनन्। उनले ममाथि नै दोष थुपारिरहेका थिए। छिमेकीले मलाई नै बाँझी भनिरहेका थिए। सबैबाट बाँझी शब्द सुन्दा मेरो मन दुख्थ्यो, विचलित हुन्थेँ। म बाँझी हो कि होइन भनेर कसरी प्रमाणित गरौँ ?

कति गर्दा पनि उनी डाक्टरकहाँ जान तयार भएनन्। अब मसँग कुनै उपाय बाँकी थिएन। उनको अर्को बिहे गरिदिने कुरा चलिरहेको थियो। म उनीदेखि आजित भइसकेकी थिएँ। सधैँ मलाई दोष थुपार्ने उनका बाआमालाई एक दिन हिम्मतका साथ भनँे, उहाँलाई होइन मलाई अर्को बिहे गराइदिनुस्। म मात्र होइन, उहाँ पनि बाँझो हुन सक्नुहुन्छ ! यति भन्नलाई मलाई कुनै अप्ठेरो लागेन। लज्जाबोध भएन। न कुनै घृणा अनुभव भयो। मेरो कुरा सुनेर सासू कुट्न आइन् मलाई तर कुटिनन्। म खेतमा काम गर्न जाँदा काम छाडेर घन्टौँ टोलाइरहन्थेँ। ल ठीक छ, म बाँझी नै हुँला, के यसो हुनु मेरो दोष हो त ? किन परिवार र समाजले मलाई आक्षेप लगाउँछ ?  

एक दिन खेतमा छिमेकी गाउँका लहनुसँग भेट भयो। उनको खेत र मेरो खेत एकै ठाउँमा थियो। हाम्रो खेतको आली एउटै थियो। मैले उनलाई आफ्नो पीडा सुनाएँ। मेरो दुःख बुझेर उनले मप्रति सहानुभूति प्रकट गर्न थाले। खेतमा हाम्रो भेट भइरहन थाल्यो। म सधैँ उदास रहन्थेँ। उनले मेरो धेरै हेरचाह गर्न थाले। खानेकुरा र उपहारहरू ल्याइदिन थाले। मलाई खुसी राख्न उनले हरेक प्रयास गरिरहन्थे।  

उनीसँग भेट भएदेखि म पोखरीको डिलमा बस्न जान छाडेँ। लजौनीसँग कुरा गर्न छाडेँ। खेतमा लहनुलाई भेटेर सबै कुरा सुनाउँथेँ। मलाई मेरा श्रीमान्भन्दा लहनु सभ्य र समझदार लाग्न थाले। लहनुको बारेमा मेरो मनमा दिनरात सोच आउन थाल्यो। मेरो कुरा नसुन्ने र मेरो दुःख नबुझ्ने मेरा श्रीमान्लाई म बिर्सिंदै गएँ। श्रीमान्देखि घृणा मात्र लाग्न थाल्यो। बिहे गरेकामा पछुतो हुन थाल्यो। लहनुसँग मेरो आत्मीयता बढ्दै गयो। एक दिन खेतको छाप्रोमा म उनीसँगै हराएँ। त्यो सम्बन्ध अनैतिक थियो, मलाई कति पनि अनैतिक लागेन, किनकि जो दुःख बुझेर समस्याबाट मुक्त गर्छन्, ऊसँगको सम्बन्धलाई म अनैतिक ठान्दिनँ। हरेक समय साथ दिन तयार हुने लहनुबाट निस्वार्थ माया पाएको भान भयो मलाई।  

एक महिनापछि मेरो पेटमा गर्भ रहेको खबर घर र छिमेकमा फैलियो। उनी पनि खुसी भए। गर्भ कसरी रह्यो भनेर कसैले सोधेन। परिवारमा सबै खुसी थिए। तर म खुसी थिइनँ। लहनुको गर्भलाई आफ्नै श्रीमान्को हो भनेर झूटो बोल्ने सामथ्र्य ममा थिएन। मेरै टोलमा लहनुका मीतबाको घर थियो। उनी मीतबाको घर चाडपर्वमा आइरहन्थे। मेरा टोलका मान्छेले उनलाई चिन्थे। गर्भवती भएको दुई महिनापछि मैले आफ्नो लुगाको पोको बोकेर घरबाट निस्किएँ। निस्कँदै गर्दा छिमेकीहरूलाई बोलाएर भनेँ– मैले शत्रुधन काकाको मीत छोरा लहनुसँग बिहे गर्दै छु। किनकि मेरो गर्भमा हुर्कंदै गरेको बच्चा मेरा श्रीमान्को होइन, लहनुको हो। मेरो कुरा सुनेर श्रीमान्ले मलाई थप्पड हान्दै भने, ‘जे पायो त्यही नबोल्। यो बच्चा मेरो हो। तँ कहीँ जान्नस्।  

म पनि उनलाई थप्पड हान्न सक्थेँ, तर उनको अवस्थाप्रति मलाई दया लाग्यो, मूर्खता देखेर माया लाग्यो, दम्भ देखेर हाँसो लाग्यो। म केही नबोली लुगाको पोको बोकेर त्यहाँबाट निस्केँ।

लहनुको घर गएँ। उनको बिहे भएको तीन महिनापछि उनकी स्वास्नी पहिलो कोरोना कहरमा बितिसकेकी थिइन्। छोराछोरी थिएनन्। उनले मलाई स्विकारे। लाग्यो, माया त सुखदुःखमा साथ दिने मान्छेसँग बस्ने रहेछ। माया पनि उसकै लाग्ने रहेछ, जसले आफूलाई धेरै हेरचाह गर्छ। विवाह एउटा सम्झौता त हो। बाध्यता र सम्झौताको जन्जिरमा जकडिएको सम्बन्धबाट मैले आफूलाई फुकाउन पाएकीमा अचाक्ली खुसी थिएँ। सुनेँ, मेरा पूर्वपतिले अर्को बिहे गरेका छन्। बच्चा नभएपछि पुनः स्वास्नीलाई नै बाँझी भनिरहेका छन्, तर सबै छिमेकी र स्वयं उनका बाआमाले उनीमा कमजोरी छ भन्ने शंकाको दृष्टिले हेरिरहेका छन्। उनलाई उपचार गराउन अस्पताल जान सुझाइरहेका छन्, तर उनी कसैको सुझाव मान्न तयार छैनन्।

प्रकाशित: ५ असार २०७८ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App