धर्म पोखरेल
जुझारु राष्ट्रको युवा म बोक्छु देश काँधमा
गरेर काम व्यस्त भै यहीँ म सुत्छु साँझमा
सुतेँ म साँझमा छिटै स्वदेश स्वप्न भैरह्यो
अनेक भाव उर्लिए नजानिँदो कथा भयो ।। (१)
म मस्त नीदमा परेँ लिएर राष्ट्र माथमा
म मात्र हैन देश नै सुतेछ पुत्र साथमा
सुतेर देख्छु स्वप्नमा लुटेछ देश मित्र भै
बढेछ धुक्धुकी निकै गढेछ सास भित्र नै ।। (२)
सुतेँ म देशमै थिएँ लुटेछ मध्यरातमा
भिसाबिनै पुगेँ म ता छिमेकमा प्रभातमा
हजार बज्रले चुटोस् हिमाल लुट्न दिन्नँ म
विषाक्त ग्यास छोड्छ ऊ छ आँट टुट्न दिन्नँ म ।। (३)
भनेर आत्तिँदै कुदेँ जताततै म दौडिएँ
जितेछ देशभक्तिले समुद्रसम्म पौडिएँ
गुहार हारमै बित्यो म छिन्नभिन्न भैसकेँ
भएर अस्तव्यस्त झन् कता फसेँ ? कता खसेँ ? ।। (४)
म फाट्टफुट्ट बर्सिएँ चुटेँछु च्याट्टचुट्ट भै
बहेछु हाट्टहुट्टमै झरेछु झाट्टझुट्ट भै
झसङ्ग हुन्छु खाटमै बिहान फेरि छ्याङ्ग भो
यथार्थ स्वप्न भैदियो मिलेछ ¥याङ्गठ्याङ्ग यो ।। (५)
इलाम पूर्वतर्फमा मिचेछ खेतका गरा
बढेर पश्चिमी दिशा घिचेछ लिम्पियाधुरा
नकोर चित्र देशको झनन्न झन्न हुन्छु म
घटेर चाउरी सक्यो बसेर मात्र रुन्छु म ।। (६)
विशाल रज्य त्यो थियो स्वतन्त्र सानु राज्य यो
बुझेछ सानु राज्यले डटेर लड्नु दुःख हो
भएछ राज्य राज्यको विशिष्ट एक एकता
घटेर अर्ध राज्य भो मधेस देश भो कता ? ।। (७)
अगाडि राष्ट्र एक हो र आज एक नै छ नि
बचेछ बल्ल सम्झिएँ बुझेन चित्त तैपनि
पस्यो छिमेक उग्र भै निशुम्भ शुम्भ झैँ छ यो
प्रमाण के दिऊँ सखे प्रमाण नै यही भयो ।। (८)
( छन्द –पञ्चचामर )
प्रकाशित: २२ जेष्ठ २०७८ १३:२७ शनिबार