राकेश सुकुपायो
२०७५ सालको एसईई नतिजामा नेपालभर जम्माजम्मी ९ सय हाराहारीमा विद्यार्थीले एप्लस ल्याए। तर २०७६ सालको एसईईमा ९ हजार विद्यार्थीको नतिजा एप्लस आयो। यो नतिजाले शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, विब्यसको इमान्दारितामा प्रश्नचिन्ह खडा भयो। त्यही उपक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ। किनकि यसवर्ष पनि गत वर्षझैं एसईईको आन्तरिक मूल्यांकन गर्ने मन्त्रिपरिषद्को निर्णय आएको छ।
यो निर्णयसँगै शिक्षकले किन आफ्नो विद्यार्थीको क्षमता नबुझेको, के विद्यार्थीको क्षमता र योग्यता नबुझ्ने शिक्षक के साँच्चिकै शिक्षक हुन् ? कि आफ्नो विद्यालयको साख जोगाउने वा विद्यालयको प्रतिष्ठाका लागि विद्यार्थीलाई बलिको बोका बनाइएको? लगायतका प्रश्न खडा भएका छन्। यसको परिणाम कुन रूपमा विस्फोट हुने आंकलन मात्र गर्न सकिन्छ । यही सम्भावनालाई केन्द्रमा राखेर भक्तपुरस्थित एक सामुदायिक विद्यालयका शिक्षकले लघुकथा लेखेका छन्।
कक्षा ११ मा भर्ना लिने क्रममा भर्ना फारमसँगै ल्याएको ग्रेडसिटतिर मेरो आँखा पुग्यो।
‘एकदम राम्रो रहेछ त ग्रेडसिट एप्लस नै आएको रहेछ ,ल फ्रीसिप पनि पाउने भो !’
विद्यार्थी अलि हडबडाउँदै ‘सर, एउटा भनौं सर ?’
मैले मुन्टो हल्लाएँ र ‘भन्नुू’ भनेँ ।
‘सर मलाई उताको स्कूलका सरहरूले बेइमान गरयो नि !’
मैले छक्क पर्दै विद्यार्थीलाई हेरें अनि सोधें। ‘किन र? यहाँ त सबै विषयमा एकदम राम्रो ग्रेड दिएकै छ।’
लामो सास तान्दै जवाफ दिए विद्यार्थीले, ‘त्यही त बेइमानी भयो नि, मैले मेरो जिन्दगीमा कहिल्यै बी प्लससम्मको ग्रेड ल्याएको छैन। तर सरहरूले यसपालि बर्बादै गर्नुभयो नि, मलाई त अब कक्षा ११ पढ्न पो डर लाग्यो सर, रिजल्ट ए प्लस छ तर मेरो क्षमता त्यति धेरै छैन।’
विद्यार्थीको जवाफमा म स्वयं आफू चै नाजवाफ भएँ।
विद्यार्थीको इमानदारिता तारिफयोग्य छ तर उसले भोग्ने तनावबारे सोचमग्न हुन पुगें। र दिल, दिमाग र मनलाई यी प्रश्नको बाणले प्रहार गर्न थाल्यो।
प्रकाशित: १९ जेष्ठ २०७८ ०९:२६ बुधबार