कला

अचानक

कविता

मिलन समीर  

 

                                   

अचानक  

अचानक आयो  

भुइँचालोजस्तै केही  

र , दिएर गयो हामी भुइँमान्छेहरूको जिन्दगीमा –  

एउटा यस्तो झड्का !

 

जसरी हल्लिन्छ – भुइँचालो आउँदा सिङ्गो धरती

त्यसैगरी हल्लाइदियो – हाम्रो मथिङ्गल !

 

अचानक आयो  

बाढीपहिरोजस्तै केही  

र , बगाएर लग्यो हाम्रो जिन्दगीका –  

सारा सपनाहरू!  

 

जसरी सिध्याएर लान्छ – बाढीपहिरोले

भेटेजतिको सबैथोक  

त्यसैगरी सिध्याइदियो –  

हाम्रो जिन्दगीको सर्वस्व !

 

अचानक आयो  

आधीबेहरीजस्तै केही  

र , मच्चाएर गयो हाम्रो जिन्दगीमा –

एउटा यस्तो अकल्पनीय  हुन्डरी !  

 

जसरी सोहोरिन्छन् –  

हुरीबतासलाई पछ्याउँदै  

पातपतिङ्गरहरू  

त्यसैगरी एकोहोर्याइदियो –  

हाम्रो मनमस्तिष्क !

 

हुरीबतास मिसिएको  

एक झोक्का हावाको आगमनसँगै

जसरी अचानक साथ छोड्छन्  

एउटा बूढो रुखको – असंख्य पातहरूले

अनि बाँकी रहन्छन्  

नाङ्गा हाँगासँगै तीखा काँडाहरू !  

 

हो , त्यसैगरी  

स्वार्थले अभिप्रेरित भएको

तिम्रो अशुभ आगमनसँगै

अचानक साथ छोडेर गए –  

सधैंसधैंका लागि हाम्रो जिन्दगीबाट –  

हाम्रा आफ्नै खुसीहरूले !  

 

त्यसपछि ,

बाँकी रह्यो हाम्रो जिन्दगीमा  

कर्णालीजस्तै लामो दुखको कथा  

कोशीजस्तै ठूलो घाउको असह्य व्यथा  

र , गण्डकीजस्तै गहिरो  दर्दनाक बीभत्स दृश्य  !

 

अचानक आयो  

जेब्राक्रसमा बत्तिएर गुड्ने  

सवारी साधनजस्तै केही  

र , घिसारेर लग्यो हाम्रो जिन्दगीलाई –

बाटो काट्दै गरेको

 पैदल यात्रुलाई जस्तै !  

जसरी किचिन्छन्  – जेब्राक्रसमा  

बाटो काट्दै गरेका पैदल यात्रुहरू

त्यसैगरी किचिएका छन् – अहिलेसम्म  

हाम्रा असंख्य जिजिविषाहरू !

यसरी

अचानक हाम्रो अगाडि आउने

त्यो अरू कोही थिएन  

बासी विचारको गह्रौं भारी बोकेर  

बकम्फुसे कुतर्क गर्दै हिंड्ने  

बासी मान्छे अर्थात्  

बालुवाटार र सिंहदरबारमा बस्ने  

विवेकहीन भ्रष्ट मान्छेहरूको जमात थियो !

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:१६ बुधबार

अक्षर