कला

चिन्टु र पिन्टु

बालकथा

ललिता ‘दोषी’

 

धेरै समय पहिलेको कुरा हो । चिन्टु कछुवा र पिन्टु खरायो एक्लाएक्लै थिए । चिन्टुको आमा हराएपछि एक्लै थियो । पिन्टुको आमा मरेपछि एक्लै थियो । एकदिन दुवैको जङ्गलमा भेट भयो । दुवैले एक अर्कालाई साथी बनाउने निर्णय गरे । त्यो दिनदेखि उनीहरू सँगै बस्न थाले । यसरी धेरै दिन बित्यो।

पिन्टु अलि डरपोक थियो । उसले चिन्टुबाट  आफ्नो सुरक्षा हुँदैन भन्ने सोच्यो । हात्तीलाई पनि साथी बनायो । पिन्टु दिउँसभरि हात्तीसँग हुन्थ्यो । साँझ परेपछि चिन्टुसँग आउँथ्यो।

एक साँझ  चिन्टु र पिन्टु रूखको  ठुटोभित्र बसिरहेका थिए । पिन्टुले अलि ठूलो स्वरमा भन्यो – “हेर दाइ ! हात्तीमाथि चढ्न कति मजा आउँछ । म हात्तीमाथि चढेको देखेर सबै जनावरहरू छक्क पर्छन् भन्या ! हात्ती दाइले सुँड हल्लाउँदा बाघ,भालु पनि डराउँछन् । साना जनावरहरू त कुलेलम नै ठोक्छन् ।”

 चिन्टुले नम्र स्वरमा भन्यो – “राम्रै भयो भाइ ! तिमीले मलाई छोडेर हात्ती साथी बनायौ । मैले पनि मुसालाई साथी बनाएको छु ।”

पिन्टुले भन्यो – “उफ ! तिम्रो बुद्धि । हुँदाहुँदै अब कमिलालाई पनि साथी बनाऊ मूर्ख !”

चिन्टुले जवाफ दियो – “हेर भाइ हामीले कसैलाई पनि हेप्नु हुँदैन । कमिला जति मेहेनती त मान्छे पनि हुँदैनन् अरे !”

पिन्टुले ठाडो जवाफ दियो – “भोभो तिमीजस्तो नबुझ्नेसँग के कुरा गर्नु ? आमाले मर्ने बेलामा भनेकी थिइन्। तिमीले ठूलालाई साथी बनाउनुपर्छ भनेर । ठूलो कोही नपाएपछि मैले तिमीलाई साथी बनाएँ । तिमीले पनि मेरो साथ दियौ । त्यसैले म हात्ती साथी छोडेर तिमीसँग आउँछु ।”

चिन्टुले सम्झाउँदै भन्यो – “भाइ ! तिमीले कुरा बुझेनौ । तिम्री आमाको  सोचाइ यस्तो हुनुपर्छ  । तिमीले ठूलालाई होइन ठूलो मन भएकालाई साथी बनाऊ ।”

पिन्टुले अर्कोतिर फर्केर भन्यो – “भोभो सुतौं, म तिमीलाई केही भन्दिनँ ? भोलिपर्सि मेरो कुरा सम्झेर पछुताउनु पर्ला नि  बुझ्यौ ? हात्तीसँग हिँड भन्दा मान्दैनौ ।”

चिन्टुले जवाफ दियो – “हेर भाइ ! तिमी सानो छौ । त्यसैले कुरा बुझ्दैनौ । धेरै बलियो र कमजोर सधैं साथी हुन गाह्रो हुन्छ ।”

पिन्टुले अलि रिसाउँदै भन्यो – “राम्रो बुद्धि भएकाले राम्रै कुरा सोच्छन् । नराम्रो बुद्धि भएकाले नराम्रै कुरा सोच्छन् । बरु तिमीसँग कुरा नै नगरे राम्रो हो ।”

पिन्टुको कुरा सुनेर चिन्टु चुपचाप लाग्यो । चिन्टु पनि अर्कातिर फर्किएर सुत्यो । यसरी केही दिन बित्यो । पिन्टु कहिले हात्तीसँग नै बस्थ्यो । कहिले चिन्टुसँग आउँथ्यो।

एक साँझ पिन्टु हात्तीसँग बिदा भएर आउँदै थियो। स्यालले लखेटेपछि डराउँदै पोखरीमा हाम फाल्यो । पानी घटघट पिएर पिन्टु छटपटाउन थाल्यो । चिन्टु पोखरीको डिलमा थियो। उसले हतारहतार पोखरीमा हाम फाल्यो । पिन्टु नजिकै गएर भन्यो – “आउ भाइ ! छिटो मेरो ढाडमा बस ।”  

पिन्टु ढाडमा बस्यो । चिन्टुले पोखरीमा डिलमा ल्यायो । डिलमा आएपछि पिन्टुले अलि घमण्ड देखाउँदै भन्यो – “म तिम्रो मायाले हात्ती साथी छोडेर आउँछु । आज झण्डै मरिनँ । अहिले हात्ती साथी भएको भए छट्टू स्याललाई के बाँकी राख्थे ?”चिन्टुले पिन्टुलाई मुसार्दै भन्यो – “दुःखको बेलामा सहयोग गर्ने पनि ठूलो हुन्छ ।” 

पिन्टुले भन्यो – “तिमीलाई त त्यही एउटा कुरा मात्र भन्न आउँछ ।  तिमी हात्तीसँग हिँड भनेको मान्दैनौ।  मलाई हेर म कति खुसी छु । म मीठामीठा फलपूmल, घाँसपात कति खान्छु खान्छु । तिमीसँग बस्यो भने भोलि जेले पनि मार्न सक्छ । ल म हात्ती साथीसँग गएँ।”

चिन्टुले पिन्टुलाई सम्झाउन व्यर्थ ठान्यो । पिन्टु हात्तीसँग गयो । चिन्टु आफ्नो बस्ने ठाउँमा फर्कियो।

पिन्टु केहीदिन हात्तीसँग बस्यो । चिन्टु मुसासँग बस्यो । एकदिन दिउँसो ठूलो हावाहुरी आयो । ठूलो पानी पनि पर्न थाल्यो । जङ्गलका रूखविरुवा ढल्न थाले । हात्तीले आत्तिदै भन्यो – “ल तँ मेरो पिठ्यूँबाट झर् । मलाई लस्कन गाह्रो भयो ।”

पिन्टुले डराउँदै भन्यो – “यस्तो बेलामा म कहाँ जानु ? मलाई नछोड्नुहोस् दाइ ! मैले तपाईँलाई सहयोगी ठानेर चिन्टुलाई छोडे । यस्तो बेलामा तपाईँले धोका दिनुभयो भने म मर्छु ।’’

हात्तीले पिन्टुलाई सुँडले तानेर भुइँमा फ्याँक्दै भन्यो – “म के गरौँ ? संसारमा सबैलाई आफ्नै ज्यान प्यारो हुन्छ । म तेरो कारणले मर्न सक्दिनँ । तँ आफ्नो ज्यान जोगा । म आफ्नो ज्यान जोगाउँछु ।”

यति भनेर हात्ती लस्कियो । पिन्टु आत्तियो । दौडन्छु भन्दा रूखको हाँगाले लागेर त्यहीँ बेहोस भयो ।  चिन्टु आफ्नै सुरमा हिँडिरहेको  थियो । उसले हात्तीलाई एक्लै देख्यो । चिन्टुले हात्ती नजिकै गएर भन्यो – “किन एक्लै आत्तिदै हिँडिरहेका छौ ? पिन्टु खोई त ?”

हात्तीले ठाडो जवाफ दियो – “आफ्नै जीउ जोगाउन गाह्रो भयो । कसले उसको जिम्मा लेओस् । माथि वनमा नै छोडिदिएँ ।”  

चिन्टुले हात्तीलाई तिमी स्वार्थी रहेछौ भन्दै अघि बढ्यो । पिन्टुपिन्टु भन्दै बोलायो । पिन्टुकै खोजीमा यताउति हिँड्यो । धेरै टाढा पुगेपछि चिन्टुले पिन्टुलाई देख्यो । ऊ बेहोस थियो । चिन्टुले ऊमाथि रहेको रुखको हाँगा हटायो । जङ्गली जडीबुटी ल्याएर खान दियो।

केही बेरपछि पिन्टुले ऐया भन्दै आँखा खोल्यो। चिन्टुलाई देख्यो । पिन्टुले वरवर पश्चातापको आँसु झारयो । केही बोल्न नै सकेन।

चिन्टुले पिन्टुलाई मुसार्दै भन्यो – “नरोऊ भाइ नरोऊ । साथी भनेकै दुःख पर्दाको लागि हो बुझ्यौ ? ”

पिन्टुले बिस्तारै उठेर टाउको झुकाउँदै भन्यो – “माफ गर दाइ ! म हात्तीको मायाले अन्धो थिएँ ।  आज तिमीलाई चिन्ने मौका पाएँ। अबदेखि तिमीलाई कहिल्यै छोड्दिनँ । तिम्रो अगाडि हात्तीको कुरा पनि गर्दिनँ । हात्तीभन्दा तिमी लाखौं गुना ठूला रहेछौ । अब म जीउको आकार हेर्दिनँ । मन हेर्छु । ”

पिन्टुको कुरा सुनेर चिन्टु मुसुक्क हाँस्यो । चिन्टु हाँसेको देखेर पिन्टु पनि हाँस्यो । दुवै सुखदुःखको कुरा गर्दै आपूm बस्ने ठाउँमा आए । 

शिक्षा – (वास्तविकता नबुझी कुनै काम गर्दा पछुतो हुन सक्छ ।)  

प्रकाशित: १८ जेष्ठ २०७८ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App