कला

पहाडी गाउँमा

कविता

होमनाथ खनाल

 

उँधोलाई हेर्याे त्यो मेवाखोला, उँभोलाई हिमाल,

डाँडामा बसी हेर्छु यो दृश्य,सेताम्मे हिमाल।

पहाडी गाउँ हरियाली ठाउँ, हेर्नमै रमाइलो,

बादल फाटी आकाश खुल्ला, दिन भाछ घमाइलो।

मंसिरको महिना पहेँलपुर धान, खेतभरि झुलेको,

समय गा’को केही पत्तो पाइनँ,यस्तैमा भुलेको।

उकाली हिँड्दा थकाइ लाग्दा, बिसाउने चौतारी,

सुरिलो स्वरमा स्वर मिलाईमिलाई,गाउँदै छन् दौतरी।

देउराली डाँडामा फुलपाती चढाई, आशीर्वाद मागेको,

भुलिँदो रैछ रमिता हेर्दै, थकाइ लागेको।

जंगल छेउछाउ कालिज बट्टाई, कुदेको देख्दै छु,

यो दृश्य हेर्दै देखेका कुरा, यसरी लेख्दै छु।

प्रकाशित: १८ जेष्ठ २०७८ १२:१२ मंगलबार

अक्षर