जितेन्द्र बस्नेत
मेरा काका,
उमेरमा ज्यादै पौरखी
सास रहुन्जेल हो आश गर्ने
बाँचुन्जेल सास खेर नजाओस्
मरेपछि लास खेर नजाओस्
भन्थे जेठको गर्मीमा खेतका गह्रा खन्दै ।
जीवनभर, आफ्ना बाहुबलले
खेतका गह्रा कति सम्याए
कान्ला ताछे, पसिना बगाए
अन्न फलाए, सकेको जोहो गरे
नहुनेलाई एक मानो दिएको हिसाब बुझ्न
कहिल्यै तमसुक गराएनन्,
वचन होस् वा बाली
मौकामा हीरा फोरे,
झन्डै सय वर्ष बाँचेका
आफ्ना बाको नाममा
वरपीपल रोपे
चौतारो बनाए, स्याबासी बटुले
त्यही वरपीपलको बोट अहिले
धेरैलाई सास बाँडिरहेको छ ।
तर, काकाले आज हृदयमा अड्किएको सास फेर्न नसक्दा
वरिपरिबाट हेर्नेहरूले पनि
केही गर्न सकेनन्
फरफराइरहेको पिपलको पात काम आएन
अर्थोक त धेरै बचाएका थिए
कमाएका थिए,
नाम, इज्जत, उपकार
सबैले दिन पनि आए
सान्त्वना हिम्मत, अन्न, पैसा
तर खै, के काम लागे र ती ?
उनले हेक्कै राखेनन्,
सासको पैंचो केही हुन्न रहेछ ।
न कसैले दिन सके
न उनले पाउन सके,
गाउँमा नुन, मसला किन्न
जोहो गरेको दौलतले
खै कहाँ पुग्यो र जीवन किन्न?
पलपल ढुकढुक गरी
मुटु धड्काइरहेको सास,
कुनै दिन पैसाले पनि
किन्नै नसकिने गरी महँगो हुने रहेछ
एक दिनका लागि सास किन्न नसक्दा थाहा भो,
हेर्दा सरल देखिने जीवन
कति मूल्यवान् रहेछ,
हेर्दाहेर्दै आफैंले हुर्काएको
पीपलको चौतारीमा
लामो सुस्केरा हाल्नै नपाई
आशहरू लास भैदिए
आखिर, पिपलको बोट पनि त
कहाँ सासको बोट रहेछ र !
प्रकाशित: १८ जेष्ठ २०७८ ०७:१५ मंगलबार