खेमराज पोखरेल
सिस्टम
एउटा गाउँले भाइ सिडियो अफिसमा पासपोर्ट शाखाको सुब्बा थियो । आफ्नो काम विशेषले पुगेको थिएँ । कुनै एउटा पोखरेल थरको मान्छे पासपोर्ट बनाउँदै थियो। भाइले सबै कागजपत्र रूजू गरे । नागरिकताअनुसार पासपोर्टको विवरण ठिक भरेको थियो त्यो पोखरेलले। तर सुब्बा भाइले कम्प्युटरमा टाइप गर्ने बेलामा पोखरेलको ‘ए’ छुटाए। म नजिकै बसेकाले भाइलाई भनेँ– ‘भाइ पोखरेलको ‘ए’ टाइप गर्न छुट्यो।
सुब्बा भाइले भने– ‘छोडेकै हो दाजु, यो त माखेसाङ्लो हो। पासपोर्ट लिने बेलामा हेरेर रूजु गरेर लैजानू है भन्ने हो। प्राय मान्छेहरू नहेरी लैजान्छन् अनि जब पासपोर्टको काम पर्छ। स्पेलिङ मिल्दैन। ऊ कुदेर यहाँ आउँछ र चाँडै सच्याइदिनु भनी खुसामद गर्न थाल्छ। पैसा दिन्छ । नत्र सोझो औंलाले घिउ कसरी आउँछ र दाजु ?’
मैले भनेँ– ‘त्यो बेला तिमी हुन्नौ यहाँ । अनि तिमीलाई के फाइदा हुन्छ र यसो गरेर ?’
उसले झन् आरामसँग झिँजो नमानी भन्यो– ‘ह्याँ दाइ पनि, म नभए के भो त, अर्को कोही हुन्छ । म जहाँ जान्छु त्यहाँ पनि त्यस्तै गरिएको हुन्छ नि त । यो त एउटा सिस्टम हो नि दाइ ।’
बोझ
मन बोझिलो भएको छ । कारण क्रिस हो ।
डगलस पार्कमा मोर्निङ वाकमा साथी भएको क्रिस । शनिबार र आइतबार मात्र घुम्छ । बाँकी पाँच दिन व्यस्त हुन्छ ।
मैले उसलाई सोधेको थिएँ– ‘क्रिस, कति वर्षका भयौ ?’
‘यो अगस्ट ५ का दिन ७० लाग्छु’ उसको जवाफ थियो ।
मैले भनेँ– ‘क्रिस तिमी मभन्दा ५ वर्ष जेठो रहेछौ । म त रिटायर्ड भएको १२ वर्ष नै भइसक्यो । केही गर्दिनँ । बस्छु, खान्छु। छोरा बुहारीले पालेका छन् । मजै छ ।’
ऊ हाँस्यो अनि भन्यो– ‘घर बसेर के गर्नु ? बेकामे भइहालियो नि । बाचुन्जेल केही त गर्नु नै छ।’
मैले भनें–‘हाम्रो संस्कृतिमा त यो छोराको कर्तव्य हा।’
उसले भन्यो– ‘होला तर म त बेसरी कमाउँछु, हरेक वर्ष आफ्नो सम्पत्तिको ३० प्रतिशत च्यारिटी ट्रस्टलाई दान दिन्छु । यसो गर्दा स्वर्णिम आनन्द आउँछ ।’
म चाउरिएँ। बाबुको श्राद्धमा बाहुनले धेरैपल्ट गौदान गराउँदा असन्तोष हुने मान्छे हुँ म । तर मलाई जित्नु थियो। अनि मैले भने–
‘मरेपछि के लाने हो र क्रिस, यस्तो उमेरमा पनि यति धेरै काम ?’
ऊ एकछिन चुप लाग्यो र भन्न थाल्यो– ‘हो कृष्ण, मलाई थाहा छ, मान्छेको जीवन क्षणभङ्गुर छ । बूढो मर्छ, तन्नेरी बाँच्छ भन्नु पर्दैन । खालि बाँचुन्जेल केही न केही गरिरहने कुरो हो।
अनि उसले आफ्नो मोवाइलमा भएको फोटो देखाउन थाल्यो– यी हेर त कृष्ण, यो मैले सिरियामा बनाएको अस्पताल। ‘यो अफ्रिकामा मैले बनाएको अनाथालयको फोटो’
र फेरि भन्न थाल्यो–‘केही नगरे त जिउँदो लास भइहालियो नि कृष्ण।’
म अवाक भएँ।
त्यत्ति नै बेला मेरो मनले मलाई नै भन्यो– ‘लाछी, त्यही घर पनि बाउसँग मुद्दा गरेर, बाउलाई रुवाएर पाएको न होस्, के फूर्ति लाउँछस् ? पहिले बाउको बोझ थिइस्, अहिले आफ्नै छोराको बोझ भइस् ।’
हिंसक जनावर
मोर्निङ वाक सकेर चोकको चिया दोकानमा छिरें । खचाखच थियो। मान्छेहरू धेरैजसो त राजनीतिक कुरो गरिरहेका थिए। तर मेरो नजिकै बसेका एक हुल भने जङ्गली जनावरका कुरा गरिरहेका थिए। हालै मात्र खोपासीको जङ्गलबाट चितुवा निस्केर कङ्क्रिटको जङ्गल पसेको थियो र दुई जना मान्छेमाथि आक्रमण गरेको थियो। मान्छेले घेरा हालेर मारेका थिए। केन्द्रीय विषयवस्तु यही थियो। योसँग जोडिएर अरू सहायक कुराकानी भइरहेका थिए।
क– ‘तल्लाघरे साइँलाको बाबुलाई त पोहोर साल बाघले मारेको नि ।’
ख– ‘टिभीमा हेरेको बाघले त मान्छेलाई एकै गाँसमा चिरिप्प पार्दो रहेछ, मेरी बाबै, हेरि नसक्नु!’
ग–‘सिंह त झन् खतरनाक, बाघको पनि बाप !’
घ–‘पूर्वमा हात्ती आतङ्क उस्तै छ । मान्छे मारेको मार्यै !’
ङ– ‘बाघ, भालु, सिंह, चितुवा हिंसक जनावर हुन् नि त, मान्छे भेटे के राख्थ्यो त हौ!’
ङले चलाई सोध्यो– ‘हो कि होइन ? लु भन्नु त ।’
च बोल्यो– ‘खोई कुन्नि त साथीहरू म के भनूँ ? को हिंस्रक, को अहिंस्रक? बाघले एकपल्टमा धेरैवटा डमरु पाउँछ तर बाघ घटेका घटै छन्। मान्छेले एकपल्ट एउटा मात्र पाउँछ, बढेका बढै छन् । के हो, के हो ? कुरो बुझ्नै सक्दिनँ ।’
सभ्य बस्ती
उनले भैंसेपाटीमा एपार्टमेन्ट किनेका थिए। उनको एपार्टमेन्ट हेर्न मलाई पनि लिएर गए।
बाटोमा उनी मलाई भन्दै थिए–
‘अलि महँगो मात्र हो ढुक्क हुँदो रहेछ !’
‘लन्जुफन्जु मान्छे हुँदैनन् । सभ्य मान्छे मात्र हुन्छन्, आनन्द लाग्यो !’
‘गाडी नभएका त यहाँ कोही छैनन् !’
‘पउल पार्किङ् छ, समस्या छैन !’
‘स्विमिङ पुल सानदार छ !’
‘सभाहल पनि छ । कार्यक्रम गर्न समस्या छैन।’
‘डिपार्टमेन्टल स्टोर पनि गेटमै छ, सजिलो!’
‘पाहुनाको पनि टेन्सन छैन । गेटबाटै फर्काइदिन्छ सिक्योरिटीले !’
‘चोरीसोरीको पनि समस्या छैन ।’
‘पानी बिजुलीको पनि आफ्नै व्यवस्था छ, लोडसेडिङ्को टेन्सन छैन’
भन्दाभन्दै गेट आइपुग्यो। सिक्योरिटीले गेट खोल्यो र सलाम ठोक्यो। भित्र क्या राम्रो फूलबारी। गगनचुम्बी घर । गाडी पार्किङ गरेर हामी बिल्डिङको मूल गेटमा पस्यौं। लिफ्टले सत्रौं तलामा पुर्यायो । झ्यालबाट देखिएको कङ्क्रिट सहर फुच्चे देखिया।
उनले भने– ‘यताबाट हेर्नु त शिवपुरी छ्याङ्ङ देखिन्छ !’
बरन्डामा परपरबाट देखिने गरी इनरहरू सुकाइएका थिए।
अनि मैले भनेँः ‘अहो, दृश्य बडो सुन्दर देखिँदो रहेछ । शिवपुरीबाट पाहुनाले हेरे भने यो सभ्य बस्तीमा यी इनरहरु मात्र देख्छन् होला, ‘मान्छे’चाहिं देख्दैनन् होला हगि ?’
समानता
त्यो शहरको निकै चर्चा थियो रेडियोमा । टिभीमा । पत्रिकामा। जनमानसमा । सबै एकोहोरो भन्थे– त्यो शहर नेपालको पहिलो शहर हो जहाँ महिला पुरुषमा कुनै भेदभाव छैन । सरकारले विशेषद्वारा अध्ययन गराएरै यो कुराको घोषणा गरेको थियो। घोषणा कार्यक्रम थियो। अतिथि भएर बोलाइएको थिएँ। अघिल्लो दिन नै पुगेको थिएँ ।
बिहान साँढे चार बजे उठेँ र त्यो शहरको माथ्ला छेउदेखि तल्ला छेउसम्म पैदल हिडेँ। मेयर साब मसँगै हुनुहुन्थ्यो। बाटाकै आडमा पँधेराहरु थिए। पँधेरामा पानी भर्न गाग्री बोकेर लाइन लागेका प्राय महिलाहरुनै थिए।
दोकानहरू खुल्दै थिए। आफ्ना दोकान अगाडिको सडक, पेटी बढारिँदै थियो।
उनी बेलाबेलामा बढारिरहेका महिलालाई सोध्थे– दाइ खोई त ?, भाइ खोई त ? भेना खोई त ?
साइनो लगाएर बोल्ने उनको शैली मलाई रमाइलो लाग्दै थियो।
अधिकांश उत्तर यस्तै खाले आउँथ्यो–
–‘सुतिरहनुभएको छ नि तपाईँको दाइ, अहिले उठ्ने मान्छे हो र ? बेड टि नखाई त के उठ्नुहुन्थ्यो ?’
–‘राति धोकेर आएको मान्छे, कति घिच्न सकेको होला। लम्पसार परेको छ नि। अहिले उठ्छ र तपाईँको भाइ ?’
–‘राति टन्डेली मारेर आउँछ, पकाको भात त बेलामा खाइदिँदैन, उस्तै त हो नि तपाईँको भेना !’
मसँगै हिँडिरहेका मेयरज्यू मसँग पनि गफ गरिरहेका थिए– ‘यो व्यवस्था मिलाउन कम्ती पापड बेल्नुपरेको हो र हामी जनप्रतिनिधिले ?
म शिष्टाचारवश ‘होमा हो’ मिलाउँदै थिएँ ।
र पनि सोधें–‘पानी भर्ने सबै महिला। बाटो पेटी बढार्ने सबै महिला र सुत्ने सबै पुरूष, आज संयोग परेको हो र मेयरज्यू ?’
(‘ईश्वरको मृत्यु’ लघुकथा सङ्ग्रहबाट !)
प्रकाशित: १६ जेष्ठ २०७८ ११:१६ आइतबार