कला

कला विकासमा कला शिक्षा

कला विकास र कला शिक्षा सम्भवतः एक अर्काका पयार्यवाची शब्द हुन्। कला सिर्जनाको अभिन्न अंग हो– कला शिक्षा, यसो भनिदिँदा अतिशयोक्ति नहोला। जुन राष्ट्रमा कला शिक्षालाई महत्वका साथ लिइएको छ, कला शिक्षालाई कला सिर्जनासँग नजिकबाट जोडेर लगिएको छ, स्वभावतः त्यहाँको कलामा गुणस्तर वृद्धि हुँदै जान्छ। बिक्री–वितरण पनि बढाउँछ र समग्र कला विकासलाई यसले टेवा पुर्‍याउँछ भन्ने सिद्ध भइसकेको छ।  

युरोपमा सन् १८६० को उत्तरकालमा आममान्छेले आफूलाई मननपरेको कलाको विरोध गरे। सुन्दाखेरी कुरा सामान्य लागे पनि यसले युरोपेली समाजमा एक प्रकारको हलचल मच्चाइदियो। यसले आममान्छे कलामा सचेत भएको प्रत्याभूति गरायो। यसपछि कला लेखनमा विकास हुन थाल्यो। कला समीक्षक, कला लेखक र कलाविद् बढ्दै गए। साहित्यकारले कला विधालाई आफूनजिक राखे। मनपर्ने र मननपर्ने कलाको चर्चा हुन थाल्यो। समग्रमा कला इतिहासमै युरोपीय समाजमा त्यस बखत कलाप्रति आममान्छेको चासो बढेको देखियो। यस्तो अवस्था आउनुमा कला शिक्षाको प्रभावबारे अलिपछि अलग्गै चर्चा गरौँला।

मूलतः त्यस बखत फ्रान्सको राजधानी पेरिस कलाका लागि पूरै विश्वको केन्द्र बनेको थियो। आफूलाई विश्वमाझ उभ्याउन विश्वभरिका ठुल्ठूला कलाकार त्यहाँ आउने गर्थे। युरोपका मात्र होइनन्, अन्य राष्ट्रका कलाकार पनि त्यहाँ कलाका गतिविधिमा संलग्न हुन लालायित हुन्थे। त्यस वेला पेरिसमा कलाका अनेकौँ प्रयोग भए। कलाका दर्शन, आदर्श, माध्यम र विषयमा कलाकारले किसिम किसिमबाट डुबुल्की मारे। यथेष्ट मात्रामा कलाका आन्दोलन भए। फलस्वरूप त्यस वेला आधुनिक कलाका धेरैजसो शैली र प्रवृत्तिको विकास यसै ठाउँमा भएका छन्। कलाको चिरफार पनि राम्रैसँग भएको छ। र, कलाको इतिहासलाई बनाउने प्रक्रिया पनि राम्रैसँग भएको देखिएको छ।  

समाजमा भएको परिवर्तनका आधारमा कलाकारले कलाको सिर्जना गरे, वा कलाकारको नौलो सोचबाट नयाँ सिर्जना आएर समाज परिवर्तन भयो ? यसको टुंगो भने लागेको छैन। तथापि समाजको सोचको स्तर र कला सिर्जनाको सन्दर्भ समानान्तर भयो भने दुवैमा एकापसमा प्रभाव पर्नु ध्रुवसत्य हो। सोच, ज्ञान भनेको कला शिक्षाकै उपज हो।  

कलाको विरोध र समर्थन हुनु

यसअघिका कलामा राजा–महाराजाको स्वार्थसँग घुसेका सन्दर्भ बढी मात्रामा देखिन्थे। धर्ममा आस्था जगाउने सन्दर्भमा अनेक चर्चमा लोभलाग्दा चित्र तथा मूर्तिको निर्माण गर्न लगाइन्थ्यो। पूर्वतिर मठ–मन्दिर, मस्जिद, स्तुपा, विहार आदि यसरी नै कलाद्वारा सजाइएका छन्। विश्वभरि राजा–महाराजाले आफूलाई अभिलेखन गर्ने क्रममा आफ्ना सालिकको निर्माण गर्न लगाए। धर्म पण्डितहरूको निर्देशनमा देवीदेवताका मनमोहक मूर्ति वा चित्र बने।  

यस प्रकार कलाले अन्य क्षेत्रलाई भरपूर सघाएको देखिन्छ। आफू आफ्नो अलग्ग पहिचान खडा गर्न भने लागिपरेको देखिँदैन। आजको स्थिति पनि त्योभन्दा खासै फरक छैन। बरु हिजोका दिनमा कला बढीजसो संस्कृति र संस्कारको एउटा अवयव बन्न गएको देखिन्छ। भक्तिभाव दर्शाउने माध्यमका रूपमा कलाले आफ्नो अस्तित्व कायम राखेको पनि देखिन्छ। तर, कलाको विश्लेषण नहुँदा कलाकै रूपमा विरोध भएको देखिन्न। कलाको लेखाजोखा नहुँदा कलाकारको अस्तित्व पनि देखिन्न। यसैले आज विद्यमान कतिपय उत्कृष्ट कलाका कलाकारको नाम हामीले सुन्न पाएनौँ। काठमाडौं उपत्यकामै पुराना कला मान्छेभन्दा बढी छन्। आज पनि यही कलालाई देखाएर राष्ट्रले पर्यटन भित्र्याउने र अर्थ आर्जन गर्ने गर्छ।  

विश्वव्यापी रूपमा आज कलामाथि यथेष्ट मात्रामा नकारात्मक, सकारात्मक टिप्पणी हुने गर्छन्। आज कलामा एस्थेटिक (सौन्दर्य) पनि हेरिन्छ। ‘एस्थेटिक्स जजमेन्ट’ नै आज कलाको गुणस्तर मापन गर्ने धारिलो हतियार बन्न गएको देखिन्छ। एस्थेटिक्स र कला शिक्षाको गहिरो सम्बन्ध किन छ भने, कला शिक्षाले जहिले पनि एस्थेटिक्स जजमेन्टमै आफूलाई केन्द्रीभूत गर्छ। जतिसुकै सरल र सहज तरिकाले कला शिक्षालाई बुझ्न खोजौँ, तर एस्थेटिक्सको परिधिलाई नाघेर जान सकिँदैन। यसैले भन्ने गरिन्छ– कला बुझिनेभन्दा पनि महसुस गरिने कुरा हो। कलाको रङ, संयोजन, विषय, प्रस्तुति वा कलामा आबद्ध विचारले भावकको मन त्यसै मोहित गराउँछ। यसको मूल कारण भनेको यही एस्थेटिक्स जजमेन्ट नै हो।  

सालोनबाट कलाको बहिष्कार  

फ्रान्समा आम मान्छे र लेखनबाट कलाको विरोध हुँदा कति कलाकार तत्क्षण असन्तुष्ट भए, रिसाए पनि। फ्रान्सको तत्कालीन सरकारी कलाको निकाय ‘सालोन’ले यस्ता कलालाई र स्वयं कलाकारलाई बहिष्कार गरेका घटना बाहिर आए। त्यतिवेलाका नाम चलेका कलाकारका राम्रा स्तरीय कला पनि सालोनद्वारा गरिएका कला प्रदर्शनीमा अस्वीकृत भए। तथापि यसले अर्को अवस्था जन्मायो। स्थापित मान्यताविपरीत कला बनाउने कलाकारको जमात विरोधमा उर्लिए। यसैलाई ऐक्यबद्धता जनाएर यस्तै कलालाई पनि मनपराउने जनमानस ती कलाकारका साथमा खडा भए। उनीहरूले बहिष्कारका घटनाको चर्को विरोध पनि गरे। यो उग्र विरोधपछि यी कलाकारका कला ‘अस्वीकृत कलाको प्रदर्शनी’ नामबाट सरकारबाटै राष्ट्रिय स्तरमै प्रदर्शन भएको इतिहास छ। यी सबै घटना हुनुलाई आम जनमानसमा कला चेतना आएको नठानेर के ठान्ने ? कलासम्बन्धी जनमानसको चेतना भनेकै कला शिक्षाको एउटा अभिन्न अंग हो। जब युरोपमा कला शिक्षाले गहिरो जग हाल्दै गयो, कलाको विकास पनि तीव्र रूपमा झ्यागिँदै गएको छ।  

यसै बखत अर्को राम्रो काम देखियो– आम मान्छे, आम मान्छेको दिनचर्या कलामा यथेष्ट मात्रामा प्रतिविम्बित हुन थाले। अहिले भन्ने गरिन्छ, कला समाजको प्रतिविम्ब हो। यो भनाइ यसै वेलादेखि प्रचलनमा आएको हो सम्भवतः।  

त्यसवेलाको समुदायले गर्ने क्रियाकलाप, त्यति वेलाको हाट बजार, आम मान्छेले रमाइलोका लागि गरेका क्रियाकलाप, सहर र गाउँको अवस्था, त्यति वेलाका नाचगान, संगीत, साहित्य, सामाजिक क्रियाकलाप आदि त्यस बखतका कलाको मुख्य विषय हुन्थ्यो। कल्पना र भावनाबाट अलग्ग प्रकारका यस्ता कला बन्नु सम्भवतः समाजको विविध अवयवसँग नजिक हुन खोज्नु पनि हो। कला पनि यसै बखत राजा–महाराजाबाट सामान्य मान्छेमा झरेको थियो। भावाभिव्यक्ति र अभिव्यञ्जनाको शुभारम्भ औपचारिक रूपमा यसै वेलादेखि हुन थालेको हो। यसपछि राजनीतिक सामाजिक घटनामा कला, साहित्य र संगीत विधाले सँगै मिलेर विरोध व्यक्त गरेका थुप्रै घटना छन्। राजनीतिक घटनामा समग्र रूपमा कलाकार, संगीतकार, साहित्यकार आदिबाट चासो र हस्तक्षेप यसै वेलादेखि स्पष्ट रूपमा देखिन थालेको हो। सम्भवतः यसै वेलादेखि यी विधाबीच एक–अर्कामा प्रभाव परेका सन्दर्भ देखापरे, एक–अर्काबाट धेरै कुरा सिके पनि। यी विधाबीच मूलतः स्रोत, आसय र ध्येय पनि एकै रहेको ठहर यसै वेलादेखि भएको हो।  

यसअघि धार्मिक कलाको बढी मात्रामा बोलबाला थियो। लोककला समाजमा परोक्ष रूपमा पल्लवित हुने सन्दर्भ बढी मात्रामा देखिन्थ्यो। यसर्थ धार्मिक र लोककला पनि निश्चित घेरामा बसेर नियम पालना बनाउनुपथ्र्यो। कति ठाउँमा त स्थापित संस्कार, जात्रा वा चाडपर्व आदिका कला बनाउँदा कलाकारले आफूलाई मनपरेका कुरा बनाउन पाउँदैनथे। आम मान्छको यसमा विरोध हुने सन्दर्भ परैको कुरा हुन जान्थ्यो। धर्मको कुरा अझ कडा थियो। पहिले कलाकार स्वयं र आमभावकले पनि कलालाई बुझ्न, एप्रिसियन वा विरोध गर्ने अवस्था थिएन, जुन कहीँ न कहीँ कला शिक्षासँग गाँसिएको छ।  

कला शिक्षाले जहिले पनि आम भावकमा कलाचेत पुर्‍याउँछ। यसले आम भावकलाई झकझकाउँछ। युरोपमा १९औँ शदीको दोस्रो दशकदेखि परोक्ष रूपमा कला शिक्षा आम मान्छेमा पुगेको उपरोक्त घटनाले पुष्टि गर्छन्। यो शैक्षिक प्रक्रिया औपचारिक, अनौपचारिक वा अरितिक थियो ? यसबारे अलि तल कुरा गरौँला।  

सधैँजसो कलालाई मान्नुपर्छ, कला किनिदिनुपर्छ, कलालाई संरक्षण गर्नुपर्छ– आदि–इत्यादि आदर्शवादी छलफल र बहस गरिरहँदा यसले कला शिक्षाको मर्म र आवश्यकता पर धकिलिदिएको हाम्रा लागि अहिलेको यथार्थ हो। मननपरेको कलाको विरोध गर्ने जनमानसमा कलाबारे धेरथोर संचेतना आएको मान्नुपर्छ, यसो हुँदा कालान्तरमा समग्रमा यसले कलाको विकास नै गर्ने हो। यसैले त अहिले पनि पश्चिममा कला समीक्षकलाई कुनै न कुनै रूपमा कला सिर्जना र गतिविधिमा संलग्न गराउने गरिन्छ। त्यहाँ गाली गर्ने वा गराउने वातावरण तयार हुन्छ। सुन्दा एक प्रकारले उदेकजस्तो लागे पनि यो यथार्थले गर्दा कलाको गुणस्तर बढेको देखिएको छ। यसैको प्रतिफलका रूपमा कलालाई सम्मान गर्ने क्रम र कला क्रय–विक्रयमा पनि सकारात्मक वातावरण बन्न गएको छ। यसैले नेपालभन्दा बाह्य संसारमा भन्ने गरिन्छ– कला समीक्षा सकारात्मक कुरा हो, नकारात्मक कुरा होइन। यस्ता कुरामा हामीचाहिँ किन सचेत भइरहेका छैनौँ ? हाम्रा लागि यो गम्भीर प्रश्न हो।  

कला शिक्षाको प्रवाह  

सामान्यतः कला शिक्षाको प्रवाह तीन प्रकारले हुने गर्छ। जसलाई औपचारिक, अनौपचारिक र अरितिक शैक्षिक प्रक्रिया भनिन्छ। सबैतिर बुझिने, गहिरो गरी अर्थ लाग्ने कला शिक्षाको सन्दर्भ अर्कै कुरा हो। कला शिक्षाको गहन अर्थ, दर्शन र एस्थेटिक्सका दृष्टिकोणले कलालाई बुझ्न र केलाउन जरुरी छ। यसैले आज सतही कला लेखभन्दा गम्भीर कला लेख आउनुपर्छ भन्ने सोच विकसित भइरहेको छ। तर यतापट्टि जाने अहिलेको अभीष्ट होइन। तापनि अलि सजिलो गरी बुझिने कला शिक्षाको सन्दर्भ सम्भवतः आजको ठूलो आवश्यकता हो। कलाको शैक्षिक प्रक्रियालाई अलिकता गौर गर्न मात्र सकियो भने यसले कला विकासमा यथेष्ट सहयोग गर्छ। समग्रमै समाज र राष्ट्रलाई समेत सकारात्मक असर गर्छ।

औपचारिक कला शिक्षा  

सामान्यतः औपचारिक कलाको शैक्षिक प्रक्रिया भनेको सीधा अर्थमा कला क्याम्पस, कलेज वा प्लस टुमा सिकाइने ललितकला शिक्षा हो। नेपालमा यस्ता शैक्षिक निकाय धेरै कम छन्। स्नातकसम्म गर्न सकिने ललितकलाका शैक्षिक निकाय तीनवटा र स्नाकोत्तर गर्न सकिने एउटै मात्र निकाय छ। प्लस टु पाँच–सातवटा भन्दा बढी छैनन्। प्लस टुका यस्ता ललितकला शिक्षा पूर्वका पत्थरी, मोरङ र पश्चिमका पोखरालाई छाड्ने हो भने बाँकी सबै काठमाडौं उपत्यकाभित्र मात्रै छन्। स्कुलदेखि नै कलाको आधारभूत ज्ञान र सीप दिने हो भने पछि यसै विषयमा उच्च शिक्षा लिन सहज हुन्छ भनेर राखिएका यस्ता प्लस टु उपत्यका बाहिर पनि खुल्न थाल्नु खुसीको कुरा हो। तर नगन्य रूपमा हुनु दुःखको कुरा हो। यसको कारण हो, कला शिक्षालाई आम जीवनसँग र विशेष गरेर आर्थिक आर्जनसँग राम्ररी जोड्न नसक्नु।  

हाम्रा सबैजसो कलाका क्याम्पसमा पश्चिमी पद्धतिका आधारमा विकास गरिएको पाठ्यक्रम छ। यसैले कलाका प्राविधिक पक्ष र कला व्याकरणका सन्दर्भमा बढी मात्रामा केन्द्रीभूत गरी पढाइन्छ। यसमा बढीजसो प्राज्ञिक ज्ञान र सीप प्रवाहित हुने गर्छ। हुन त विश्वभरि छरिएर रहेका यस्ता शैक्षिक निकाय पनि त्यति फरक छैनन् होला। किनकि यसको मूल स्रोत भनेको युरोप हो। यस्ता शैक्षिक प्रक्रियामा प्राक्टिकल एक्सरसाइज बढी देखिन्छ। तथापि हेक्का राख्ने कुरा चाहिँ कति ठाउँमा यस्ता कलालाई अभ्यास गरिरहँदा आवश्यक कला शिक्षा राम्रोसँग लिएको देखिँदैन। यसले स्वाभावतः कला सिर्जनामा प्रतिकूल असर पारेको छ। हाम्रै कला इतिहास, संस्कृति, संस्कारका अवयवलाई केही मात्रामा पाठ्यक्रममा समावेश गरिएको त छ, यथेष्ट रूपमा राख्न सकिएको छैन।  

जब कि कला पहिला दिमागमा जन्मन्छ, देखिने गरी क्यानभासमा भौतिक रूपमा आउने यसपछि मात्र हो। कलाकारको दिमागमा कला उम्रन थाल्छ भने ऊ कला शिक्षाको नजिक भएको बुझ्नुपर्छ। कलाकारले आफूले भोगिरहेको जीवन, आफ्नै संस्कार र परम्पराको वरिपरि बसेर कलाको रूपलाई पहिले आफ्नो दिमागमा सिर्जना गर्ने हुँदा यस विषयमा अझ विस्तारमा ज्ञान आवश्यक हुन्छ, त्यसलाई महसुस गर्नु अनि आधार र पृष्ठभूमिका लागि आफूभन्दा अग्रजले गरेका कलाको शैली, प्रवृत्ति र प्रस्तुतिमा ज्ञानको अपेक्षा गर्नु न्यायसंगत मानिन्छ। व्यावहारिक रूपमा यसरी तालमेल मिलेको भने देखिन्न।  

अर्को महत्वपूर्ण पक्ष हो, कला व्याकरण। यसमा ज्ञाता भइएन भने दिमागको कुरा क्यानभासमा ओर्लन सक्तैन। यसैले सजिलो बुझिने भाषामा भन्दा थ्यौरिटिकल भन्दा प्राक्टिकल विषयमा ज्यादा ध्यान दिनुपर्छ भन्ने सन्दर्भ निक्लन्छ। शिक्षा र सिकाइको कुरा उठाउँदा यो सही पनि हो। शिक्षा भनेको ज्ञान र सीपलाई प्रवाह गर्ने वा सञ्चारित गर्ने प्रक्रिया हो भने सिकाइ भनेको आन्तरिक प्रक्रिया। आन्तरिक प्रक्रियामा धारणा परिवर्तन गर्नेदेखि व्यवहारमा लागू गर्ने सन्दर्भ आउँछ। धारणा परिवर्तन नभई व्यवहारमा सकारात्मक परिवर्तन हुन सम्भव छैन। धारणा परिवर्तन हुनुमा कला शिक्षाकै मूल भूमिका हुन्छ। यसले व्यक्ति विशेषलाई सकारात्मक बाटो रोज्न प्रोत्साहन गर्छ। यसर्थ यो व्यक्ति विशेषमा भर पर्नुपर्ने हुन्छ। कति कुरा सान्दर्भिक नहुँदा प्रयोगमा आउँदैनन्, कति कुरा ग्रहण राम्ररी गर्न नसक्दा प्रयोगमा आउँदैनन्। यसलाई सही दिशातर्फ मोड्नु भनेको ज्ञानका विषय कसरी निर्धारण गरिएको छ र कसरी यसलाई सञ्चारित गरिएको छ, यसैमा भर पर्नुपर्ने हुन्छ।  

यो अर्थमा प्राक्टिकल विधि सबैभन्दा शक्तिशाली सही माध्यम हो। कुरा के मात्र हो भने, आफैँले अभ्यास गरिरहँदा वा सिर्जनाकै रूपमा कला बनाइराख्दा बुझेर वा नबुझेर वा कपीको काम भइरहेको छ कि भनी हेर्न भने आवश्यक देखिन्छ। किनकि क्याम्पस सकेर स्वतन्त्र कलाकारका रूपमा कला सिर्जना गर्दा आजका धेरैजसो हाम्रा युवा समसामयिक कलाकार अन्योल र अलमलमा परेको देखिएको छ। यसले कला शिक्षा कमजोर रहेको देखाएको कलाविद्को ठम्याइ छ। यसर्थ यहाँ कला शिक्षालाई विशेष ध्यान दिन आवश्यक देखिन्छ।  

यसैले थ्यौरिटिकल र प्राक्टिकल राखिने प्रचलनमा सबैभन्दा मुख्य कुरा हो, विषयगत भार। यसैमा बढी सचेत हुन आवश्यक छ। हुन त पाठ्यक्रममा यस्ता कुरा मिलाएर भार दिइएको हुन्छ। तथापि हामीकहाँ यसलाई लागू गर्ने क्रममा अर्को समस्या देखापरेको देखिन्छ। यसको मूल कारण पाठ्य पुस्तकको अभाव पनि हो। कला शिक्षाको अहं भूमिकाले गर्दा नै बाह्य राष्ट्रमा कला अब्बल रूपमा देखापरेका छन्। कहीँ न कहीँ नेपालमा यसरी कला शिक्षालाई महत्व दिने कुरा छुट्न गएजस्तो भएको छ।  

औपचारिक कला शिक्षाको अर्को महत्वपूर्ण पाटोमा कलासम्बन्धी बाहेक अन्य स्कुल वा विद्यालयमा अन्य विषयलाई झैँ कलालाई समावेश गरिएको देखिँदैन। धेरैजसो स्कुलमा कलालाई एक्ट्रा एक्टिभिटीका रूपमा मात्र राखिँदा यसले कलाको आन्तरिक तत्वलाई प्रवाहित गरेको देखिँदैन। यो कुरा प्लस–टुमा आइपुग्दा अनि ललितकलाकै कक्षामा पनि विद्यार्थी कलाकारमा कलाका आधारभूत ज्ञान नदेखिनु यसैको परिणति हो। यसले गर्दा कला शिक्षाको औपचारिक प्रवाह यहाँनेर अवरुद्ध हुन पुगेको देखिन्छ। प्लस–टुमा त यस्तो समस्या रहेको छ, कला बाहेकका अन्य विषयमा क्याम्पस र कलेज आदिमा कलाका विषय कतै भएको पाइँदैन। यसको परिणति हुन्छ, पढाइ सकेर कुनै पनि क्षेत्रमा काम गर्दा त्यस विषयको कलापक्ष शून्य देखिन्छ। हरेक क्षेत्रमा कला अनिवार्य रूपमा रहने हुँदा यहाँनेर एस्थेटिक्सको अभावमा एउटा सिंगो समाज, राष्ट्र नै मारमा परेको आजको स्थितिले स्पष्ट बोध गराउँछ।  

अनौपचारिक कला शिक्षा  

अनौपचारिक कला शिक्षाका रूपमा अहिले आर्ट कोचिङ कक्षा नेपालभर प्रशस्तै खुलेका छन्। समय, ठाउँ, अवस्था र आवश्यकता अनुसार खुल्ने यस्ता कोचिङ कक्षामा कलाका प्राक्टिकल विषय राम्रै गरी पढाइन्छ, सिकाइन्छ, तर कला शिक्षाका विषय समावेश गरिएका हुँदैनन्। यो अर्को जटिल समस्याले गर्दा त्यसरी सिकेका कलाकारका कला सिर्जनामा मौलिकता वा निजीपनको अभाव यथेष्ट दृष्टिगोचर हुन्छ। कला बाहेकका अन्य अनौपचारिक शिक्षाहरू (प्रौढ कक्षा, बाल कक्षा आदि) वा कुनै प्रकारका तालिममा कतै पनि कला, संस्कृति र संस्कारका कुनै विषय समावेश गरिएको हुँदैन।  

अनौपचारिक रूपमा विविध प्रकारले गरिने कलाका कार्यक्रम, कार्यशाला, प्रदर्शनीमा पनि कला शिक्षालाई समावेश गरिने प्रचलन छैन। यसो हुँदा आम कलाकारले कलालाई बुझ्ने वा आत्मसात गर्ने प्रक्रिया कमजोर भएको महसुस गर्न सकिन्छ।  

कला शिक्षालाई समावेश नगराउँदा साहित्य वा संगीत, कलाकै एउटा अभिन्न अंग इन्टेरियर डिजाइन आदिमा गुणस्तर खस्केको स्पष्ट देखिन्छ। यसको परिणतिका रूपमा हरेक क्षेत्रको कला पक्ष कमजोर हुनु त छँदै छ, विशेष गरेर मौलिकतामै आँच आउने सन्दर्भ बढी मात्रामा देखिने आजको अवस्था छ। आफ्ना आवश्यकता अनुसार जसरी पनि डिजाइन गर्न सकिने यस्ता अनौपचारिक शिक्षामा कलाका विषय नहुँदा, नगराइँदा आम मान्छेले कला बुझेनन् वा उनका काममा कला पक्ष देखिएन भनेर कराउनुको केही अर्थ देखिन्न। यो क्षेत्रलाई जानाजानी अँध्यारोमा धकेल्न खोज्दा आफ्नै अलग्ग पहिचानको सन्दर्भमा पनि जालो लागेको अहिले स्पष्ट अनुभव गर्न सकिन्छ।  

अरितिक कला शिक्षा

अरितिक कला शिक्षामा मूलतः समाजको संरचना, संस्कार, संस्कृति, चाडपर्व आदि पर्छन्। सदियौँदेखि चलिआएको यस प्रकारको परम्परामा कला यथेष्ट मात्रामा घुसेको पाइन्छ।  

धर्ममा कला छ, हरेक चाडपर्व, संस्कार र दिन चर्यामा कला छ। यसलाई समुदायले पालना गर्दै आएको पनि देखिएको छ। यहाँनेर पनि कला शिक्षाचाहिँ गएको देखिँदैन। आफ्ना आमा–हजुरआमाले गर्दै आएको लोककला, वा हस्तकला, जसलाई छोरीबुहारीले बनाउँदै जाँदा कलाको सिर्जना गर्दै छु भन्ने ज्ञान प्रवाह भएको देखिँदैन, थाहै नपाई कलाका सीप अर्को पुस्तामा हस्तान्तरण भइरहेको हुन्छ।

हस्तकला, लोककला वा परम्परागत कला अहिले व्यवसायसँग जोडिन आइपुगेको छ।  

हरेकजसो जातजातिमा कलालाई संस्कारसँग गाँसिएको हुन्छ, पूजाआजामा पनि कलालाई नजिकबाट गाँसिएको हुन्छ। तथापि कलात्मक मूर्तिमा रहेको एस्थेटिक्सका शिक्षा भने कतै गराइएको देखिँदैन। तर त्यसमा भक्तिभावलाई बढी मात्रामा जोड दिइन्छ, जसले ज्ञान मार्ग हराउँदै गए जस्तै भएको छ। यसो हुँदा कलाको महत्व र यसलाई बचाइरहनुपर्ने विषय गफमा मात्र सीमित भएको अहिलेको अवस्था हो।  

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: १५ जेष्ठ २०७८ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App