पृथक दाहाल
धेरै मच्छडका घन्टीहरू बज्दा म मौन थिएँ । १२ सय मोडलमा एक तमास घन्टिले उठाएरै छोड्यो।
–हेलो..!
–हेलो– भन्नुस् !
–दाइ छिटो आउनुस न लास त ४०– ५० ओटा भैसके..।
हो र ! कति मान्छे मर्न परेको होला..!
आँखा पुछ्दै ट्राउजरलाई सुर्किएर सेतो धोती बेर्दै,
लल म आइहाले भन्दै पुगेँ । धमाधम आफ्नो काम थालें।
दाउरा ल्याउनेदेखि सबै व्यस्त थिए।
पानी खुवाउनेको गुञ्जन फरक थियो।
यो मुख्य समस्याको चौतारी हो । यहाँ आइरहन्छन् अनि कहिलेकाहीँ जान्छन् पनि आर्यघाटको खर्च समेत बक्यौतामा राखेर । कहिल्यै नआउने गरी ।
आफन्तहरूको हल्ला कम थियो । कोरोना सर्ने डर। खानका लागि बाचेकाहरूलाई मर्न धेरै डर लाग्छ।
ठ्याक्कै जुठो लाग्ने मानिस मात्र त्यहाँ आएका थिए।
पहिला र अहिलेमा निकै फरक छ। आफन्तभन्दा अरु पर बसे । किन आएका होलान् लाग्थ्यो । बिहानदेखि बेलुकासम्म घारो पनि निकै ओटा फेर्नुपथ्र्याे । घारोलाई महँगो पर्छ । सकेसम्म बचाउ गर्छु । आर्यघाटले लासैपिच्छे घारो फेर्नु भन्छ । मलाई पैसा कमाउनु छ पुरानै प्रयोग गर्छु मिलेसम्म । दिनभर घोच्दाघोच्दा पाता पाखुरा दुख्थे । बेलुका गलेर थकित हुन्थें । पैसा कमाइ पनि राम्रै छ। हिजो धेरै पिउन मन लागेको थियो। लकडाउनको कारण दिनचर्या फरक भएको छ । एक दिनको पीडा बेलुका भुलाउथें तर चिसो कोठा, यो गर्मीमा पनि तात्न धेरै घन्टा कुरें।
कोरोनाको बिरामी सबै डराउँछन्। मलाई डर लागेको छैन । कोरोना पनि लागेको छैन। भगवानलाई थाहा छ मलाई बाच्न अल्छी लागेको कुरा । एउटा हातले घारोले घोच्दै अर्को हातले पाउरोटी र चियामा दिउँसो बितेको कैयौं दिन भयो। आज पनि उही दिनचर्या ! आर्यघाट यानेकि जिन्दगीको बिसौनी। आराम गर्न आएका हरेक लासलाई आराम दिँदादिँदा आफू आराम गर्न भुलेको बेलुका पत्ता पाउँछु। आमाको मृत्यु। घाटको खर्चको बिल अर्को लाउके तिर्न तयार भयो । पछि हिसाब गरौंला भन्ने सर्तमा । तिन भाइ छोराहरू रहेछन्। आमाको कानमा सुन कस्ले लाएको थियो ? भन्ने विषयमा छलफल भैरहेको थियो । जेठो भन्दै थियो, मैले जागिर खाँदा लाइदेको हो। मेरो हुनुपर्छ । माइलो मैले लाइदेको, अनि कान्छो म जागिर खाँदा शहरबाट ल्याइदेको । तिन भाइको तँछाडमछाड परयो र सुन कस्ले लाने भन्ने विषयमा।
ती आमा तिन सेकेन्डको लागि बिउँझिए हुन्थ्यो लाग्यो। ताकि लगाइदिने छोराको नाम भनून् र निदाउन सधैंका लागि । अनि हाम्रो ममीको कानमा दाइले लाइदेको याद भयो। लागो हाम्रो झगडा हुँदैन । नाकको फुलीमा कुनै झगडा छैन सायद हजार पन्ध्र सयको मात्र हुँदो हो । फुली खुस्किएन धेरैबेरको प्रयासपछि खुस्कियो। नाकबाट रगत आयो । जाबो फुली छोडिदिएको भए पनि के जान्थ्यो र..।
चकित परेँ । घारो समाएर धेरै कुरा सोचें। खैर,यहाँ यस्ता घटना घटिरहन्छन् । म खास ठाउँमा छु । मेरा जस्ता घटना तपाईंले नदेख्न सक्नुहुन्छ । यी र यस्ता घटना देख्दादेख्दा मेरी आमाको काममा यसो गर्छु, उसो गर्छु, सबै खाका बनाइसकें। परेपछि जानिन्छ भन्ने चलनको अन्त्य गरेको छु, पहिल्यै जानेर।
झगडा सकिएन । एउटा लाउकेले बाँकी कुरा कोरामा गरौंला। यहाँ बेइज्जत नगर भन्दै ठुलो स्वर गर्यो। अचम्म लाग्यो अब इज्जतचाहिँ कता बाँकी होला...!
मलाई लाग्न त तिनीरूको कोरामा पनि जाउँ, ती कानका कस्ले लगाइदिएको थियो ? कस्ले लग्यो ? कति हजारको थियो ? कसरी बाँडियो ? किरिया खर्चको बाँडफाँड कसरी भयो ? श्रीसम्पतिको बाँडफाँड, सबै बुझ्न मन थियो। बाध्यता यता घारो कस्ले चलाउनेञ ...! आफ्नो काम सकाए। तिनै जनाको घर रहेछ काठमाडौमा । बस्न कसैकोमा मिल्दैन रे.. कसैकोमा कोठा नपुग्ने, कसैकोमा फोहोर हुने, कसैको लोकेसन नपर्ने... किरिया घरको १०७ नम्बर कोठालाई स्विकार्दै परालको मुठो बोकेर बाटो लागे।
किरिया पुत्रीले प्रयोग गरेका समानको रेट यति नै हो भनेर यकिन हुँदैन। तिनीहरूले कति दिए होलान् ? पैसा छैन भनेर कति प्रतिशत छुट मागे होलान्, कति समान त हामीले लगेकै छैन भने होलान्...। पन्डितलाई खर्च कति दिए होलान्? उनीहरूकी आमा बैतर्नी कसरी तरिन होला ? यावत् मनमा लागेका कुरा थिए, अधूरै रहे । म मेरै कामतिर लागेँ । अन्य लाशहरू जल्नका लागि लाइन कुरिरहेका थिए ... अहो !.झकाएँछु .. तरकारी डढेछ... तरकारी चलाउन थालें रातको नौ बज्नै लागेको थियो । खाना खाएर सुतें।
प्रकाशित: १४ जेष्ठ २०७८ ०७:०६ शुक्रबार