कला

अन्नको सराप लाग्ला !

बालापन

सूर्यप्रसाद लाकोजू

अहिले पलाञ्चोक त्यति विकट रहेन। तर म सानो छँदा पलाञ्चोक भगवतीसम्म पुग्ने मोटरबाटो थिएन। तिनताका तिीनपिपलेबाट हिँडेर जानुपथ्र्यो। पलाञ्चोकसम्म जाने अर्को बाटो लामिडाँडाबाट पनि थियो। तर हामी भने तीनपिपलेबाट हिँडेर जान्थ्यौं।

पलाञ्चोकमा केही मगरहरू थिए। उहाँहरू पनौतीमा आउनुहुन्थ्यो। विशेष गरेर उहाँहरू आउने समय भनेको पनौतीको जात्रामा हो । जात्रामा डोकाभरि चिउरी राखेर यहाँ बेच्न आउनुहुन्थ्यो। सँगै केरा पनि हुन्थ्यो बेच्नका लागि । उहाँहरू प्रायः जोडी आउनुहुन्थ्यो । त्यस्ता दुई÷तीन जोडी उहाँहरू हाम्रै घरमा बस्नुहुन्थ्यो। हाम्रो घरमा बस्नुको कारण ती आएकाहरूमध्ये एकजनासँग धेरै पहिले मेरो आमासँग मित लगाएका रहेछन् । जात्रा आएपछि चिउरी खान पाउँदा हामी पनि मक्ख पथ्र्यौं । केरा पनि खान पाइन्थ्यो । जात्रामा नबिकेको चिउरी हामीलाई छोडेर जानुहुन्थ्यो । हामी हप्तौंसम्म खान्थ्यौ। फर्कने बेलामा यताबाट डोकाभरि आलु, गहुँ लानुहुन्थ्यो। कहिलेकाहीं पुसतिर धान पनि लिन आएको हल्का याद छ । त्यसबापत उनीहरू हामीलाई मकै ल्याइदिन्थे। कहिलेकाहीँ बुबा आफैं मकै लिन जानुहुन्थ्यो । बुबा जाँदा आलु र गहुँको पैसा लिएर आउनुभएको पनि याद छ। त्यो बेला अहिले जस्तो सबैसँग पैसा हुँदैनथ्यो । भएका जिन्सी सामानको साटफेर गर्ने चलन थियो। हामी सानो छँदा घरतिर आलुसँग आरु, आलुबखडा साट्न ल्याउने चलन थियो । हामीले जत्रो भाँडामा आलु लग्यो तेत्रै भाँडाभरि आलुबखडा दिने चलन थियो । यसरी आलुसँग आरू, आरूबखडा साटेको थाहा पाएर बुबाले गाली गर्नुभएको आजै जस्तो लाग्छ । त्यसबेला गुन्द्रुक, मुलाको चाना, अम्बा पनि आलुसँग साट्न ल्याउँथ्यो।

बुबासँग म धेरै पल्ट पलाञ्चोक गएको छु । परिवारमा म जेठो छोरा । भाइहरू सानै थिए । तिनीहरूको उमेर तिनपिपलेदेखि हिँडेर पलाञ्चोक पुग्ने थिएन। त्यसैले बुबालाई साथी म नै जान्थें । त्यहाँबाट हिँडेर जाँदा आउने सुन्दर रानीवन, ब्याँसी अहिले पनि सम्झन्छु म। बाटाभरि फलेका आँप, भुइँकटहर, रुखकटहरले मन मोहित बनाउँथ्यो । बुबा घरबाट यसरी हिंड्दा जहिले पनि अलिकति चिउरा, चामल बोक्नुहुन्थ्यो।  

तिनताका डब्बा गाडी चल्थ्यो। हामी त्यही गाडी चढेर बनेपाबाट पलाञ्चोक गयौं । गाडी कोचाकोच थियो। गाडी एउटै हो । खलासीले अगाडि जानु अगाडि भन्दै थियो। म अगाडि   पुगेछु । बुबा भने पछाडि रहनुभएछ । तिनपिपले पुगेर गाडीबाट ओर्लें, बा त कतै देखिँदैन । मलाई आफू हराएछु, बा र म छुटेछौ भन्ने लाग्यो । म त रुन पो थालेछु । म रोएको देखेर एक जना भद्र मानिसले किन रोएको भनेर सोध्नुभयो। मैले  मेरा बासँग छुटेको कुरा बताएँ । उहाँले कहाँ जान लागेको बाबु भनेर सोध्नुभयो । मैले पलाञ्चोक भनेर उत्तर दिएँ । ‘ए हामी पनि उतै जान लागेका हौं । हामी बाबुलाई पलाञ्चोक पुरयाइदिन्छौं, नरोऊ बाबु’ भन्नुभयो । उहाँहरू दुई जना हुनुहुन्थ्यो । उहाँहरूले यति के भन्न भियाउनुभएको थियो  ‘गोरु कहाँ गइरहेको’ भन्दै बुबा मतिर आउनुभयो । बल्ल शान्तिको सास  फेरें । ती दुई भद्र मानिस आफ्नो बाटो लाग्नुभयो । हामी आफ्नो बाटो लाग्यौं । अहिले पो सम्झेर जिउ सिरिङ्ग हुन्छ । त्यो बेला बुबासँग साँच्चिकै छुटेको भए उनीहरूले पलाञ्चोक नै पुरयाइदिए पनि म सानो बच्चा कहाँ गएर बस्नु? के गर्नु? न अहिले जस्तो टेलिफोन, मोबाइलको सुविधा थियो  न मित आमाको घर थाहा थियो?

हामी गएको दिन साँझतिर हामी मित आमाको घर पुगेका थियौ । उहाँको घर पुग्नुभन्दा केही वर एक जना ब्राह्मणको घर रहेछ । उहाँसँग बुबाको राम्रो चिनजान र सम्बन्ध रहेछ। त्यहाँको बाजेले आज यतै बस्नुपर्छ भन्दै हुनुहुन्थ्यो । तर बुबाले भोलि बिहान खाना खान आउँछु बाजे भन्नुभयो । हामी केही छिनपछि मित आमाको घरमा पुग्यौं । मित आमाको घरमा मित ससुरा पनि हुनुहुन्थ्यो । हाम्रो घरमा पनि उहाँ नै प्रायः आलु, गहुँ लिन आउनुहुन्थ्यो । त्यो बेला उहाँले राम्रो व्यवहार देखाउनु भएन जस्तो लाग्छ मलाई । बुबा र उहाँ कुरा गर्नुभयो। पछि थाहा भयो यो पटक मकै वा पैसा दिन सक्दिन भन्नुभएछ। त्यसैले बुबा त्यहाँ बस्नु भएन । मित आमा र मित बाले यतै बस्नु भन्दै हुनुहुन्थ्यो तर मित बाको व्यवहारका कारणले होला हामी माथि आएर उनै ब्राह्मणको घर आएर बास बस्यौं। बुबाले आफूले लगेको चामल पकाउन भन्नुभयो तर बाजे मान्नुभएन । साँझमा आएको पाहुनासँग कहाँ चामल लिनु भन्दै लिनुभएन। हामीलाई दुध, एक थरी तरकारी र ढिँडो दिए । मलाई ढिँडो भनेपछि कन्सिरी तातेर आउने, खानै मन नलाग्ने । थोरै ढिँडो र एक कचौरा दुध खाएँ त्यो साँझ। बुबालाई ढिँडो मन पर्ने उहाँले मीठो मानेर खानुभयो।

छोराको मायाले होला, भोलिपल्ट पनि ढिँडो खुवाउलान् भनेर बुबाले आफूले लगेको चामलको भात पकाइदिन भन्नुभयो। चार माना जति थियो । हामीले लगेको चामलले सबैलाई भात पुग्यो । भात पाकेपछि पिँढीमा बसेर हामी भात खाँदै थियौं। बाजेको घरभन्दा ठिक अगाडि चौतारी थियो। बटुवाहरू त्यहाँ बसेर थकाइ मार्थे । त्यही बेला मेरै उमेरको एउटा केटा र उनका बुबा त्यहाँ सुस्ताइरहेका थिए । त्यो केटाले हामीतिर हेरेर केही भन्दै थिए । भाषा बुझिँदैन । बालाई सोधें, ‘बा के भनेका तिनले ?’बुबाले भन्नुभयो, हामीले दशैंमा सुकाएको मासुमा पर्ने किरा खाएको रे । उनीहरूले भात नदेखेर त्यस्तो भनेको होलान् ।’  मैले सोधें , ‘उनीहरू के खान्छन् त बा ?’ बुबाले भन्नुभयो,  ‘यता हामी कहाँ जस्तो धान फल्ने खेत छैनन् । उनीहरूले प्रायः भात खान पाउँदैनन्। धेरैले दशैंमा मात्रै भातको मुख देख्छन्। देख्यौ मान्छेलाई कस्तो छ? तिमीलाई पो ढिंडो खान मन पर्दैन त । घरमा भात पनि फाल्छौं।’ 

हामी नेवारीमा कुरा गर्दै थियौं । बाजेले ‘के भयो साहु’ भन्नुभयो । बुबाले केही होइन बाजे यसलाई अन्न फाल्नु हुन्न भनेर सम्झाउँदै छु। बाजेले थप्नुभयो, ‘हो नि बाबु, हामीले काम गर्ने त्यही अन्न कमाउन हो। तिमी र तिम्रो बा पनि त्यही कमाइका लागि पनौतीदेखि यति टाढा आएका होइनौ ?’ बुबाको र ती बाजेको कुरा सुनेर मनमा चसक्क चस्का पस्यो । कति गहन कुरा छ। संसारमा मान्छेहरू भोकभोकै मर्छन् । हामी खाने कुरा बेहिसाब फाल्छौं । खाना फाल्नुहुन्न भन्ने कुरा मैले त्यहाँबाट जानें । कलिलो दिमागमा परेको त्यो छाप अमिट भएर मनमस्तिष्कमा अहिले पनि बसेको छ।  बूढापाकाहरूले अन्न फाल्नु हुन्न। अन्नले सराप्छ भनेर त्यसै भनेको होइन रहेछ । त्यो भनाइको रहस्य अहिले बुझ्दै म । ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मूढाको’ भन्ने उखान त्यसै चलेको कहाँ हो र?  

प्रकाशित: ८ जेष्ठ २०७८ १०:५८ शनिबार

अक्षर