जनकपुरमा रहँदा एक दिन दुई युवा बडो उत्साहपूर्वक मलाई भेट्न आएका थिए। त्यसअगाडि उनीहरूसँग मेरो कुनै भेटघाट थिएन, औपचारिक कुराकानी थिएन।
भेट गर्न आएको कारण सोध्दा उनीहरूले आफ्नो परिचय दिँदै बडो विषादपूर्ण स्वरमा भनेका थिए– हामी त फिल्म बनाउन तम्सेकाहरू, मैथिली फिल्म नचलेपछि लगानी डुब्यो, निकै घाटा सहनुप¥यो।
एकजना त आफूले चलाएको स्कुल बेचेको, खेत बेचेको कुरा गरे। अर्काले यस्तै आफ्नो सोख पूरा गर्न भएभरको सम्पत्ति लगाउँदै आएको कुरा राखे। अद्भुत कुरा के थियो भने, यति हुँदाहुँदै पनि उनीहरूको अनुहारमा पीडा थिएन, बरु अझ केही गर्ने उत्साह थियो, प्रतिबद्धता थियो। उनीहरूलाई मैले भनेको थिएँ– मैथिली फिल्म हेर्न दर्शक मानिरहेका छैनन्। हिन्दी फिल्मको तामझाम र भोजपुरी फिल्मको यौनाकर्षणहरू मैथिली फिल्मको सामान्य दृश्य र निर्माणप्रति सधैँ हाबी रहने हुँदा दर्शकको अभाव हुन पुगेको हो। ठूलो बजेटको मैथिली फिल्म बन्न सके त्यसले दर्शक पाउला र लगानी पनि उपर गर्न सकिन्छ।
खुदरा रूपमा निजीस्तरमा रूपैयाँ लगानी गरी फिल्म बनाउने, पाँच–सात लाख खर्च गर्ने र अन्ततः आफ्नो अनुहार टिभीमा हेरेर सन्तोष गर्ने मात्र नगरी सबै उत्साहीहरू एक ठाउँमा भेला भई संयुक्त लगानीमा फिल्म बनाइयो भने त्यो अवश्य सफल हुने मेरो सुझाव थियो।
उनीहरू भविष्यमा सहयोग गर्नुपर्यो भन्दै गए। आज तीन–चार वर्ष भइसकेको छ। उनीहरूको फिल्म वा एल्बम क्षेत्रमा के कति गतिविधि भइरहेको छ, मलाई थाहा छैन। फिल्म भने बन्न छाडेका छैनन्।
अहिले भारतमा केही राम्रा फिल्मको घोषणा भएको छ। भोजपुरी फिल्मकी चर्चित नायिकालाई मुख्य भूमिकामा राखेर र उच्च प्रविधिमा गीतहरूको रेकर्डिङ र छायांकनको काम हुँदै छ। मुम्बईका स्टुडियोमा फिल्मांकनको काम भइरहेको जानकारी प्राप्त भएको छ। यो निकै सुखद र अरू साथीहरूका लागि प्रेरणास्पद समाचार हुन सक्छ।
स्वान्तः सुखाय फिल्म बनाउनु एउटा कुरा हो, त्यसलाई व्यावसायिक रूपमा निर्माण गर्नु अर्काे कुरा। आफैँ लेखक, निर्देशक, नायक, गीतकार, गायक, संगीतकार, पटकथा र संवाद लेखक र निर्माता पनि ! ल भयो ‘बेरा गर्क !’ विविधता आएन, पैसा लगाएकाले आत्मसन्तोष भयो– आफूलाई पर्दामा हेर्न पाएर। यो मात्र मैथिली सिनेमाको भविष्य होइन क्यार ! बडो गम्भीरतापूर्वक सोच्नुपर्छ।
राम्रो कथाको चयन होस्, पटकथा र संवाद लेखक छानियोस्। मिहिनेत गरेर कलाकारको छनोट होस्, प्राविधिकमा पनि कुनै सम्झौता नहोस्, नियमित गीत लेखकले गीत लेखून्, संगीत क्षेत्रमा दक्षता राखेकाले संगीत गरून्, द्वन्द्व, सम्पादन, छायांकन सबै सुझबुझका साथ तय गरियोस् र एउटा प्रतिबद्ध फिल्मप्रेमी, लगानीकर्ताको मञ्च होस्– यसरी फिल्मको निर्माण थालिएको हुनुपर्छ। यो स्थिति मैथिलीमा आएपछि फिल्मप्रतिको धारणामा परिवर्तन हुनेछ र व्यापक रूपमा आयआर्जन गरी फिल्म निर्माणको बाटोलाई फराकिलो पार्र्नेछ।
‘एकटा आओर वसन्त’को निर्माण कथा
यसै क्रममा मेरो निकै चर्चित नाटक ‘एकटा आओर वसन्त’लाई फिल्ममा उतार्नुपर्ने निर्णयमा पुग्दा त्यसबारे व्यापक गृहकार्य गरिएको थियो। पटकथा र संवाद लेखेँ, गीतहरू लेखेँ। एउटा टाइटल गीतको रेकर्डिङ गर्न काठमाडौं आउनुपर्ने अवस्था आयो। एउटा गीतका लागि १५ दिन काठमाडौंमा बस्नुपरेको व्यथा छँदै छ। गायक, गायिकाको अभाव खेपेर पनि संगीतकार सुनिल मल्लिक निकै मिहिनेत गरेर दुइटै गीतको संगीत तयार पारी ध्वनांकन गरेका थिए।
गीत तयार भएपछि टिमको तयारी सुरु भयो। म कुनै एउटै गाउँमा सम्पूर्ण फिल्म सुटिङ गर्ने पक्षमा थिएँ र त्यसका लागि ठाउँ खोज्दै महोत्तरीको एकडरा पुगेँ। नायकको रूपमा एकडराकै अमितेश साहलाई तय गरियो। नाटकमा कहिलेकाहीँ खेल्ने मटिहानीकी सौर्या साहलाई नायिकाको रूपमा चयन गरियो। मुख्य सहायक पात्रमा रमेश रञ्जन झा (नेगेटिभ रोलमा)लाई राखियो। फिल्मकी निर्मात्री सरस्वती चौधरीका लागि विशेष रूपमा थप एउटा कथा फिल्ममा जोडियो। उनलाई समाजसेविकाको रूपमा प्रस्तुत गरिएके थियो। हास्य पात्रका रूपमा उपेन्द्र भगत नागवंशीलाई अभिभारा दिइयो। अन्य पात्र–पात्राको छनोट पनि सम्पन्न भयो।
फिल्मका लागि निर्देशकको रूपमा सुभाष गजुरेललाई अनुबन्धित गरियो भने उनकै सल्लाहमा छायांकारको रूपमा राजु मानन्धरलाई जिम्मेवारी दिइयो। टिम तयार भो र सबै कलाकारलाई एकडरा गाउँमा अमितेशकै घरमा बस्ने व्यवस्था मिलाइयो। खाना पनि त्यहीँ बनाउने गरी भान्से, भाडा वर्तन र आवश्यक सबै सामग्री थुपारियो। फिल्म नसकुञ्जेल कसैले कतै जान नपाउने गरी बन्देज लगाइयो। अद्भुत र रोमाञ्चक अनुभवबीच मैले नरिवल फोडेर फिल्मको सुटिङ सुरुवात गरेँ। कथाको विषयवस्तु बिहानै सुभाषजीलाई बुझाइदिन्थेँ र त्यसै अनुसार दिनभरि सुटिङ हुन्थ्यो। रातिका दृश्य पनि छायांकन गरिएको थियो। १५ दिनभरि त्यो गाउँ फिल्ममय भएको थियो।
फिल्म निर्माणका क्रममा केही बाधा–अवरोध र कठिनाइ पनि आए। सर्वप्रथम नायक अमितेश शाह बिरामी परे। हामी प्रतीक्षा गर्यौँ, छिटै ठीक नभएपछि सहायक कलाकार विनय मण्डललाई नायक बनाउनुपर्यो र अन्य पात्रमा पनि व्यापक परिवर्तन गर्नुपरेको थियो।
त्यस्तै, गीतको छायांकनमा नायिका नायकको छातीमा भावविह्वल भई टाँसिन नमानेपछि पनि परिसानी भएको थियो। परेसानी त तब भयो, जब यसमा राखिएको एउटा ‘रेप’ दृश्य फिल्मांकन गर्न नायिका सौर्या शाहले पटक्कै मानिनन्। त्यो दृश्य एउटा विधुवाका लागि आघात थियो। फिल्म विधवा विवाहमा आधारित छ। एकजना मिल्ने साथीले सम्झाएपछि उनी तयार भइन् र त्यो महत्वपूर्ण दृश्य फिल्मांकन भयो। यद्यपि त्यसमा पनि उनले अलि जिउ लुकाएकी थिइन्, तर त्यो दृश्य अत्यन्त सार्थक भएको थियो। नेपाल टेलिभिजनबाट यो फिल्म प्रसारित हुँदा यो दृश्य हटाएर प्रदर्शन गर्ने भनी त्यहाँबाट आएको खबर मैले ठाडै अस्वीकार गरेको थिएँ। अन्ततः टेलिभिजनले त्यो दृश्य राख्न बाध्य भयो।
नायिका दुनियाँदारीको व्यवहारबाट आजित भएर आत्महत्या गरेको एउटा स्वप्न दृश्य फिल्मांकन गर्नु थियो। म आफ्नो पटकथामा नायिकाले जनकपुर रेलबाट कुदेर आत्महत्या गरेको लेखेको थिएँ। यो दृश्य नायकले सपनामा देख्छ र त्यसैबेला ऊ उनीसँग बिहेको निर्णय गर्छ। त्यसले पनि त्यो दृश्यलाई स्वाभाविक रूपमा फिल्मांकन गर्नु जरुरी थियो। रेलमा सुटिङ गर्न जनकपुर जानुपथ्र्यो। हामी एउटै ठाउँमा फिल्मांकन सम्पन्न गर्ने अठोट गरेका थियौँ।
त्यस समस्याको समाधान निर्देशक गजुरेल र छायांकार राजुले निकाले र मलाई सुनाए। सुनेपछि म दंग परेर स्वीकृति दिएँ। नायिकालाई टाढाबाट दगुर्र्दै आइरहेको दखाइएको छ र एउटा इनारको डिलमा चढेर तल पानीमा उनले हेर्छिन् र हाम फालेर ज्यान दिन लागेको जस्तो देखिन्छ। त्यो दृश्य अत्यन्त स्वाभाविक रूपमा फिल्मांकन गरियो र सबैले प्रशन्नतापूर्वक राजुलाई बधाई दिए।
त्यस्तै ‘सखी हे सावन के बुन झिसी, पियासँग खेलु पचिसी ना’ बोलको गीतमा नृत्य गर्ने महिलाको समस्या खडा भयो। जहाँ खोजे, छैन ! मैथिलीभाषी क्षेत्रमा त्यतिबेला महिला पात्रको कमी त छँदै थियो, नृत्यमा झन् अकाल थियो। अचेल निकै महिलापात्र र नृत्यांगना आएका छन्। २०५२ सालको अवस्था संकटग्रस्त थियो। त्यसपछि आ–आफ्नो स्रोतका आधारमा साना केटीहरूलाई गीतमा नृत्य गर्न ल्याइयो। राजु मानन्धर आफ्नो विशिष्ट शैलीमा निकै मिहिनेत गरेर उक्त गीतको फिल्मांकन गरे। नृत्य प्रशिक्षणमा श्रीहरि घिमिरेको प्रयास प्रशंसनीय थियो।
यसरी विभिन्न उत्तार–चढावसहित फिल्म ठ्याक्कै १५ दिनमा पूरा भयो। कलाकार युनिटका सबै साथी प्रशन्न थिए। आवास, भोजन र सुटिङको सेड्युल अत्यन्त व्यवस्थित भएकाले डेढ घन्टाको फिल्म निर्धारित समयमा सम्पन्न हुन सक्यो। पर्याप्त होमवर्क गरेर कार्यप्रारम्भ गरियो भने त्यसले निश्चित सफल हुने कुरामा यस क्षेत्रमा लागेकाले बुझ्न सक्नुपर्छ।
‘एकटा आओर वसन्त’ले केही नयाँ आयाम पनि थपे। मिथिला अक्षरमा फिल्मको नाम लेखे, चार एपिसोडमा विभाजन गरेर प्रथमचोटि मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट देखाइयो, प्रथमचोटि कुनै मैथिली फिल्म प्रायोजित गरिएको थियो, पहिलोचोटि ‘रेप’ दृश्य राखियो, प्रथमचोटि एउटै गाउँमा पूरै फिल्मको सुटिङ एउटै निर्धारित समयावधिमा गरियो। जनकपुरधाममा भएको मैथिली लघुफिल्म फेस्टिभलमा ‘एकटा आओर वसन्त’ले दशवटा पुरस्कार प्राप्त गर्न सफल भएको थियो।
मैथिली फिल्म क्षेत्रका लागि यो एउटा प्रतिनिधि प्रसंग हो। आजभन्दा २५ वर्षपूर्व बनेको यो फिल्म पुरानो प्रविधिमा निर्माण भए पनि सार्थक विषयवस्तु र सन्तुलित व्यवस्थापनकै कारण आज पनि हेर्दा त्यत्तिकै आनन्द आउँछ।
अहिले प्रदेश २ मा फिल्म बोर्डको निर्माण गरिएको छ। स्थानीय कथानक र भाषाहरूमा राम्रा–राम्रा चलचित्रको निर्माणमा यसले सघाउनुपर्छ। जनकपुरधाम र यस क्षेत्रका सांस्कृतिक सम्पदाको वृत्तचित्र बनाएर प्रदर्शनको व्यवस्था गर्नुपर्छ। यसले प्रदेशको पर्यटकीय गन्तव्यलाई अझ व्यापक रूपमा प्रचार–प्रसार गर्न सहयोग मिल्ने पक्का छ।
अन्तमा
मैथिली फिल्म क्षेत्रमा लागेका मित्रसँग मेरो यही आग्रह छ, फिल्मको कथाको चुनाव गम्भीरतापूर्वक हुनुपर्छ, कलाकारको चयन भूमिका अनुसार उपयुक्ततालाई ध्यानमा राखी गर्नुपर्छ, फिल्म संयुक्त लगानीमा बनाउनुपर्छ, एकै व्यक्ति सबै पक्षमा हाबी हुनु हुँदैन र फिल्मको व्यापक प्रचारप्रसार हुनुपर्छ। यो गर्न सके मैथिली फिल्मको पनि बजार आउला, आशा गर्न सकिन्छ।
प्रकाशित: १ जेष्ठ २०७८ ०३:५७ शनिबार