कला

आमा

लघुकथा

लता केसी  

 

धनमायाका जुम्ल्याहा छोरा थिए।  ससाना बालखा उनको काखमा छाडेर उनका लोग्ने बितेको पनि धेरै वर्ष भयो । बुबा पनि आमा पनि बनेर एक्ली उनले छोराहरू हुर्काएर योग्य बनाइन् । दुवै छोरा आमा भनेपछि हुरुक्क हुन्थे  तर पनि  दुवै दाजुभाइले मनमा एउटा विश्वास पालेका थिए – आमाले मलाईभन्दा बढी माया उसलाई गर्छिन् भन्ने । त्यसै सोचको कारणले उनीहरूबीच मनमुटाव बढदै गयो।

सधैैंझैं उनीहरू झगडा गर्थे र जो जित्थ्यो , ऊ खुसी हुन्थ्यो । आमाले कति सम्झाउँदा पनि आँखा अगाडि ठीक्क बन्थे तर मौका पायो कि एक अर्कालाई होच्याएर काखी बजाउँथे । छोराहरूको  यो  व्यवहारले  आमा बडो चिन्तित भइन् ।  

‘कसरी मिलाउनु ? नत्र ....!’ यही चिन्ताले उनी चिताको अगाडि पुग्दै थिइन् ।

जेठाले करायो– हेर भाइ, झगडा नगर् है ।  तँ आमाको कान्छो   छोरो भएर पुल्पुलिएर, मात्तिएर !  

वाक्य खस्न नपाउँदै भाइ कान्छा उफ्रियो, ‘अझ बढी हुन्छस् ? जेठो भएर सानालाई हेप्न खोज्छस् ? आमाको प्यारो जेठो छोरो भएर !

भनाभन चर्कियो । आफ्नै अघिल्तिर छोराहरूको युद्ध हेर्न उनलाई गाह्रो भयो । दुवै छोरालाई ओछयानबाट इसारा गरेर छेउमा बोलाइन् । दाइभाइलाई सम्झाउँदै उनले भनिन्, ‘तिमी दाइभाइको  पीडाले एकअर्कालाई नछोला । तर, मलाई तिमीहरू दुवैको पीडाले मुटु दुख्छ किनभने म तिमीहरूकी आमा हुँ।’

प्रकाशित: २८ वैशाख २०७८ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App