कला

कला स्कुलिङको इतिवृत्ति

सामान्य सन्दर्भमा कला स्कुल र कला–स्कुलिङको अर्थ, भाषा र प्रक्रिया अलग–अलग हुन्छन् । सामान्यतः कला स्कुलले औपचारिक शिक्षा र कला स्कुलिङले अनौपचारिक शिक्षा बुझाउँछ ।

कला स्कुलको अर्थ पाठ्यक्रम अनुसार कलाका आधारभूत ज्ञान र सीपका साथसाथै अन्य विषयमा पनि ज्ञान र सीपलाई प्रवाह गर्ने भन्ने हुन्छ । कला स्कुल औपचारिक यस्तो संस्था हो, जहाँ बढी सीपलाई जोड दिए पनि कलाको मूल अवधारणा, कलाकै अर्थ र आसय गहिरो तवरमा सम्प्रेषण गर्न कोसिस गरिन्छ । कति यस्ता स्कुलमा त अमुक राष्ट्रको संस्कार र संस्कृतिलाई गहिरोसँग समावेश गरिएका हुन्छन् । यसको आसय यस्तो हुन सक्छ, जब कलाकार सिर्जन प्रक्रियामा लागिरहेका हुन्छन्, यसवेला उनको मन–मस्तिष्कमा यस्ता संस्कृतिले अनुकूल मोटिफ कल्पना गर्न मद्दत गरोस् । यसबाट उसको सिर्जनामा आफ्नो मौलिकता स्पष्ट दृष्टिगोचर हुन जान्छ । यसैबाट एउटा अलग्ग स्कुलिङको लय समाउने सन्दर्भ देखापर्न सक्छ । 

 स्कुलिङको अर्थ भने थारै अलग्ग छ । सदियौँदेखि चली आएको आफ्नो मौलिक कलाका शैली–प्रवृत्ति र दर्शनलाई अनवरत रूपमा पिँढी–दरपिँढीसम्म निरन्तरता दिनुलाई स्कुलिङको अर्थमा बुझिन्छ । मौलिक स्वरूपलाई कायम राख्न कति कलामा नितान्त कडा नियम पनि अवलम्बन गरिएका हुन्छन् । विषयवस्तु, मोटिफ, रङ संयोजन, समसामयिक घटना र अवस्थालाई बुझेर गहन निर्देशनका साथ अनुसरण गर्न बाध्य पारिएका समेत हुन्छन् । यसो भनेर परम्परागत कलामा अमुक विज्ञको निर्देशनलाई जस्ताको तस्तै मान्नुपर्छ वा कलाकारले आफ्नो स्वतन्त्रता गुमाउनुपर्छ भन्ने पनि होइन । कलाकारले उन्मुक्त भएर नौलो प्रयोग गर्न पाउँदैन भन्ने पनि होइन । तर, पुराना नियमले कलाको मौलिकता र अवधारणातर्फ प्रेरित गर्छ । समयसँगै त्यो एउटा स्कुलिङका रुपमा देखापर्छ ।

स्वदेश फर्केपछि तेजबहादुर चित्रकारले जुद्धकला पाठशालामा र चन्द्रमानसिंह मास्केले दरबार हाई स्कुलमा प्राध्यापन गर्न थाले । दरबार हाई स्कुलमा अलग्ग ललितकला पढाइँदैनथ्यो, तथापि जसरी कलालाई त्यहाँ सिकाइन्थ्यो, पश्चिमी पद्धतिलाई अवलम्बन गरेर सिकाइन्थ्यो । जुद्धकला पाठशाला कलाकै स्कुलका रूपमा विकास भएकाले त्यहाँ औपचारिक कलाको पाठ्यक्रम बनाएरै पढाइन्थ्यो ।  

यसर्थ दुवै कला शिक्षा (कला स्कुल र कला–स्कुलिङ)मा सिकाइको भूमिका प्रबल हुन्छ । सिकाइ भनेको अमुक विषय बुझेर आत्मसात गर्नु वा, त्यसलाई व्यवहारमा प्रयोग गर्नु पनि हो । दुवै कला शिक्षामा शैली, माध्यम, प्रविधि र दर्शन अलगअलग हुने हुँदा यसको सिकाइका रूपमा देखिने कलामा मौलिकता रहन्छ कि रहँदैन, वा यसको निरन्तरता कसरी, कस्तो प्रक्रियाबाट अगाडि बढ्छ ? यसैलाई स्कुलिङको रूपमा व्याख्या–विश्लेषण गरिन्छ । सिकाइ व्यक्ति विशेषको आन्तरिक प्रक्रिया हो । व्यक्ति विशेषले औपचारिक वा अनौपचारिक दुवै खाले शिक्षाबाट आफ्नौ मौलिक गुणलाई पहिचान गर्न अनि यसलाई प्रयोग र अभ्यास गर्न सक्छ । यही शिक्षाले उसको धारणामा सकारात्मक परिवर्तन आई व्यवहारमा यसको परिणति देखापर्छ । तथापि यसका लागि हामीले शिक्षाको विषय र प्रक्रियालाई कसरी डिजाइन गरेका छौँ, कतिको गुणात्मक तरिकाले यसलाई प्रवाह गरेका छौँ, यसैमा भरपर्नुपर्ने हुन्छ ।

कला पाठ्यक्रम  

औपचारिक र अनौपचारिक दुवै शैक्षिक प्रक्रियामा कला स्कुलिङ कायम हुन सक्ने सम्भावना हुन्छ । नेपालमा अनौपचारिक कलाको शिक्षा प्रक्रिया संस्कार, जात्रा, चाडपर्व आदिसँग सम्बन्धित देखिन्छ, जुन कला परम्परागत कला र लोककलाका नाममा हजारौँ वर्षदेखि चली आइरहेको छ । औपचारिक कला शिक्षाको भने सय वर्ष पनि कटेको छैन । परम्परागत रूपमा स्थापित कला शैलीलाई औपचारिक कलाका स्कुलमा समायोजन कसरी गरिएका छन् ? यसको चर्चा गर्नु महत्वपूर्ण छ । अनौपचारिक रूपमा विकास भइरहेको परम्परागत कला आफ्नै गतिमा बढिरहे पनि कहिलेकाहीँ यसमा समसामयिक कलाको प्रभाव पर्न सक्छ । यो अहिले नेपालमा यथेष्ट रूपमा देखापरिरहेको छ । तर, यसरी नयाँ रुपमा देखिएका कलामा आफ्नोपन र आफ्नो विशेषता गाँसिन जरुरी छ । कतिपय अवस्थामा नबुझेरै कलामा कसैको शैली, दर्शन अनुसरण भइरहेको हुन्छ । यसलाई हेक्का राख्न जरुरी छ । बाह्य कलाको पद्धतिमा विकास भएको समसामयिक कलालाई कुनै पनि राष्ट्रमा अवतरण गराउँदा माटो सुहाउँदो बनाइनुपर्छ । यसर्थ नेपाली समसामयिक कलाको स्वरूपलाई नेपालीपनका साथ विकास गर्न भने ठूलै चुनौती छ ।

 औपचारिक कला  

नेपाली कला इतिहासमा औपचारिक रूपमै पाठ्यक्रम विकास गरेर कला सिकाउन थालेको २०औँ शताब्दीको उत्तरकालमा हो । नेपालबाट पहिलोपल्ट तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कलाकारद्वय चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारलाई कलाको शिक्षा लिन कलकत्ताको ‘गर्भमेन्ट स्कुल अफ आर्ट’मा पठाएका थिए । त्यस बखत बेलायतमा पढाइने कलाको पाठ्यक्रमसहितका कला स्कुल भारतको कलकत्ता (सन् १८५४), मद्रास (१८५०),  मुम्बई (१८५७ ) र लाहोर (१८५७) स्थापना भएका थिए । ब्रिटिस सरकारले पश्चिमी कला–संस्कृतिलाई भारतमा विधिवत स्थापित गरी भारतीय कलाभन्दा पश्चिमी कला अब्बल रहेकोे दाबी गर्न पनि यस्ता कलाका स्कुल खोलेका थिए ।  

पछिल्लो कालसम्म मुम्बई, लाहोर वा मद्रासमा पश्चिमी कलाका पद्धतिलाई मात्र अवलम्बन गरेको देखियो । कलकत्तामा पश्चिमी पद्धतिमा एउटा नौलो आयामका रूपमा भारतीय परम्परागत कलालाई पनि समाहित गरी कलामा नौलो आयाम खडा गरेको देखिन्छ । कलकत्ताको ‘गर्भमेन्ट स्कुल अफ आर्ट’मा इबी हवेलको नेतृत्वमा केही भारतीय कलाकार, कलाविद्, कला समीक्षकको पहलमा भारतीय कलाको पुनर्उत्थान भएको थियो । जसलाई बंगाल शैली पनि भनिन्छ । यो एउटा स्वदेशी कला–आन्दोलनको रूपमा पनि चिनिन्छ ।  

सन् १८९६ मा इबी हवेल ‘कलकत्ता स्कुल अफ आर्ट’मा निर्देशक भएर आएका थिए । उनले भरतीय मुगल, राजपुत कलाको शैलीलाई आधार मानेर चित्रको रचना गर्नुपर्छ भन्ने अवधारणा ल्याएका थिए । यसपछि पर्सी ब्राउन र कुमार स्वामी भारतीय कलाको आदर्श गुण प्रचार–प्रसार गर्नतिर लागे, जसकारण कलाकारको विचारधारामा स्वदेशी कलाप्रति नयाँ दिशा मिलेको थियो । हवेलले ब्रिटिस कला पद्धतिलाई हटाएर भारतीय पारम्परिक शैलीलाई आधार मानेर कला शिक्षण प्रारम्भ गरे । उनले भारतीय कलासम्बन्धी थुपै्र पुस्तक प्रकाशनमा ल्याए । कलाको आफ्नो मौलिकता स्थापना गर्नुलाई कलाकार, कलाविद्, कला समीक्षक संयुक्त रूपमा लागेको यो अवस्थाले गर्दा कालान्तरमा कलाकारका साथै कला लेखनले पनि एउटा गति लिएको देखिन्छ ।

हाम्रो कलाको मौलिक तत्व वा यसका स–साना अवयवलाई पहिचान गरेर, आज विश्वमा देखापरेको कलाको पद्धतिसँग जोडेर हामीकहाँ कला–पाठ्यक्रमको विकास हुन जरुरी छ । यसका लागि सही कला विज्ञ समावेश भएको समिति हुनुपर्छ । त्यस्ता विज्ञ, जसलाई कमसे कम विश्व र नेपालको कला इतिहासको यथेष्ट ज्ञान होस्, कलामा अध्ययन र अनुसन्धान गरेको व्यक्ति होस् ।  

हवेलपछि सन् १९०५ मा अवनिन्द्रनाथ ठाकुर कलकत्ता स्कुल अफ आर्टको आचार्य बने । उनी उच्च स्तरको कलाकार, प्राज्ञिक व्यक्तित्व र नवीन सोच भएका व्यक्ति थिए । जसकारण आज पनि भारतीय समसामयिक कलामा भारतीयपन यथेष्ट मात्रामा छ । यति मात्र होइन, उनी पछिका कैयौँ मूर्धन्य कलाकारले यो संस्कारलाई अगाडि बढाए । आज यसले मूर्त रूप लिएको छ । सन् १९१६ मा अवनिन्द्रनाथ, सुरेन्द्र कर, नन्दलाल बोस, असित कुमार, हल्दार क्षितिन्द्रनाथ मजुम्दार आदिले ‘इन्डियन सोसाइटी अफ ओरियन्टर आर्ट’ स्थापना गरेका थिए । यतिबेला यो कला आन्दोलन यसरी चर्किएको थियो कि भारतीय मुगल राजपुत शैली मात्र होइन, अजन्ता कलाका शैलीदेखि बंगाली लोककलालाई समेत आधार मानी नयाँ कला शैलीको विकास भएको थियो । यसैबेला नेपालबाट चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकार यही कलाको स्कुलमा अध्ययन गर्न पुगेका थिए । स्वभावतः यो कलाको शैली र कलामय वातावरण अवश्य पनि यी नेपाली कलाकारले आत्मसात गरेको हुनुपर्छ । किनकि यी कलाकार नेपाल फर्केपछि नेपाली कलामा नयाँपन आएको आभास भयो । यसका साथै पहिलोपल्ट ‘कला समिति’ भन्ने कला संस्था खोलियो, जसको अध्यक्ष चन्द्रमानसिंह मास्के थिए । यो संस्थाले कलाका धेरै गतिविधि गरेका थिए । यसै वेलादेखि कलामा नयाँ तरंग देखापरेका थिए ।  

    यी दुवै कलाकार आफ्नो पढाइ सकेर नेपाल फर्केपछि सन् १९३० दशकको उत्तरकालतिर एक प्रकारले पश्चिमी कला–पद्धतिबाट नेपालमा कला पढाउन सुरु भइसकेको अवस्था थियो । स्वदेश फर्केपछि तेजबहादुर चित्रकारले जुद्धकला पाठशालामा र चन्द्रमानसिंह मास्केले दरबार हाई स्कुलमा प्राध्यापन गर्न थाले । दरबार हाई स्कुलमा अलग्ग ललितकला पढाइँदैनथ्यो, तथापि जसरी कलालाई त्यहाँ सिकाइन्थ्यो, पश्चिमी पद्धतिलाई अवलम्बन गरेर सिकाइन्थ्यो । जुद्धकला पाठशाला कलाकै स्कुलका रूपमा विकास भएकाले त्यहाँ औपचारिक कलाको पाठ्यक्रम बनाएरै पढाइन्थ्यो । यहाँ पनि पश्चिमी कला पद्धतिबाटै पढाइन्थ्यो । तथापि यसै वेला मुम्बईको जे जे स्कुल अफ आर्टबाट ओरिन्टल कलामा विधिवत अध्ययन गरेका केशव दुवाडी जुद्धकला पाठशालाको हेड मास्टर थिए । यसभन्दा पहिला कलाकारले राणा प्रधानमन्त्रीको दरबारभित्र कलाकारका रूपमा काम गर्ने, विशेष गरेर राजा–महाराजाको इच्छा अनुसार कला बनाउने परम्परा  थियो । राणा सरकारले नै यसको शुभारम्भ गरे पनि यी बाहिर पढेर आएका कलाकारले कलालाई औपचारिक रूपमा स्थापना गर्ने महत्वपूर्ण काम गरेको देखिन्छ ।  

जहाँसम्म कलाको पाठ्यभारको सन्दर्भ छ । सन् १९३४ मा स्थापना भएको आर्ट स्कुल (पहिलो औपचारिक आर्ट स्कुल)मा विषयवस्तु र पाठ्यभार कस्तो थियो स्पष्ट अभिलेख हामीसँग छैन । सायद यस बखत पश्चिमी पद्धतिबाटै कला सिकाइन्थ्यो । यसको एक मात्र कलाशिक्षक चतुररत्न थिए । उनका तीनजना विद्यार्थी थिए– चन्द्रबहादर मानन्धर, कालीदास श्रेष्ठ र जीवरत्न शाक्य । पछि यी सबैजना जुद्धकला पाठशालाका शिक्षक नियुक्त भए । कला स्कुलमा केही नसिकेको भए यी कलाकार जुद्धकला पाठशालामा कसरी शिक्षक नियुक्त हुन सक्थे । यसकारण अनौपचारिक रूपमै भए पनि चतुररत्न राम्रै कलाकार भएको हुनुपर्छ । यसैवेला कलामा प्रशिक्षित कलाकारद्वय चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारलाई किन यो स्कुलको जिम्मा दिइएन, योे एक अलग्ग खोजको विषय छ ।

कला स्कुलको विकसित रूपमा वि.सं. २००० मा स्थापना भएको जुद्धकला पाठशालासम्म आइपुग्दा कलाको पाठ्यक्रम हल्का रूपमा विकसित भएको देखिन्छ । तथापि यसबखत पनि सूक्ष्म रूपमा पाठ्यभारको विश्लेषण गरिएको अभिलेख पाइँदैन । केशव दुवाडीको अगुवाइमा चलेको यो कला स्कुलमा भारतको जेजे स्कुल अफ आर्टको कला पाठ्यक्रमको कतिको प्रभाव रह्यो, वा यसलाई एक अलग्ग नेपालीपनका साथ विकास गरियो भन्ने अध्ययन गरिएको छैन । यस कला स्कुलमा ६ वर्षको कोर्सको मात्र व्याख्या गरिएको छ । पाँच वर्षको अध्ययनपछि कला कौशलको र ६ वर्ष पूरा भई विधिवत पास भएपछि कला प्रवीणको उपाधि दिने चलन देखिन्छ । पछि यही जुद्धकला पाठशाला ललितकला क्याम्पसमा परिणत भई अझ परिष्कृत रूपमा कलाको पठनपाठन सुरु भएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको यो क्याम्पस सुरुमा नेपालमा यही मात्र एक ललितकला अध्ययन गराइने एकाइको रूपमा रहेको थियो । पछि काठमाडौं विश्वविद्यालय अन्तर्गत ‘आर्ट एन्ड डिजाइन’ खुल्यो । सिर्जना कलेज टियुको आंगिक कलाको निकायका रूपमा स्थापना भयो । हालसम्म यी कलाका निकायभन्दा उपत्यकाबाहिर कहीँ पनि ललितकला पठनपाठन गर्ने ठाउँ छैन । पछिल्लो कालमा आएर प्लस टुमा पनि ललितकला अध्ययन गर्ने व्यवस्था भएपछि ५–६ वटा काठमाडौं उपत्यकामा, उपत्यकाबाहिर एउटा पोखरामा र पूर्वमा मोरङको पत्थरीमा कला स्कुल स्थापित भएका छन् । यो व्यवस्थाले कमसे कम कला सिक्नेका लागि अवसर दिएको मान्नुपर्छ ।      

औपचारिक शिक्षामा गुणस्तर  

औपचारिक कला शिक्षाको क्रम बढिरहँदा गुणात्मक हिसाबले राष्ट्रभरि जसरी फैलनुपर्ने हो, त्यो देखिँदैन । काठमाडौं उपत्यकाभित्र रहेका कलाका स्कुल, कलेजले नेपालभरिका कलाकारलाई यतै आउन बाध्य पारेको छ । अर्कोतिर अहिले पनि युनिभर्सिटीजस्तो प्राज्ञिक थलोमा कलाको गहन सवालमा सेमिनार र प्राज्ञिक बहस भएको पाइँदैन । उही पाठ्यक्रममा रहेको प्राक्टिकल र थ्योरिटिकल विषयमै कला शिक्षा अल्झिएको देखिन्छ । आज पनि विश्व विद्यालयले जर्नल निकालेको देखिँदैन । कलाका प्राडाहरूले वा अध्यापन गर्नेले गहन अनुसन्धान गरी पुस्तक निकालेको देखिँदैन । यसको सीधा असर कलाका विद्यार्थीमा पर्न गएको देखिन्छ । यसले गर्दा हामीले अध्ययनरत विद्यार्थीलाई कुनै कुरा किन दिइरहेका छौँ र के बनाउन गइरहेका छौँ भन्ने ध्येयमा अन्योल देखिन्छ ।  

समसामयिक कला र परम्परागत लोककला बीचको समन्वय, पूर्वीय र पश्चिमी कला–दर्शनको आन्तरिक तत्वलाई मिलाएर अगाडि लैजानुपर्छ । हाम्रो कलाको मौलिक तत्व वा यसका स–साना अवयवलाई पहिचान गरेर, आज विश्वमा देखापरेको कलाको पद्धतिसँग जोडेर हामीकहाँ कला–पाठ्यक्रमको विकास हुन जरुरी छ । यसका लागि सही कला विज्ञ समावेश भएको समिति हुनुपर्छ । त्यस्ता विज्ञ, जसलाई कमसे कम विश्व र नेपालको कला इतिहासको यथेष्ट ज्ञान होस्, कलामा अध्ययन र अनुसन्धान गरेको व्यक्ति होस् ।  

बाह्य कला शैली र प्रवृत्तिले कसरी कुन बखत नेपाली कलालाई प्रभाव पा¥यो, नेपाली कला कस्तो रूपमा कुन कुन समयमा विकास भयो– आदि बारे अध्ययन अनुसन्धान हुनुपर्छ । यसो भयो भने कलाका विद्यार्थीलाई राम्रो शिक्षा दिने पाठ्यक्रम तयार हुन्छ । नत्र आशातीत प्रतिफल प्राप्त हुन सक्दैन । नेपाली कलाको मूल मर्म अध्ययनरत कलाकारमा सम्प्रेषित हुन नसकेपछि उनीहरूबाट भएको सिर्जनामा कसरी नेपालपनको आस गर्न सकिन्छ ? नेपाली कलाको मूल मर्म अनुरूपका आवश्यक पाठ्यपुस्तकको अभाव हुनु, यसमाथि छलफल र बहस नहुनुले आज नेपाली कलाको गुणात्मक स्कुलिङ धरापमा परेको आभास हुन्छ । परम्परागत वा लोककलालाई सामान्य हिसाबले कपीवर्क मात्र गराउँदा हाम्रो परम्परागत कलाको मर्म मर्दै जाने हुन सक्छ ।  

आज पनि परम्परात कला एक अर्कै शैलीमा र आजका समसामियक कला अर्कै धारमा विकसित भएको देखिन्छ । बाहिर कैयौँ ठाउँमा व्यक्तिका कलाको स्कुलिङ पनि हुने गर्छ । यसलाई कलाकारले पछ्याउँदा एउटा अलग्ग कलाको स्कुलिङ स्थापित भएको पनि देखिन्छ ।  

अहिले हामीकहाँ मूलतः दुइटा मूलधारका कला स्कुल छन् । एउटा काठमाडौं युनिभर्सिटी अन्तर्गत ललितकला संकाय, अर्को टियु अन्तर्गतको ललित कला क्याम्पस । मूलतः नेपालमा बाहिरबाट अध्ययन गरेर आएका कलाकारबाटै यी दुवै कलाका स्कुल निर्देशित भएर अगाडि बढेका छन् । भारतको कलकत्ता, मुम्बई, लखनउ, बनारस र दिल्लीबाट अनि पाकिस्तान, बंगलादेशबाट कलाकार दीक्षित भएर आएका छन् । ती कलाका ती सबैजसो कलाका निकायको आ–आफ्नै स्पष्ट पहिचान देख्न सकिन्छ । यही कुरा नेपालमा किन हुन सकेन । आजको सोचनीय विषय हो ।  

आजको कलाका स्कुल (क्याम्पस र कलेजमा समेत) पश्चिमी कलाको दर्शन, प्रविधि सिर्जन प्रक्रिया, माध्यम आदिमा आधारित भएको हुँदा नेपाली कलालाई पाश्र्व भागमा जोड्न खोजेको देखिन्छ । परम्परागत कला वा लोककलाको दर्शन र महत्वभन्दा सिर्जना–प्रक्रियालाई बढी मात्रामा समावेश गरिएका पाठ्यक्रम छन्, यो पढ्ने कलाकारका कलामा यथेष्ट मात्रामा नेपालीपन देखिँदैन । यसर्थ ललितकलाको पाठ्यक्रममा नेपाली कला (परम्परागत र लोककला)का मूलभूत विशेषतालाई आधुनिक कलासँग तालमेल मिलाएर राख्न आवश्यक छ ।        

हामीकहाँ मानविकी संकाय अन्तर्गत लतिलकला विषयलाई समावेश गरिएको छ । यसैले नेपाल ललितकला क्याम्पसमा मूर्ति, चित्र, प्रिन्ट मेकिङ एवं संगीतदेखि गायन लगायत अंग्रेजी, नेपाली पनि अध्ययन गर्नुपर्ने हुन्छ । कति मूल विषय र कति ऐच्छिक विषय हुन् । औपचारिक कलाको स्कुलमा यस्तो बाध्यता रहेकाले अनौपचारिक कलाका स्कुल यथेष्ट मात्रामा खुलेका छन् । अनौपचारिक शिक्षाको चरित्र समय, ठाउँ, कोर्सको पाठ्यभार पनि आवश्यक अनुसार परिवर्तन गर्न सकिने हुँदा यस्ता कलाका स्कुल बढी खुल्ने गरेको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।  

(लेखक कलाकार र कला समीक्षक हुन् ।) 

प्रकाशित: २८ चैत्र २०७७ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App