कला

सत्ता र शक्तिको आडमा जेजे गरे पनि हुने

कविता

लोकतन्त्र ल्याउने भन्दै सोझा जनता बुरुकबुरुक उफ्रदै,

राम्रा भनी कपुत पात्रहरूलाई सम्पूर्ण अधिकार सुम्पदै।

 

राष्ट्र जोगाउने देश बचाउने नारा व्यापक लगाउने,

भेडा बनाई नेपाली जनतालाई  उल्लु बनाउने ।

 

जनतालाई यो गर्छु त्यो गर्छु भनी लोभ देखाउने,

चुनाव जितेर कुर्सीमा बसेपछि ती सबै कुरा बिर्सने  ।

 

भाषणमा मात्रै स्विजरल्यान्ड बनाउँछौ देशलाई,

भनेको काम जनताले खोज्दा देखाउँछौ अर्को पटकलाई।

 

लोभ देखाउँछौ घरघरमा ग्याँस पाइप ल्याउने भनेर,

त्यो दिन कहिले आउँछ भनी गरीब हेर्छन् आंैला गनेर।

 

रोजगार यहीँ दिनेछौ भनी जनतासँग बकबक गर्दछौ,

विकास केही गर्नुभन्दा छिमेकी देशको आस गर्दछौ।

 

सत्तामा लडाइँ नेताको जुधाइ जनता पेलाइ छ,

दुई तिहाई जिती गएका नेता बिचमा चुनावै गर्नु छ ।

 

यो तन्त्र त्यो तन्त्र ल्याउने भन्दै दुनियाँको काख रित्यायौ,

कत्तिलाई टुहुरा अनि कति दिदीबहिनीलाई विधवा बनायौ।

 

आज के पाए घरमा बा आइपुग्नुहुन्छ भनी बाटो हेरेकाहरूले,

अनि कति सुविधा पाएका छन् सिन्दूर पुछिएका चेलीहरूले।

 

सत्ता र शक्तिको आडमा जेजे गरे पनि हुने,

 शक्ति नहुने निमुखाहरूले केही बोल्न पनि नहुने।

 

सत्ता र शक्तिको आडमा देशलाई हरिकंगाल बनाउनेहरू,

यो कस्तो गणतन्त्र हो आफू मात्रै पेट भर्न खोज्ने दलालहरू ।

प्रकाशित: १९ चैत्र २०७७ ०५:०९ बिहीबार

अक्षर