कला

ह्याप्पी होली

बालकथा

दिलमायाको आमाबाबु जोगिन्दर साहुको घरमा भाडामा बस्दथे । जोगिन्दर साहुको एक श्रीमती र दिलमायाको उमेर सरहको एउटा छोरो थियो राजिव । उनीहरू निकै असल थिए । उनीहरूले दिलमाया र उनका आमाबाबुलाई राम्रो व्यवहार गर्दथे । जोगिन्दर साहु र उनको श्रीमती दुवै फूलहरूको सौखिन थिए । उनीहरूले घर अगाडि निकै ठूलो फूलबारी बनाएका थिए । छत ,बरण्डा जताततै गमलामा फूलहरू थिए । विभिन्न जात र रङका फूलहरूले निकै सुन्दर देखिन्थ्यो उनीहरूको फूलबारी । ती फूलहरू ह्ेर्दै दिलमाया पनि निकै रमाउँथिन् ।

होलीको समय नजिक आइसकेको थियो । राजिवलाई उसका आमाबाबुले  ह्याप्पी  होली लेखेको टिर्सट, पिचकारी , बेलुन , रङहरू किनिदिनुभएको थियो । राजिवको होलीको सामान देखेर दिलमायाले आफूलाई पनि त्यस्तै सामान किनिदिन आमाबाबुलाई आग्रह गरिन् । तर, उनका आमाबाबुले उनको होलीको सामान किन्ने रहर पूरा गर्न नसक्दा निकै दुखित थिए । राजिवको जस्तै होलीको सामान नहुँदा दिलमाया आमाबाबुसित निकै रिसाएकी थिइन् ।  

होलीको दिन बिहानै राजिव ह्याप्पी होली लेखेको टिर्सट लगाएर आफनो आमाबाबुसित होली खेल्न थाल्यो । उसले हातमा धेरै बेलुन र पिचकारी पनि बाकेको थियो । उसले दिलमायालाई पनि होली खेल्न बोलायो । तर, आफूसित  राजिवको जस्तो टिर्सट र होलीको सामान नभएकै कारण दिलमायाले राजिवसित होली खेल्न  मानिनन् । उनी रुँदै कोठाभित्र बसिरहिन् । दिलमायाको व्यवहारले राजिवलाई निकै नरमाइलो लाग्यो । बाहिर भने राजिवका आमाबाबुसित दिलमायाका आमाबाबु पनि मिलेर होली खेलिरहेका थिए । दिलमाया भने रुँदै कोठाभित्र ठुस्केर बसिरहेकी थिइन् ।

होलीको सामान नहुँदा रिसले कोठाभित्र बसिरहेकी दिलमायाले आमाले जोगिन्दर साहुको फूलबारीबाट अघिल्लो दिन ल्याएका  विभिन्न रङ र जातका  एक ढकी फूल टेबलमाथि देखिन् । ती फूलहरू बतासले अघिल्लो दिन झारेपछि उनको आमाले फूलबारीबाट ल्याएर कोठामा राख्नुभएको थियो । दिलमायाको दिमागमा एउटा विचार आयो ।उनले ढकीबाट विभिन्न रङ र जातका फूलहरूका पत्रहरू एकएक गरेर निकाल्दै ऐनामा हेरेर आफ्नो अनुहारमा जताततै टाँसिन् । कपालभरि पनि विभिन्न रङका फूलहरूले सजाइन् । एकक्षणमै उनको अनुहार  र कपाल होलीमा दलेको रङजस्तै रंगीचंगी भयो । एकक्षण अघिसम्म रिसले भरिएको दिलमायाको अनुहारमा फूलहरूका रङ्गले खुसी भरियो । उनले मुस्कुराउँदै ऐनामा हेरिन् । उनी पनि हाँस्दै बाहिर होली खेल्न निस्किइन् ।

दिलमायाको कपाल र अनुहारभरि विभिन्न रङका फूलहरू टाँसिएको देख्दा उनीहरू सुरुमा त खुब हाँसे दिलमायालाई देखेर । तर, आफूसित होली खेल्ने रङ नभएर दुखित भएकी दिलमायाले फूलहरुको प्रयोगबाट रङ बनाएर होली खेल्न आँटेको दिलमायाको होलीको नौलो तरिका देखेर जोगिन्दर साहु दिलमायासित निकै खुसी हुनुभयो ।  

आफूसित होलीको सामान नभएर निराश बनेकी दिलमायाले फूलहरूको प्रयोग गरेर होलीको रङ बनाउने प्राकृतिक तरिका ल्याइन् है मलाई चाहिँ दिलमायाको तरिका खुब मन पर्यो । सबैले यस्तै प्राकृतिक उपाय अपनाउने हो भने त होलीमा रङ किन्ने पैसा नि बचत हुने थियो भन्दै जोगिन्दरले दिलमायाको प्रशंसा गरे । होली भनेको त मिलेर पो खेल्ने हो त आऊ दिलमाया होली खेल्न भन्दै जोगिन्दरले दिलमायालाई पिचकारी र बेलुन दिए । दिलमाया पनि रमाउँदै होलीमा सहभागी भइन् । बल्ल दिलमाया खुसी भएर होलीमा सहभागी भइन् । अब पो ह्याप्पी होली भयो त भन्दै राजिवले एक जग पानी सबैलाई पर्ने गरी छ्याप्यो । सबैले खुसी हुँदै एकैसाथ भने  ह्याप्पी होली ।

प्रकाशित: १८ चैत्र २०७७ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App