हिजोआज उनी आफ्नो संसारमा हराउन थालेकी थिइन् । न त कसैसंग बोलचाल न त व्यवहार । सधैंझैं आज पनि दिनभरि अफिसको काम सकेर घर पुगिन् । मोबाइल साथी थियो । सामाजिक सञ्जालमा हराइन् । गीत , साहित्य , समाचार र चलचित्र उनका साथी थिए।
उनका श्रीमान् कुन बेला घर आए उनलाई पत्तै भएन । एकैपटक उनी कराए, ‘ मोबाइलले पेट भर्छ कि कसो ?’
झसङ्ग भइन् । रातिको ८ बजेको थियो । भान्साको सुरसार थिएन । फेरि साहित्यको प्रत्यक्ष प्रसारण कार्यक्रममा जोडिनु थियो । निस्फिक्रीसंग भनिन् , ‘आज खाना पकाऊ है । म दुई घण्टा भ्याउँदिन । फेरि छोरो भोकै सुत्ला नि !’
‘घरव्यवहार बिताएर खुबै ठूलो जिम्मेवारी पो बोकिस् त ?’
लोग्नेको जवाफ सुनेर ऊ आवेशमा आई, ‘हैन के ठानेका छौ हँ आफूलाई ? एकछाक पकाउँदा मर्छौ र ? हातखुट्टा तिम्रा नि सद्धे नै छन् के रे ! बाहिर त सामाजिक समानताको भाषण गरी हिँडछौँ त ’ भन्दै अर्को कोठामा पसेर ढोका थुनी।
ऊ पनि छोरा लिएर नै बाहिर निस्कियो । जस्तालाई त्यस्तै भन्दै बाहिरै खाएर आए । पछि जब कुरा खुल्यो अनि कोलाहल जन्मियो, रातैभरि स्वतन्त्रता र समानताको भीषण वाक्युद्ध चल्यो।
भोलिपल्ट बिहान शान्त मुद्रामा श्रीमानले सोधे, ‘उहिलेउहिले लोग्नेका लागि भनेर भोकभोकै व्रत बस्ने, खुट्टाको पानी खाने मेरी श्रीमतीलाई हिजोआज केको फुर्ति चढेको हो ?’
बडो शान दिँदै उनले भनिन् , ‘त्यो बेला म जागिरे थिइनँ , आर्थिक परनिर्भरतामा तिम्रो दासी बनेकी थिएँ नि !’
प्रकाशित: १६ चैत्र २०७७ ०५:५५ सोमबार