आजकलका बुहारी कति अल्छी भएका हुन् । छोरो जन्मन पाएको छैन स्कुल लान हतार । सासू नर्मदा आँगनको डिलबाट कराइन् । हाम्रा पालामा त वल्लो कान पल्लो हातले न छोएसम्म भर्ना लिँदैनथे । झन् त्यै बेलाका व्यक्ति महान भएर निस्के । राष्ट्रकवि ,शिरोमणि कान छुने बेलाका विद्यार्थी त हुन् । खै आजकलकाले त्यसरी लेख्न सकुन् । बालकको संवेगात्मक र शारीरिक विकास नभएसम्म स्कुल लान हुँदैन भन्छन् । अहिले त डेढ वर्ष दुई वर्षमा नै भर्ना गर्न हतार हुन्छ । अहिलेका आमालाई फुर्सद छैन रे । हाम्रा पालामा तीन बजेदेखि उठेर कति काम गरियो । अहिलेका फेसबुक हेरेर भात पकाउँछन् । तै फुर्सद नहुने । अरू केही काम गर्ने होइनन् ।
सासूका कर्कश आवाजले विह्वल भएर होला बुहारी सुन्तली बोलिन् – आमा समय अनुसार चल्नुपर्छ ।सबैले सानै उमेरमा भर्ना गरेका छन् । जानु होस्त स्कूलमा ।
– हेर बुहारी सानै उमेरमा छोराछोरी भर्ना गर्दा पछि गएर बच्चामा नकारात्मक भावना पर्न सक्छ । उनीहरूलाई जति सिकाए पनि सिक्दैनन् । एकोहोरी रहन्छन् । घमण्डी भएर निस्कन्छन् । न शारीरिक विकास हुन्छ । पहिले सिक्ने पाठशाला भनेको परिवार हो । उनीहरूले परिवारबाट धेरै कुरा सिक्ने बेलामा सिक्ने अवसर नपाउँदै स्कुल लगेपछि ती बच्चा कस्ता होलान् । याद गरेकी छौ।
–आमा हेर्नू त छोराले जति गर्दा पनि सिक्न सकेन । धेरै समय भैसक्यो । दुई कक्षाबाट उक्लेको छैन । पढ्नै मन गर्दैन । एकोहोरिरहन्छ ।
–तिमी याद गर त बुहारी । सानो गाग्रीमा धेरै पानी राख्न खोज्दा के हुन्छ ।
प्रकाशित: १४ चैत्र २०७७ १०:२८ शनिबार