कला

पवित्र सम्बन्ध

कथा

शर्मिला खड्का दाहाल 

 

जीवनको यो मोडमा आएर पनि म एउटा कथाका यी हरफहरू बारम्बार दोहोरयाई–तेहरयाई प्रायः पढ्ने गर्दछु ।  

एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधैँ अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका कथाहरूलाई जहिले पनि गैरकानुनी आँखाले हेर्थे अनि क्षणिक आवेगात्मक तिर्सना र मुख्र्याइको संज्ञा दिन्थे । यस्ता कथाहरू प्रचलित सामाजिक संस्कारप्रति पनि कडा अव्यावहारिक प्रहार हो भन्ने ठान्दथेँ । तर होइन रहेछ , प्रेमको परिभाषा असीमित र अपरिमित रहेछ । प्रेम जहाँ पनि जसरी पनि फुल्न सक्दो रहेछ । तर त्यो पवित्र हुनुपर्दछ भन्ने कुरालाई अहिले म मान्यता दिन थालेकी छु। 

तिमीले दिएको प्रेम मेरा लागि एउटा शाश्वत र स्वीकार्य थियो । तिमीले सत्यको पक्ष लिएका थियौ । संसार सारा मेरो विरुद्ध एक हुँदा तिमीले मेरो साथ दियौ । मेरा लागि बौद्धिक वकालत गरयौ । तिमीले सत्यलाई विजयी बनायौ अनि मलाई विजयी बनायौ । हो, यसरी बीजारोपण गरयौ तिमीले हाम्रो मायालाई । त्यो मायामा आदर्शता अनि सत्यको आकर्षण थियो । त्यसमा न त क्षणिक आनन्द थियो न त यौनतृप्तिको चाहना । त्यो नदेखिएको अनि नछोइएको माया अति पवित्र थियो । यदि त्यो छोइएको र देखिएको भए अपवित्र र दूषित हुन सक्दथ्यो । त्यो माया सिपीभित्रको मोतीझैं पवित्र र शुद्ध थियो । त्यहाँ न कुनै दाग थियो न कुनै क्लेश ।

मायामा नै सृष्टि हाँस्छ अनि सिर्जना फुल्छ । हो, तिम्रो मायाले मलाई परिभाषित जीवन बाँच्न लालायित बनायो । मायाको त्यो राप यति रापिलो थियो, त्यसमा धेरै ईष्र्याडाहहरू जलेर खरानी हुन सक्थे । त्यसैले त्यो राप म सधैं तापिरहन चाहन्थेँ । तर भौतिकवादी जीवनले आर्दशवादी जीवनलाई बाँच्न दिँदैन । त्यसैले व्यवहारले तिम्रो र मेरो मायाबीच धेरै तगारो हाल्न आइदिन्छ तर म त्यसलाई अग्निपरीक्षाको अर्को रूप मान्न पुग्दछु । यसै अग्निपरीक्षामा तिम्रो मायालाई सुरक्षित राख्न धेरै कोसिस गर्दछु । किनभने जीवनको मोडमा धेरै घटनाहरू घट्दछन् । तर, सबैभन्दा महत्वपूर्ण घटना तिम्रो र मेरो मायाको बीजारोपण भएको पवित्र घटना हो । म यसैमा बाँच्न चाहन्छु । यसैमा हराउन चाहन्छु अनि यसैमा आफूलाई भुल्न चाहन्छु । किनभने मैले कहिल्यै मायाको त्यो राप पाइनँ जुन मायामा उमङ्ग हुन्छ, उत्साह हुन्छ अनि जीवनप्रति सचेत भएर अघि बढ्ने सपनाहरू हुन्छन् ।

म देख्छु तिम्रा आँखाहरूमा मेरा सफलताका लागि अभीष्ट तैरिरहेको अनि म त्यसलाई पढेर बुझन खोज्दछु । मेरो अँध्यारो मुखसँग तिम्रा भावहरू कुण्ठित हुन पुग्दछ्न् । अनि तिम्रा दुखित भावहरूसँगै थाहा नै नपाई म पीडित भइरहेको हुन्छ । सबै कुरा चाहेर हुँदैन अनि सबै नचाहेका नहुन पनि सक्दैनन् । त्यसैले यसलाई नै प्रेमको अर्को रूप मान्न सकिन्छ । म तिमीदेखि भागेर टाढा जान खोज्दछु । तर, समय र परिस्थितिले हाम्रो प्रेमलाई यति नजिक बनायो कि त्यो कहिल्यै टाढिन नै सक्दैन । सायद उचित मलजल र उचित वातावरणले यसलाई मौलाउँदै लग्यो । त्यो झाँगिगएर एउटा विशाल वृक्ष बन्न पुग्यो । जसको छहारीमा हामी सुस्ताउन थाल्यौँ ।

केही समय अगाडिदेखि एउटा सानो आत्मीयताको डोरीबाट शुरू भएको हाम्रो प्रेमले एउटा दह्रो झोलुङ्गे पुल बनाइसकेको छ । जहाँबाट हाम्रा अव्यक्त भावहरू ओहोरदोहोर गर्दछन् अनि अप्रत्यक्ष रूपमा प्रतिक्रियाहरू व्यक्त हुन पुग्दछन् । एउटा दह्रो प्रेमका लागि सुन्दर आत्मा हुनपर्दछ अनि स्वच्छ विचार पनि । जसमा प्रेमका सुन्दर फूलहरू मुस्कुराउँदै फुल्न सक्दछ । कहिलेकाहीँ नचाहँदानचाहँदै पनि हामी हाम्रो प्रेममा तीखा काँडा उमार्न पुग्दछौ । त्यसको घोचाइबाट म पीडित हुन पुग्दछु । तर त्यस दुखद अनुभूतिलाई म हाँसी–हाँसी स्वीकारिरहेको हुन्छु । सायद तिमी पनि मर्माहत बन्न पुग्छौ होला । अनि यसको समाधानका लागि हामी सोच्न बाध्य हुन पुग्दछौँ । प्रेममा मुटु दुख्नु स्वभाविक हो । जसमा मिठास हुन्छ स्वर्गीय आनन्द हुन्छ । जसले प्रेमलाई माभ्दछ अनि नौनी ख¥याएझैँ ख¥याउँदछ । माझिएर, खारिएर निस्केको प्रेम विशुद्ध हुन्छ । त्यो आत्मीय प्रेम स्वीकार्य पनि हुन्छ । तिमी मजतिको भावुक नहुन पनि सक्छौ । तिमीले जीवनको सबैभन्दा ठूलो मान्यता व्यवहारलाई दिएका छौ । तर म व्यवहारसँग सिद्धान्त खोजिरहेछु । म जीवनलाई कलात्मक रूपमा आदर्शताले सजाउन चाहन्छु । त्यो तिमीमा नहुन पनि सक्छ । 

कहिलेकाहीँ अचेतन मन उड्न खोज्दछ, स्वतन्त्र भई अनि बहकिन थाल्दछ प्रेमको वासनासँगै । तर यो असान्दर्भिक हुन पुग्दछ हाम्रो जीवनका लागि । त्यसैले त म यसलाई बाध्न चाहन्छु र लगाम दिन चाहन्छु । यो आवश्यक पनि छ किनभने लगामविनाको घोडाले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन । अनि नबाँधिएको हाम्रो माया पोखियो भने धेरै कुरो बगाउन सक्दछ । त्यसैले समाज व्यवहारबाट अछुत राखेर म हाम्रो माया बाँध्न चाहन्छु ।

मसँग प्रेमको भण्डार छ । किनभने म जीवनलाई पीडादायी बनाएर बाँच्न चाहन्नँ । मैले निस्वार्थ प्रेम खर्च गरिसकेकी छु । तर तिमीप्रतिको मेरो प्रेममा अकै लगाव छ, अर्कै आकर्षण छ । प्रेमको अन्तिम रूप मिलनलाई म मान्दिनँ । अमर प्रेम जहिले पनि मिलनमा बिलाउँदछ । हाम्रो प्रेम नवयौवनाहरूले क्षणिक आनन्दमा रमाउने प्रेम होइन । हाम्रो प्रेम शाश्वत हो, सत्य हो अनि अमर हो । जुन प्रेम सूर्यको किरणसँगै, फूलको वासनासँगै , क्षितिजको उषासँगै हाँसिरहन्छ अनि बाँचिरहन्छ ।

यस्तै अभिव्यक्ति पोखिएको थियो उनको कथामा । उनको कथा प्रकाशित हुँदा निकै हलचल भयो रे । अन्त्यमा यही कथाको कतिपय अंशले उनको श्रीमान्सँग पारपाचुके भएको कुरा हल्ला मार्फत मेरो कानमा परेको थियो । यो कथा प्रकाशित भएपछि उनका श्रीमान्लाई अफिस सकिएपछिको खाजासँगै उसका साथीहरूले कथाको प्रसङ्ग उठाई भाउजूको मनको मन्दिरमा अरू कोही छ, जस्तो छ विष्णुजी, साहित्यकारहरूको विश्वास हुँदैन भनेर शङ्काउपशङ्काका बीउ मस्तिष्कमा छरिदिएका थिए रे  अनि त्यही बीउ झाँगिएर वृक्ष बनेर ढल्यो रे  उनको भाग्यमा मैले यस्तै हल्ला सुनेको थिए ।

एकदिन हामी सबै साहित्यिक भेलामा रमाउन पुगेका थियौँ । त्यो दिन घर जान ढिलो भएको थियो । उनका श्रीमान् धेरैसमयसम्म ताला लगाएको ढोका रुगेर बसे रे । यसै निहुँमा गूढ कुरा अर्कै पोखियो रे उसमाथि । झगडाको बीउ चर्कदै गयो । उनले भनिन् रे कथाकारले जे पनि लेख्न सक्छ । त्यो वास्तविक नै हुन्छ भन्ने छैन । कतिपय काल्पनिकतामा फूलबुट्टां पारेर लेखिन्छ । सबै कथा आफ्नै परिवेशमा मात्र हुँदैन । तर जति नै सत्य ओकले पनि उनका श्रीमान् मान्न तयार भएनन् रे  । उनी आफनो स्वतन्त्र लेखकीयतामा अरूको हस्तक्षेप मन नपराउने स्वभिमानी महिला थिइन् । त्यसैले उनीहरूको सहचर्या धेरै दिनसम्म टिक्न सकेन । अनि एकदिन पारपाचुकेमा गएर टुङ्गियो उनीहरूको कलह ।

साहित्यिक गतिविधिमा भाग लिने क्रममा धेरै समय हामीसँगै हुने गथ्र्यौ ।

मलाई थाहा थिएन उनको कथामा कतिको यथार्थ थियो वा थिएन भनेर । तर कतिपय ठाउँमा सत्यको पक्ष लिने क्रममा म उनलाई साथ दिने गर्दथे । यो क्षेत्रमा ईष्र्या, डाह र खुट्टा तान्ने प्रवृति भएको हुनाले म सधैँ उनको निश्चल र शुद्ध व्यवहारको पक्ष लिने गर्दथे । जीवनलाई सिर्जनात्मक र कलात्मक बनाएर सजाउने क्रममा विभिन्न व्यक्तिहरूसँग सम्पर्कमा रहनुपर्ने हुन्छ । त्यसक्रममा कोही पनि कसैको व्यक्तित्वसँग प्रभावित हुन सक्दछ अनि त्यसको सुगन्ध सिर्जनामा फैलिएको पनि हुन सक्दछ । तर यहाँको समाजको सङ्कीर्णताले त्यस सुगन्धलाई दुर्गन्धित बनाई फैलाउने प्रयास गर्दछ । त्यसमा अद्वितीय प्रतिभाहरू मुनामा नै ओइलाउन सक्दछन् ।

हाम्रो समाजले त्यति धेरै पाचनशक्ति पैदा गरिसकेको छैन जसले एउटा विवाहिता महिलाले कसैमाथि प्रेम गरेको कुरालाई सजिलै पचाउन सकोस् । यहाँ पुरुषहरूले जे पनि गर्न सक्छन् अनि जे पनि लेख्न छुट छ । उसले खुुला रूपमा कसैलाई प्रेमको उजगार गर्न सक्छ अनि दुइटी र तीनवटीको पतिपरमेश्वर बनेर मर्दको उपाधि जित्न सक्छ । तर एउटी महिलाले स्वतन्त्र रूपले लेखेर काल्पनिकतालाई अँगालो मार्न पनि सक्दिन । उनको श्रीमान्ले मसँगको उसको सम्बन्धलाई शङ्कास्पद रूपमा हेरेको कुरा चर्चा मार्फत मैले पनि सुनेको  थिएँ ।

मैले पनि मेरो एउटा कथामा उनको कथामा पोखिएको भावजस्तै पोखेको थिएँ  । तर म पुरुष थिएँ । त्यसैले कसैले मेरो प्रतिकार गर्न सक्दैनथ्यो । तर उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने क्रममा ठूलो सजायको भागीदार हुनुप¥यो । यो समाजको दोष थियो अनि उनको श्रीमान्को प्रवृत्ति र विचारको यसमा मैले गर्न सक्ने हुर्मत केही थिएन । सबैले आआफ्नो भागको पीडा आफैले बोक्नुपर्दछ । त्यो अरूले बोकिदिएर हुन्न रहेछ । हुने भए म उनको सम्पूर्ण पीडा बोकेर उनलाई सुखै सुख मात्र दिन चाहन्थें । तर यो सम्भव थिएन । त्यसपछि उनको र मेरो सामीप्य टुङगिएको थियो । किनभने शङ्काका बीउहरू असरल्ल छरिएका थिए हाम्रा वरिपरि । त्यसैले यसको निवारण गर्न मैले धेरै कोसिस गरे तर सब व्यर्थ भए । उनको जिन्दगीमा यति ठूलो बज्र पर्न गयो जुन म मूकदर्शक भएर हेरिरहन बाध्य भएँ । आफ्नो प्रिय वस्तु, मुटुको टुक्राले एक्लोपनमा दुखी जिन्दगी काट्नु पर्दा मलाई पनि मुटु नदुखेको होइन । यसै दुखाइले एकदिन मलाई उनी भए ठाउँमा पुरयायो । मैले विकल्पको खोजी गर्दै प्रश्नको मियो तेर्साएको थिएँ । उनको अगाडि –तपाईको जीवनप्रति मलाई सहानुभूति छ । यो सबको कारक म नै हु कि ?

उनले मेरो प्रश्नको मियोमा विचारहरू पोख्तै भनिन् –मेरा सिद्धान्तहरू बन्धक छन् । त्यसैले मैले  आफूलाई  स्वतन्त्र राख्न चाहेको हो।

यसमा तपाईँको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाईँ र मेरो पवित्र सम्बन्धलाई नकारात्मक रूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई सम्झौता गर्ने क्रममा मैले यो निर्णय लिनुपरयो । हाम्रो पवित्र सम्बन्धलाई नै मैले जीवनको मूल उद्देश्य लिएर बाँच्ने प्रण गरेकी छु।

उनले हाम्रो सम्बन्धप्रति नै उत्सर्ग जाहेर गरेकी थिइन् । मलाई धेरै वर्षसम्म उनका लागि केही गर्न सकिनँ भनेर पश्चाताप भइरह्यो । समयको वहावसँग उनको मेरो सम्बन्ध टाढिँदै गयो । अतीतको कुहिरोले हाम्रो सम्बन्धलाई धमिलो बनाउँदै लग्यो। 

प्रकाशित: १४ चैत्र २०७७ ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App