कला

जो थियो दिलमा उसैले मुटु घोच्न थालेपछि

मुक्तक

                         १) 

जिन्दगानी  पत्थर  हो या फूल बुझ्न् सकिन,

पटकपटक परेको  छु  रनभुल बुझ्न सकिन ।

तीखो वचनले मुटु चस्चस्ती घोच्न थालेपछि,

आँखाभरि कति  फुट्छ  मूल  बुझ्न सकिन।

                       २) 

बाढी – पहिरोले खाँदै गयो जिन्दगीका पाटाहरू,

हिँड्नुपर्छ  सम्हालेर अप्ठ्यारा  छन् बाटाहरू ।

जो  थियो  दिलमा उसैले  मुटु घोच्न थालेपछि,

उप्किएर दुख्न थाल्यो पुरानो घाउका खाटाहरू ।

                            ३)

 यता  डाली  पलाउँदा  उता फूल झर्दै थियो,

भाग्यविधाता जो आफैं रनभुल पर्दै थियोे ।

मनमा व्यथा बल्झिएर मुटु दुख्न थालेपछि,

सट्टामा आँसु बेचेर पीडा असुल गर्दै थियो।

                             ४)

 भँवरालाई जिस्काउने आखिर बैसालु फूल देखियो,  

बाजको सिकारमा निक्लेको परेवाको हुल देखियो ।

धर्तीको खुला ठाउँ आकाशको खुला छानोभित्र,

कतै लाजको आग्लो कतै सरमको चुकुल देखियो। 

                               ५)

 व्यवहारको डाम नलागेको मान्छेको थाप्लो हुँदैन,  

दुख अनि पीडालाई बाँधी राख्ने कुनै दाम्लो हुँदैन ।

खुला आकाश भएपछि धर्ती झन् खुला हुने भो,  

त्यसैले त सरमको चुकुल र लाजको आग्लो हुँदैन।

प्रकाशित: ९ चैत्र २०७७ ०६:१९ सोमबार

अक्षर