कला

नाम्लोको बयान

कविता

सानो नाम्लोमा  

बेरिएको छ डोरीको रंग

अनगिन्ती छन् रहरहरू

डोरीको पोयामा अल्झिएका

जुन बटारिएर बसेको छ  

मनको अन्तर कुनामा

पीडा बोकेर ।

 

एक दिन नाम्लोले काजिमानलाई भन्यो–

‘मालिक सिँढीले मानिसलाई माथि पुरयाउँछ  

मैले तपाईंलाई माथि पुरयाउन सकिन !’

म सधैं तपाईंको मालिक भए

तपाईंको तालु कुच्याए

तर पनि तपाईंले मलाई सिरानीमा राख्नुभयो ।

 

लाखको सोफा बोक्नुभयो

दुई लाखको टिभी

उता बासिङ मेसिन पनि गयो  

तपाईंकै बुइ चढेर

कति भित्ता चम्कायो टिभीले

कति लुगा धोयो वासिङ मेसिनले  

तर, मालिक तपाईंको लुगा र मन उस्तै छ ।

 

कपडाको चाङ

धाराको पानी  

पसलको खाद्यान्न

सबै बोक्छ यो नाम्लोले

तर पनि काजिमान नाङ्गै छ

र निराहार पनि ।

 

यो यही नाम्लो हो

दुई लाखको टिभी बोक्ने

त्यस्तै मूल्य पर्दो हो  

वासिङ मेसिनको पनि

भारी बिसाएर सोच्छ काजिमान

कति चम्किन्छ भित्ताको टिभी

सारा लुगा सफा बनाउछ वासिङ मेसिन

तर, मेरो मन र लुगा उस्तै छ  

टिभी र फ्रिजको बाहिरी पत्रजस्तै  

 

सबैलाई लुगा दिने  

पानी पिलाउने

र, पेट भराउने  

यो नाम्लो मलाई किन यी काम गर्दैन

काजिमान आफ्नै नाम्लोसँग प्रश्न गर्छ  

तर, नाम्लो आफ्नै मयल र पसिनाले कट्कटिएको हुनाले

उत्तर कुनै दिँदैन  

ऊ पनि काजिमानजस्तै अनुत्तरित छ  

जीवनको रंग र श्रमको सम्मान पर्खेर ।

प्रकाशित: ७ चैत्र २०७७ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App