कला

ग्राउन्ड जिरोबाट म माइकल

कविता

म माइकल जोन

यो ग्राउन्ड जिरोबाट

कोलम्बसलाई साक्षी राख्दै

स्ट्याचु अफ लिवर्टीलाई साक्षी राख्दै

हड्सन नदी र एट्लान्टिक महासागरलाई साक्षी राख्दै

सुनाउन चाहन्छु

भयानक त्रासदीको कथा

सुन पर्यटकहरू !

हजारौं माइल टाढाबाट

सायद ट्विन टावरको भग्नावशेष हेर्न  

आएका हुनुपर्छ तिमीहरू

हाम्रो सहादतको

दर्दनाक कथा

सुन्न आएका हुनुपर्छ तिमीहरू

सुन पर्यटकहरू !

झन्डै पन्ध्र वर्षअघि

सन् दुई हजार एकको

एघार सेप्टेम्बरको त्यो कालो दिनको

अशुभ बिहानीमा  

निर्दोष मजस्ता  

हजारौं मान्छेहरू

यो माटोको सानको खातिर

यो देशको मानको खातिर

एकैपटक  

शहीद भएका छौं

हाम्रा पनि चाहना, आकांक्षाहरू थिए  

हाम्रा पनि सपनाहरू थिए

ती सब हावामा बिलाएर गए

त्यो कालो दिनसँगै

हामी पनि इतिहासमा बिलायौं

हामी ढुंगामा कुँदिएका

फगत इतिहासका पात्रहरू हौं

हामी मार्वलमा कुँदिएका

फगत अक्षरहरू हौं

भन पर्यटकहरू !

हाम्रो के दोष थियो ?

 

म माइकल जोन  

यो ग्राउन्ड जिरोबाट

तिमीहरूलाई साक्षी राख्दै  

सम्पूर्ण विश्वलाई साक्षी राख्दै

अपील गर्दछु

बन्द गर झुठा अहंकार र आडम्बर

बन्द गर दादागिरी

बन्द गर आतंकका  

यी अनगिन्ती श्रृंखलाहरू

अब न्यायको,

स्वतन्त्रता र समानताको,

अहिंसा र शान्तिको,

इतिहास लेखिनुपर्छ ।

न्यूयोर्क, अमेरिका , १५ जुन २०१५ ।

प्रकाशित: २३ फाल्गुन २०७७ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App