कला

गड ल्बेस यु

कथा

बाटाको दायाँबायाँ हिउँको चट्टान उभिएको थियो । बाटोमा पग्लेको हिउँ जमेर ऐनाजस्तै भएको थियो । चिप्लेर लड्ने सम्भावना बलियो थियो । त्यसैले होसियारीसाथ हिँड्नुपथ्र्यो। चिसो थियो वातावरण । चराचुरुङ्गीहरू बाटामा जमेको हिउँमाथि खसेका पाउरोटीका टुक्रा टिपेर खाइरहेका थिए । साइलेन्सर पाइपबाट फुरफुर बाफ निकालेर बाटामा चिप्लिरहेका थिए गाडीहरू । मेट्रो रेलको ढोकाबाट बाहिरिने र भित्रिनेको भिड उत्तिकै बाक्लो थियो । मानिसहरू तातोन्यानो गरेर हिँडिरहेका थिए । महिनाभरि थुप्रिने बिलले चिसोमा निस्कन बाध्य बनाएको थियो उनीहरूलाई । अन्यथा कसलाई रहर हुन्छ र त्यो जाडोमा तातो ओछ्यानमा सिरकभित्र गुट्मुटिएर सुत्न छाडेर नाक र मुखबाट तातो बाफ फाल्दै हिउँको चिसोमा हिँड्ने । बाध्यताले नै त डोरयाएको छ मानिसलाई । कसैलाई गाँसको बाध्यता, कसैलाई बासको बाध्यता त कसैलाई कपासको बाध्यता । गाँस, बास र कपासकै बाध्यताको भुमरीमा गुडुल्किँदा–गुडुल्किँदै बित्छ जिन्दगी । यस्तै बाध्यतै बाध्यताका बीच बाँचेको छ मानिस । एक अर्थमा बाध्यता नै जीवन हो भन्छु म । त्यसैले मानिसलाई सङ्घर्ष गर्न बाध्य बनाएको छ । जीवनको अर्को नाम सङ्घर्ष पनि हो। यस्तै बाध्यतामध्येको गाँसको बाध्यताले जकडेको छ उसलाई ।

ऊ त्यो क्षण म्याकडोनाल्डको ढोकाअगाडि बसेको थियो । लाग्थ्यो, साढे तीन मुरी उमेर पनि ऊसँगै टाँसिएर बसिरहेको थियो । उमेरको उकाली चढ्दै शारीरिक शक्तिको ओराली झर्दै बाँचिरहेको लाग्थ्यो ऊ । मानिसको अन्तिम चाहना आरामसाथ जीवनलीला टुङ्ग्याउनु हुन्छ सायद । उसलाई जीवन बाँच्ने रहरले अझै तानिरहेकै जस्तो लाग्थ्यो । त्यसकै लागि घिचिन्थ्यो ऊ प्रत्येक दिन।

उसले बाक्लो ज्याकेट लगाएको थियो तर त्यसको फस्नर बिग्रेको थियो । भित्रको मैलो टिसर्ट सजिलै देख्न सकिन्थ्यो । त्यस्तै बाक्लो दगुवा पेन्ट लगाएको थियो । ज्याकेट र पेन्टमा कफीको दागैदाग लागेको थियो । ज्याकेटको बाउलाभरि कट्कटिएको सिँगानको दाग त कति हो कति । उसका खुट्टामा जुत्ता पनि थिए । दुवै खुट्टाका बूढी औँलाहरू भने बाहिरको चिसो वातावरण नियालिरहेका थिए ।  

उसका पहेँला जुँघा देख्दा ऊ धूमपान गर्छ भन्ने कुरा सजिलै अड्कल्न सकिन्थ्यो । त्यसै बेला चुरोट तान्दै आएको मानिसले सकिन लागेको चुरोटको ठुटो बाटामा फालेर गयो । उसले तन्केर त्यो पुत्पुताइरहेको चुरोटको ठुटो समातेर दुईतीन सर्का जोडजोडले तान्यो । दुईचार पटक खोक्यो । तर पनि त्यसले उसको धित मार्न सकेन । ज्याकेटको बगलीबाट निभाएर राखेको सिगारको ठुटो झिक्यो । अर्को बगलीबाट ग्याँस लाइटर झिक्यो । थरथर हात कमाउँदै उसले त्यो लाइटर बाल्यो । सिगारको ठुटो लगेर त्यसमा जोत्यो । फुसफुस तानेर धुवाँ उडाउँदै पेटभरि खोक्यो र सन्तुष्टिको लामो सास फेरयो।

उसका नाकबाट झरेका सिँगानका लत्का जुँगा र दारीमा झुन्डिएर आत्महत्या गर्न तयार थिए । बायाँ हात उठाएर स्वाट्ट पुछ्यो । ज्याकेटको बाउलामा बिलाए ती सिँगानका लत्का । पुनः हात उठाएर नाक सफा गरयो । तिघ्रामा लगेर पुछ्यो हात ।त्यो पनि उसको पेन्टमा बिलायो ।  

उसको अगाडि म्याक्डोनाल्डको सानो साइजको रित्तो कफी पिउने कप थियो । त्यसमा दुईचारवटा दस पैसे र पच्चीस पैसे क्वाइनहरू दिए । त्यो कप उठाएर हल्लाउँदै आफ्नो अगाडि आउँदै गरेको मानिसलाई उसले भन्यो–डु यु ह्याभ डलर ?  

उसको आग्रहलाई वास्तै नगरी गयो त्यो मानिस । तर पनि उसले भन्यो–गड ल्बेस यु।

केहीबेरपछि ऊतिर आउँदै गरेको अर्को बटुवालाई त्यसरी नै आग्रह पोख्यो उसले–डु यु ह्याभ चेन्ज?

बटुवाले केही नबोली आफ्नो ब्यागबाट एक डलरको नोट निकालेर उसको कपमा खसाल्यो ।

उसले दायाँ हात उठाएर भन्यो–गड ल्बेस यु ।

उसको अगाडि आउने प्रत्येकलाई उसको प्रश्न हुन्थ्यो – डु यु ह्याभ डलर ? वा डु यु ह्याभ चेन्ज?

अनि दिनेलाई ऊ भन्थ्यो–गड ल्बेस यु  र नदिनेलाई पनि ऊ त्यही वाक्य प्रयोग गथ्र्यो– गड ल्बेस यु ।

यिनै वाक्यहरूका माध्यमबाट उसले आफ्नो गाँस र रसको जोहो गर्ने गरेको थियो।

पहिलापहिला ऊ आफ्नो कफीको कप भर्ने बेग्लै भाषा प्रयोग गथ्र्यो । समयअनुसार उसको भाषा महगिँदै आएको थियो । धेरै पहिलाऊ भन्ने  गर्थ्यो    – डु यु ह्याभ चेन्ज?

कसैले पेनी (एक पैसा) खसाल्थे । कसैले निक्केल (पाँच पैसा) खसाल्थे । कसैले डाइम (दस पैसा) खसाल्थे । कसैले क्वाटर (पच्चीस पैसा) खसाल्थे र कसैकसैले एक डलरको नोट नै पनि खसाल्थे । कुनै बेला त छाकै टर्ने गरी दिने दाता पनि भेट्थ्यो ऊ । तर, त्यस्ता दाता भने सारै कम हुन्थे । जसले जति दिए तापनि भित्री मनले के भन्थ्यो उही जानोस् तर बाहिरी मुखले भन्ने उसको एउटै वाक्य हुन्थ्यो–गड ल्बेस यु ।  

कन्जुस्याइँ कत्ति पनि गर्दैनथ्यो ऊ । न त भेदभाव नै  गर्थ्यो कसैलाई । दिनेलाई होस् वा नदिनेलाई उसले भन्ने वाक्य एउटै हुन्थ्यो–गड ल्बेस यु ।

उपर्युक्त वाक्यहरू उसका मागिखाने मूलमन्त्र बनेका थिए । उसको पोलिसी राम्रो थियो । कसैलाई चिढ्याउन चाहँदैनथ्यो ऊ । आज नदिनेले भोलि दिन सक्थ्यो । त्यसैले दिने नदिने सबैलाई ऊ भन्ने गथ्र्यो–गड ल्बेस यु ।

बजार भाउ बढेसँगै उसको पनि केही समय अगाडिदेखि भाउ बढेको थियो । पहिलापहिलाडु यु ह्याभ चेन्ज भन्थ्यो । बीचमा आएर डु यु ह्याभ क्वाटर भन्न थाल्यो । भाउ निकै वृद्धि भएको महसुस गरयो सायद उसले र पछि आएर भन्न थालेको थियो–डु यु ह्याभ डलर ?

त्यसो त चेन्ज भन्न पनि छाडेको थिएन उसले । कुनैकुनै बेला चेन्ज पनि भन्थ्यो तर सारै कम । धेरैजसो डलर नै भन्थ्यो ऊ । महँगीको जमाना चेन्जले त के नै आउँछ र । त्यसैले चेन्ज भन्न उसले बिस्तारै कम गर्दै लगेको थियो । अलिपछि, “डु यु ह्याभ मनी फर अ कप अफ कफी?” पनि भन्लाऊ । अझ पछिपछि त “डु यु ह्याभ मनी फर लन्च वा डिनर ।”भन्न पनि बेर छैन उसले ।  

जवानीमा उसले केके गरयो त्यो त म भन्न सक्दिन । यति भन्न सक्छु जे गरयो त्यो राम्रो गरेन । राम्रो गरेको भए मैले देखेको जिन्दगी पक्कै पनि बाँच्नुपर्ने थिएन उसले । बस्नका लागि उसको आफ्नै घर हुन सक्थ्यो । खानका लागि उसको पेन्सन हुन सक्थ्यो अथवा सामाजिक सुरक्षाभत्ता हुन सक्थ्यो । उसले त्यसरी म्याक्डोनाल्ड, डङ्किन डुनट, स्टार बक्स वा अवन पेनजस्ता फास्ट फुडको ढोकाअगाडि कफीको रित्तो कप हल्लाएर, “डु यु ह्याभ डलर ?” भन्नुपर्ने थिएन ।

उसले आफूले  आफैँलाई त्यस हालतमा पुरयाएको थियो । अठार वर्ष नपुगुन्जेल बाबुआमाको घरमा राजकुमारजस्तो बनेर बस्यो । जब अठार वर्षको उमेर पूरा गरयो ऊ स्वतन्त्र भयो । कसैको डर भएन । आफ्नो खुसीले हिँड्न थाल्यो । स्कुल त उसले पढेको थियो तर पूरा गर्न सकेन । बिचैमा स्कुल छाडेको थियो उसले । उसको भाषामा स्कुलको ड्रपआउट हो ऊ । कुनै बेला तिनै म्याकडोनाल्ड, डङ्किन डुनट र अवन पेनमा पनि काम गथ्र्यो ऊ । तर, त्यहाँको कमाइमा कर तिर्नुपरेकाले उसले काम छाडेको थियो । काम गरे जति पूरै पैसा पाउने त रेस्टुराहरू नै थिए । त्यतै लाग्यो ऊ । पाउनका लागि केही गुमाउनुपर्छ पक्कै हो । तर, उसले यो कुरा बुझेन वा बुझेर पनि त्यसलाई आत्मसात गर्न सकेन । अलिकति गुमाएको भए आज यो हालत हुँदैनथ्यो । 

ऊ खुसी थियो । जति काम गरेर कमायो उति नै हात पार्थ्यो ।  कर तिर्नु पर्दैनथ्यो । जवान थियो । भविष्यको चिन्ता गर्ने समय भएको थिएन । हप्तामा जति कमाउँथ्यो उति नै मन फुकाएर गुमाउँथ्यो। काम गर्ने ठाउँको खानाका लागि पैसा पर्दैनथ्यो । तर, त्यो खाना मन पर्दैनथ्यो उसलाई । महँगामहँगा ठाउँमा गएर खाना खानुपथ्र्यो उसलाई । जब बगली रित्तिन्थ्यो तब त्यही रेस्टुराको मफतलालमा चित्त बुझाउँथ्यो । बँचाउनुपर्छ भन्ने सोच कत्ति पनि थिएन उसमा । उति बेला जिन्दगी यसरी नै चल्छ भन्ने सोच थियो । यी दिन आउलान् भन्ने कहिले पनि सोचेन उसले । सोचेको भए आज यो हालतमा गुज्रिनुपर्ने थिएन । 

उसलाई त्यही जिन्दगी राम्रो लाग्थ्यो सायद । सुत्न ओछ्यान चाहिन्नथ्यो । जहाँ मन लाग्यो त्यहीँ पल्टिन्थ्यो । मात्र उसलाई तातो चाहिन्थ्यो । बाहिरी तातो होइन । भित्री तातो जुन लिकर स्टोरमा उपलब्ध थिए । खानका लागि भाँडो चाहिन्नथ्यो । कागज नै काफी थियो । त्यो स्यान्विच बेरिएरै आउँथ्यो । त्यस्तै जिन्दगी बाँचिरहेथ्यो ऊ । त्यति हुँदाहुँदै पनि ऊ मनकारी थियो । साथमा पैसा भएको बेला फास्टफुडका काउन्टरअगाडि रहेका टिप्स खसाल्ने भाँडामा डलर खसाल्न पछि पर्दैनथ्यो। चाहे किन भरेको स्यान्डविचका लागि फास्टफुडका ढोकाअगाडि उभिएर, “डु यु ह्याभ डलर ?” भन्नु परोस् ।  

प्रकाशित: २२ माघ २०७७ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App