नाति पुटुपुटु बोल्न थालिसकेको थियो । केही न केही टुनुमुनु खेल्नमा रुचि बढेको थियो । खेल्न थाल्यो भने काखमा बोलाउँदा पनि सुनेको नसुन्यै गथ्र्यो । मलाई भने लिऊँ –लिऊँ लागिरहन्थ्यो।
छिमेकमा उसकै उमेरका केटाकेटी थिए । ऊ तिनीहरूसँग खुब झ्यामिएर खेल्थ्यो । छुट्याएर घर ल्याउनै कठिन हुन्थ्यो ।
एक दिन उसकै उमेरको लालु घरमा आयो । ऊ रमाएर खेल्न थाल्यो । खेल्ने क्रममा लालु लड्यो । मैले तुरुन्त उठाएँ । काखमा लिएँ । धुलो झारिदिएँ । कपाल सुमसुम्याएँ । म्वाइँ खाएँ ।
“बाबुलाई ऐया भयो । अब सन्चो हुन्छ । कति ज्ञानी बाबु हगि ।” मैले भनेँ ।
“अअँ ।” उसले मुखमा हेरेर खिसिक्क हाँस्दै छोटो प्रतिक्रिया दियो र फुलियो ।
मेरो नातिझैँ ऊ बटारिँदै काखबाट झर्न खोजेन । मैले पनि काखमा लिइरहेँ ।
नाति केही सम्झेझैँ अकस्मात् करेसापट्टि कुद्यो ।
“बाबु । ए काँ ग’को ?” मैले भनें।
उसले सुनेको नसुन्यै गरयो ।
लालुकी आमा आइन् र उसलाई लगिन् । नातिलाई उसकी हजुरआमाको जिम्मा लगाई म पनि आफ्नो काममा गएँ ।
साँझ घर फर्केँ । सधैँ त ऊ म आएको चाल पाउँदा साथ उफ्रेर आउँथ्यो । काखमा झुन्डिन्थ्यो । आज त नजिकै परेन । बोलाएँ । आएन । केही खान पनि मानेन । घरमा हल्लीखल्ली हुन थाल्यो ।
–के भो मेरो बाबुलाई ?
–पेट दुख्यो कि ?
–टाउको दुख्यो कि ?
–मीठो खानेकुरा भएन कि ?
–खेल्न पुगेन कि ?
मैले जसोतसो काखमा लिएँ । आफ्नी आमासँग सुत्न पनि मानेन । साथमै लिएँ र सुताउने निदाउने प्रयत्न गरेँ।
भनें–मेरो नाति कति जाती हगि । लल नुनु गर ।
उसले बल्ल मेरो मुखमा बडाबडा आँखाले पुलुक्क हेरयो अनि छातीमा लिपिस्स टाँस्सियो।
भन्यो– किन नि हब्बाले लालेलाई काखमा लेको ?
प्रकाशित: २२ माघ २०७७ ०५:२८ बिहीबार