बादलको सिरक ओढेर
लमतन्न सुतेको धर्ती
मस्त निदाइरहेथ्यो
आकाशको छानोमुनि निमग्न
चराचर जगत सुरम्य थियो
प्राणीहरू निस्फिक्री थिए
म निसन्देह जीवनजगत भोगिरहेथें
लग्थ्यो , मान्छेले स्वर्ग निर्माण गर्दैछ
र, म भोग्न आतुर छु त्यो भूस्वर्ग ।
हिमाल झल्किन्छ मन हरेर
पहाड ढल्किन्छ दिल चोरेर
तराई मस्किन्छ धित मारेर
झरनाको गीत
खोलाको सङ्गीतमा
डाँफेको नृत्य
उता समुद्र ताली बजाउने
मस्त लट्ठिने मान्छे
मान्छेको उन्नति मान्छेले नै सहेन
आयो भुइँचालो
गयो पहिरो
लाग्यो महामारी ।
म अब निरीह छु
इतिहासको कठघरामा ठिङ्ग उभिएर
दुरूह मान्छेको दारुण चित्र हेर्दैछु
सुत्न सक्दिन हिजोजस्तो
सपना देख्दिन पहिलेझैं
कसले हान्यो ढुंगा
त्यो सुन्दर, शान्त र विशाल तलाउमा
जहाँ हिजोको त्यो तेजस्वी मान्छे
आज खिया लागेको फलामझैं छ ।
सोच्दै छु,
के अब घाम लाग्दैन यो धर्तीमा
नहोला बिहान मिरमिरे
सक्यो कोरोनाले सर्वस्व
कठै, मानव सभ्यता
फेरि मेरो अन्तरमन बोल्छ–
हरेक कालो रातलाई चिर्दै
एउटा सुनौलो बिहान आए जसरी
घाम झुल्किनेछ आशाको
समस्या सुल्झाउन
आउनेछन् समाधानहरू
दानवीय महामारी धपाउन
ईश्वर ओर्लिनेछन् धर्तीमा
औषधि बनेर घरघर पुग्नेछ
सफल मानव अन्वेषण
र, मुस्कुराउनेछ ब्रह्माण्ड
अब म आशावादी छु
सम्भावित खुशीको
त्यो क्षण सम्झेर ।
प्रकाशित: २१ माघ २०७७ १०:११ बुधबार