१)
बुद्धि – विवेक उस्तै निम्न भोटो फटाए नि,
आश्वासनको मिठो चटनी सधैं चटाए नि ।
कहाँ मान्छ मैना सुगाले मालिकको कुरा,
विरुद्धमा सुगाले बोल्दैन झूटो रटाए नि।
२)
कति व्यस्त हो आजभोलि हिँड्ने सडक पनि,
बाटो –दोबाटोमा देखाए राजनैतिक चटक पनि ।
समृद्धिको जालमा माछा फस्दै फस्दैन् हजुर,
खाडलमा आफैं पर्ने देखाउदै छौं छनक पनि ।
३)
समृद्धि ल्याउँछौं भन्दै व्यर्थ चर्को नारा लाउने हुन् ,
विकासको नाममा देशको ढुकुटी सारा सकाउने हुन् ।
एकताको नाटक खुब मञ्चन भो देशको रंगमञ्चमा,
जो आए पनि उनै भ्रष्टाचारी ज्यानमारा आउने हुन् ।
४)
चट्टानभन्दा कडा फूलजस्तै नरम पचाएकै हुन,
लगाएर सत्ता भागबन्डा नरमगरम पचाएकै हुन।
किन सडकमा फलाक्छौ देश बनाउने कुरा गर्छौ,
विगतमा त यिनले पनि लाजसरम पचाएकै हुन।
प्रकाशित: ५ माघ २०७७ ०७:१८ सोमबार