१)
आँखा पिरो अनि मन अमिलो भाको छ,
धन्न आँसु छ र बॉच्न सजिलो भाको छ।
कोही त थियो हिजो यो माटो रगतले सिॅच्ने,
र त आज कमरेडको भोज रसिलो भाको छ।
२)
कहीँ कतै खुसीको रङ्ग भेटिन्न आजभोलि,
वचनको धारले नि मुटु रेटिन्न आजभोलि ।
यसरी फैलिरहेछ वितृष्णाको डढेलो यहॉ,
पानीले कसैको प्यास मेटिन्न आजभोलि ।
३)
भोकले घरीघरी पेट कराउॅछ छिटो आऊ है आमा,
निदले छोपेसी तिर्खा नि हराउँछ छिटो आऊ है आमा।
जब दिन ढल्छ र अन्धकार ओर्लन्छ धर्तीमा ,
यो मन असाध्यै डराउॅछ छिटो आऊ है आमा ।
४)
रित्ता थालका अगाडि फूल छर्नेहरू होसियार,
हामीलाई रैती सम्झेर राज गर्नेहरू होसियार ।
तिम्रा हरकतको एकएक हिसाब राखेका छौ सुन,
हाम्रै रगत पसिनाले भकारी भर्नेहरू होसियार ।
५)
उमङ्ग रहेन जिन्दगीसॅग हॉसो रहेन,
हर्ष – खुसी र आरामप्रति चासो रहेन ।
थकित छु पसिना लुट्नेहरूको लर्को देखेर,
र पनि कसैसॅग केही गुनासो रहेन ।
प्रकाशित: ५ माघ २०७७ ०५:०८ सोमबार